भजनसंग्रह 99:1-9
भजनसंग्रह 99:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले राज्य गर्नुहुन्छ, जाति-जातिहरू कम्पायमान होऊन्। उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, पृथ्वी हल्लिउठोस्। परमप्रभु सियोनमा महान् हुनुहुन्छ, र उहाँ सबै जातिहरूमाथि सर्वोच्च हुनुहुन्छ। तिनीहरूले तपाईंको महान् र भय मान्नुपर्ने नाउँको प्रशंसा गरून्— उहाँ पवित्र हुनुहुन्छ। राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँ न्याय मन पराउनुहुन्छ— तपाईंले निष्पक्षता स्थापित गर्नुभएको छ, तपाईंले याकूबमा न्याय र धार्मिकता सम्पन्न गर्नुभएको छ। परमप्रभु हाम्रा परमेश्वरको नाउँ उच्च पार, र उहाँको पाउदानमा आराधना गर, उहाँ पवित्र हुनुहुन्छ। मोशा र हारून उहाँका पूजाहारीहरूमध्येका थिए, र परमप्रभुको पुकारा गर्नेहरूमध्येका शमूएल थिए। तिनीहरूले परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो। उहाँले बादलको खामोबाट तिनीहरूसित बोल्नुभयो। उहाँले तिनीहरूलाई दिनुभएको कानून र विधिहरू तिनीहरूले पालन गरे। हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो, तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्वर हुनुहुन्थ्यो, यद्यपि तपाईंले तिनीहरूका दुष्ट कामहरूको बदला पनि दिनुभयो। परमप्रभु हाम्रा परमेश्वरको नाउँ उच्च पार, र उहाँको पवित्र पर्वतमा उपासना गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ।
भजनसंग्रह 99:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले राज्य गर्नुहुन्छ; राष्ट्रहरू थरथर कामून्; उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ; पृथ्वी हल्लियोस्! सियोनमा याहवेह महान् हुनुहुन्छ; उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्च हुनुहुन्छ। तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्— उहाँ पवित्र हुनुहुन्छ। राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ— तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ; तपाईंले याकोबमा न्याय र धार्मिकता सम्पन्न गर्नुभएको छ। याहवेह हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पाउदानमा आराधना गर; उहाँ पवित्र हुनुहुन्छ। उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए, र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए; तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो। उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो; उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे। हे याहवेह, हाम्रा परमेश्वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो; तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्वर हुनुहुन्थ्यो, यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो। याहवेह, हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पवित्र पर्वतमा आराधना गर; किनकि याहवेह हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ।
भजनसंग्रह 99:1-9 पवित्र बाइबल (NERV)
परमप्रभु नै राजा हुनुहुन्छ, यसैले सारा जातिहरू डरले काम्छन्। परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ। यसैले सारा संसार डरले काम्दछ। सियोनमा परमप्रभु महान् हुनुहुन्छ! उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ। सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्। परमेश्वरको नाउँ विस्मयकारक छ। परमेश्वर पवित्र हुनुहुन्छ। शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ। परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो। तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो। परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर अनि उहाँको पवित्र पाउदानमा दण्डवत गर। मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए। तिनीहरू मध्ये शमूएल हुन् जसले परमेश्वरको नाम पुकारे। तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे, अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो। परमेश्वर अग्ला बादलबाट बोल्नु भयो। तिनीहरूले उहाँको विधिहरू पालन गरे अनि परमेश्वरले तिनीहरूलाई नियम प्रदान गर्नुभयो। हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। तपाईंले आफू क्षमादायी परमेश्वर अनि नीच काम गर्ने मानिसहरूलाई दण्ड दिनेको रूपमा दर्शाउनु भयो। हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर। हाम्रो परमेश्वर साँच्चि नै पवित्र हुनुहुन्छ। उहाँको पवित्र पर्वत तर्फ दण्डवत् गर।
भजनसंग्रह 99:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु राजा हुनुहुन्छ, मानिसहरू काँप्दछन्, उहाँ पखेटा भएका जीवमाथि बसालेको सिंहासनमा विराजमान हुनुहुन्छ र पृथ्वी हल्लँदछ। परमप्रभु सियोनमा महान् हुनुहुन्छ, सबै जातिहरूमाथि उहाँ सर्वोच्च हुनुहुन्छ। सबैले उहाँको महान् र गौरवपूर्ण नामको प्रशंसा गर्दछन्। उहाँ पवित्र हुनुहुन्छ! सामर्थी राजा, जे ठीक छ, त्यो तपाईंले प्रेम गर्नुहुन्छ, तपाईंले इस्राएलमा न्याय कायम गर्नुभएको छ, धार्मिकता र न्याय ल्याउनुभएको छ। परमप्रभु हाम्रा परमेश्वरको प्रशंसा गर; उहाँको सिंहासनको सामु दण्डवत् गर। उहाँ पवित्र हुनुहुन्छ! मोशा र हारून उहाँका पूजाहारीहरू थिए, उहाँलाई प्रार्थना गर्ने एक जना शमूएल थिए, तिनीहरूले परमप्रभुलाई पुकारे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो। उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो, उहाँले दिनुभएका नियम र आज्ञाहरू तिनीहरूले पालन गरे। हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आफ्ना प्रजालाई जवाफ दिनुभयो, तपाईंले तिनीहरूलाई तिनीहरूका पापको दण्ड दिनुभए तापनि म क्षमा दिने परमेश्वर हुँ भनी तपाईंले तिनीहरूलाई देखाउनुभयो। परमप्रभु हाम्रा परमेश्वरको प्रशंसा गर र उहाँको पवित्र पहाडमा उपासना गर! परमप्रभु हाम्रा परमेश्वर, पवित्र हुनुहुन्छ।