रोमी 15:1-9

रोमी 15:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

विश्‍वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्‍छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ। हामी प्रत्‍येकले आफ्‍नो छिमेकीको आत्‍मिक सुधार होस्‌ भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्‍न राखौं। किनकि ख्रीष्‍टले पनि आफैलाई प्रसन्‍न पार्नुभएन। जसो लेखिएको छ, “तपाईंलाई निन्‍दा गर्नेहरूको निन्‍दा ममाथि पर्‍यो।” अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्‍ति लेखिएका थिए, यस उद्देश्‍यले कि पवित्र-शास्‍त्रबाट आउने स्‍थिरता र उत्‍साहद्वारा हामी आशा प्राप्‍त गर्न सकौं। स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्, कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको महिमा तिमीहरू गर्न सक। यसकारण परमेश्‍वरका महिमाको निम्‍ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर। म तिमीहरूलाई भन्‍दछु, हाम्रा पूर्वजहरूलाई दिइएका प्रतिज्ञाहरूको पुष्‍टि गर्नका निम्‍ति परमेश्‍वरको सत्‍यतालाई प्रकट गर्न ख्रीष्‍ट खतना भएकाहरूको दास बन्‍नुभयो, यस हेतुले कि अन्‍यजातिहरूले उहाँका कृपाको निम्‍ति परमेश्‍वरको महिमा गरून्‌। जस्‍तो लेखिएको छ, “यसैकारण अन्‍यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।”

शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्

रोमी 15:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हामी विश्‍वासमा बलियो हुनेहरूले दुर्बलहरूको असफलतालाई सहिदिनुपर्छ र आफूलाई मात्र प्रसन्‍न तुल्याउने हुनुहुन्‍न। हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्‍नतिको निम्ति प्रसन्‍न राख्नुपर्छ। किनकि ख्रीष्‍ट आफैँले पनि आफूलाई प्रसन्‍न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।” किनकि विगतमा जे लेखिए, त्यो हामीलाई शिक्षाका निम्ति लेखिएका थिए, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्‍त गर्न सकौँ। धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूमा भएको मनजस्तै एक-अर्काप्रति एकताको मन देऊन्, ताकि तिमीहरू एउटै मन र एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरको महिमा गर्न सक। जसरी ख्रीष्‍टले तिमीहरूलाई परमेश्‍वरको प्रशंसाका निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर। म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको सत्यताका लागि ख्रीष्‍ट यहूदीहरूको सेवा गर्न आउनुभयो, ताकि हाम्रा पूर्वजहरूलाई दिइएको प्रतिज्ञा निश्‍चित हुन सकोस्। गैरयहूदीहरूले परमेश्‍वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर यसरी लेखिएको छ: “यसकारण म गैरयहूदीहरूको बीचमा तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसा गाउनेछु।”

शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्

रोमी 15:1-9 पवित्र बाइबल (NERV)

हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैंलाई मात्रै खुशी तुल्याउन हुँदैन। तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ। ख्रीष्टले पनि आफू स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।” बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं। धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्। त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ। ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो। यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक-अर्कोलाई स्वीकार गर्नुपर्छ। म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो। ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः “यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यवाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।”

शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्

रोमी 15:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हामी विश्‍वासमा बलियो हुनेहरूले कमजोरहरूको कमजोरीलाई सहनुपर्छ। हामीले आफूखुसी मात्र गर्नुहुँदैन; तर अरूको पनि वास्‍ता गर्नुपर्छ। हामी हरेकले आफ्‍नो छिमेकीको भलाइ र विश्‍वासमा उन्‍नति होस् भनेर उनलाई खुसी पार्नुपर्छ किनभने ख्रीष्‍टले पनि आफूलाई खुसी पार्ने काम गर्नुभएन। त्‍यस्‍तै धर्मशास्‍त्रमा पनि लेखिएको छ, “तपाईंलाई हप्‍काउनेहरूका हप्‍की ममाथि परेका छन्।” धर्मशास्‍त्रमा लेखिएको कुराले हामीलाई शिक्षा दिन्‍छ। हाम्रो आशालाई बढाउन धर्मशास्‍त्रको कुराले हामीलाई सहने शक्ति र उत्‍साह दिन्‍छ। सहने शक्ति र उत्‍साह दिने परमेश्‍वरले नै तिमीहरूलाई येशू ख्रीष्‍टको चालमा चल्‍ने र एकै मनको हुने शक्ति देऊन्। यसरी तिमीहरू सबैबाट एकै मनको भएर एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरको जय-जयकार हुन सकोस्। परमेश्‍वरको सम्‍मान्‌को लागि ख्रीष्‍टले हामीलाई स्‍वागत गरेजस्‍तै तिमीहरूले पनि एक-अर्कालाई स्‍वागत गर किनभने म तिमीलाई भन्‍दछु, परमेश्‍वर सत्‍य हुनुहुन्‍छ र हाम्रा पिता-पुर्खालाई दिनुभएको प्रतिज्ञा पूरा गर्न कहिले पनि चुक्‍नुहुन्‍न। यही कुरो बुझाउन र अन्यजातिका मानिसहरूले पनि परमेश्‍वरको दयाको लागि उहाँलाई प्रशंसा गरून् भनेर ख्रीष्‍टले यहूदीहरूको सेवा गर्नुभयो। धर्मशास्‍त्रमा यसरी लेखिएको छ, “यसैकारण म अन्यजातिको माझमा तपाईंको प्रशंसा गर्नेछु अनि तपाईंकै नाउँको स्‍तुति गाउनेछु।”

शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्