प्रकाश 3:1-13

प्रकाश 3:1-13 सरल नेपाली

“सार्डिसमा भएका मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जससँग सात तारा र परमेश्‍वरका सात आत्‍मा छन्, उहाँले यसो भन्‍नुहुन्‍छ। तिम्रा कामहरू मलाई थाहा छ, तिमीहरू जिउँदा छौ भन्‍ने नाम चलेको छ, तर वास्तवमा तिमीहरू मरेका छौ। यसकारण जाग र तिमीहरूसँग बचेका थोरै कुराहरू मासिन नदिएर बलियो पार किनभने परमेश्‍वरको अगाडि तिम्रा कामहरू मैले सिद्ध भेट्टाएको छैनँ। जे तिमीले सुनेका र सिकेका छौ, तिनको सम्‍झना गर। ती मान र तिम्रा पापबाट मन फर्काओ। तिमीहरू जागेनौ भने म तिमीहरूकहाँ चोरजस्‍तै आउनेछु र म आउने तिमीहरूलाई थाहा हुनेछैन। तर सार्डिसमा पनि कोही-कोही मानिसहरू छन्, जसले आफ्‍नो लुगा सफा राखेका छन्। उनीहरू मसित सेता लुगा लगाएर हिँड्‍नेछन् किनभने उनीहरू यसो गर्न योग्‍य छन्। जसले जित्‍छ, उसले यस्‍तो सेतो लुगा लाउनेछ र उसको नाउँ म जीवनको पुस्‍तकबाट कहिल्‍यै मेटाउनेछैन, तर ऊ मेरो हो भनेर मेरा पिता र उहाँका सबै स्‍वर्गदूतको अगाडि स्‍वीकार गर्नेछु। “जसका कान छन्, परमेश्‍वरका आत्‍माले मण्‍डलीहरूलाई भन्‍नुभएको कुरा सुन! “फिलाडेल्‍फिया मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “उहाँ जो पवित्र र सत्‍य हुनुहुन्‍छ, जसका हातमा दाऊद राजाको साँचो छ र जसले खोलेको ढोका कसैले बन्‍द गर्न सक्‍दैन अथवा बन्‍द गरेको ढोका कसैले खोल्‍न सक्‍दैन, उहाँले यसो भन्‍नुहुन्‍छ। तिम्रो काम मलाई थाहा छ। मैले तिम्रो अगाडि ढोका राखिदिएको छु। त्‍यसलाई कसैले बन्‍द गर्न सक्‍दैन। दुर्बल भए तापनि तिमीले मेरा सबै कुरा मानेका छौ र मेरो नाउँ अस्‍वीकार गरेका छैनौ। हामी यहूदी हौं भनेर ढाँट्‍ने शैतानका गुठका त्‍यहाँ जो छन्, उनीहरूलाई म तिम्रा पाउमा दण्‍डवत् गर्न लाउनेछु र मैले तिमीलाई प्‍यार गरिराखेको छु भन्‍ने कुरा उनीहरूलाई थाहा हुनेछ। पृथ्‍वीका सबै जातिहरूलाई जाँच्‍न यस संसारमा हुन आउने चर्को कष्‍टबाट म तिमीहरूलाई जोगाउनेछु किनभने तिमीहरूले धेरै कुरा सहेर मेरो आज्ञा मानेका छौ। हेर, म चाँडै आउनेछु। तिमीसित भएको कुरा जोगाएर राख र कसैले पनि तिम्रो विजयको इनाम तिमीबाट खोस्‍न नसकोस्। जसले जित्‍छ, मेरा परमेश्‍वरको मन्‍दिरमा म उसलाई एउटा खामो बनाउँछु र त्‍यहाँबाट ऊ कहिल्‍यै निस्‍कनेछैन। उसमा मेरा परमेश्‍वरको नाउँ अनि स्‍वर्गबाट ओर्लेर आउने उहाँको सहर नयाँ यरूशलेमको नाउँ लेख्‍नेछु र उसमा मेरो नयाँ नाउँ पनि लेख्‍नेछु। “जसका कान छन्, परमेश्‍वरका आत्‍माले मण्‍डलीहरूलाई भन्‍नुभएको कुरा सुन!

प्रकाश 3 पढ्नुहोस्