रोमी 15:1-9

रोमी 15:1-9 सरल नेपाली

हामी विश्‍वासमा बलियो हुनेहरूले कमजोरहरूको कमजोरीलाई सहनुपर्छ। हामीले आफूखुसी मात्र गर्नुहुँदैन; तर अरूको पनि वास्‍ता गर्नुपर्छ। हामी हरेकले आफ्‍नो छिमेकीको भलाइ र विश्‍वासमा उन्‍नति होस् भनेर उनलाई खुसी पार्नुपर्छ किनभने ख्रीष्‍टले पनि आफूलाई खुसी पार्ने काम गर्नुभएन। त्‍यस्‍तै धर्मशास्‍त्रमा पनि लेखिएको छ, “तपाईंलाई हप्‍काउनेहरूका हप्‍की ममाथि परेका छन्।” धर्मशास्‍त्रमा लेखिएको कुराले हामीलाई शिक्षा दिन्‍छ। हाम्रो आशालाई बढाउन धर्मशास्‍त्रको कुराले हामीलाई सहने शक्ति र उत्‍साह दिन्‍छ। सहने शक्ति र उत्‍साह दिने परमेश्‍वरले नै तिमीहरूलाई येशू ख्रीष्‍टको चालमा चल्‍ने र एकै मनको हुने शक्ति देऊन्। यसरी तिमीहरू सबैबाट एकै मनको भएर एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरको जय-जयकार हुन सकोस्। परमेश्‍वरको सम्‍मान्‌को लागि ख्रीष्‍टले हामीलाई स्‍वागत गरेजस्‍तै तिमीहरूले पनि एक-अर्कालाई स्‍वागत गर किनभने म तिमीलाई भन्‍दछु, परमेश्‍वर सत्‍य हुनुहुन्‍छ र हाम्रा पिता-पुर्खालाई दिनुभएको प्रतिज्ञा पूरा गर्न कहिले पनि चुक्‍नुहुन्‍न। यही कुरो बुझाउन र अन्यजातिका मानिसहरूले पनि परमेश्‍वरको दयाको लागि उहाँलाई प्रशंसा गरून् भनेर ख्रीष्‍टले यहूदीहरूको सेवा गर्नुभयो। धर्मशास्‍त्रमा यसरी लेखिएको छ, “यसैकारण म अन्यजातिको माझमा तपाईंको प्रशंसा गर्नेछु अनि तपाईंकै नाउँको स्‍तुति गाउनेछु।”

रोमी 15 पढ्नुहोस्