भजनसंग्रह 99:1-9

भजनसंग्रह 99:1-9 सरल नेपाली

परमप्रभु राजा हुनुहुन्‍छ, मानिसहरू काँप्‍दछन्, उहाँ पखेटा भएका जीवमाथि बसालेको सिंहासनमा विराजमान हुनुहुन्‍छ र पृथ्‍वी हल्‍लँदछ। परमप्रभु सियोनमा महान् हुनुहुन्‍छ, सबै जातिहरूमाथि उहाँ सर्वोच्‍च हुनुहुन्‍छ। सबैले उहाँको महान् र गौरवपूर्ण नामको प्रशंसा गर्दछन्। उहाँ पवित्र हुनुहुन्‍छ! सामर्थी राजा, जे ठीक छ, त्‍यो तपाईंले प्रेम गर्नुहुन्‍छ, तपाईंले इस्राएलमा न्‍याय कायम गर्नुभएको छ, धार्मिकता र न्‍याय ल्‍याउनुभएको छ। परमप्रभु हाम्रा परमेश्‍वरको प्रशंसा गर; उहाँको सिंहासनको सामु दण्‍डवत् गर। उहाँ पवित्र हुनुहुन्‍छ! मोशा र हारून उहाँका पूजाहारीहरू थिए, उहाँलाई प्रार्थना गर्ने एक जना शमूएल थिए, तिनीहरूले परमप्रभुलाई पुकारे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो। उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्‍नुभयो, उहाँले दिनुभएका नियम र आज्ञाहरू तिनीहरूले पालन गरे। हे परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंले आफ्‍ना प्रजालाई जवाफ दिनुभयो, तपाईंले तिनीहरूलाई तिनीहरूका पापको दण्‍ड दिनुभए तापनि म क्षमा दिने परमेश्‍वर हुँ भनी तपाईंले तिनीहरूलाई देखाउनुभयो। परमप्रभु हाम्रा परमेश्‍वरको प्रशंसा गर र उहाँको पवित्र पहाडमा उपासना गर! परमप्रभु हाम्रा परमेश्‍वर, पवित्र हुनुहुन्‍छ।

भजनसंग्रह 99 पढ्नुहोस्