भजनसंग्रह 79:1-12
भजनसंग्रह 79:1-12 सरल नेपाली
हे परमेश्वर! अविश्वासीहरूले तपाईंको देशमाथि आक्रमण गरेका छन्। तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अपवित्र गरेका छन् र यरूशलेमलाई ध्वंस पारिराखेका छन्। गिद्धहरूले खानलाई तपाईंका प्रजाका लाशहरू र जङ्गली जनावरले खानलाई तपाईंका दासहरूका लाश तिनीहरूले छोडिराखेका छन्। तिनीहरूले तपाईंका प्रजाका रगत पानीझैँ बगाए, यरूशलेमभरि पानीझैँ रगत बग्यो, मरेकाहरूलाई गाड्नलाई कोही बाँचेनन्। वरिपरिका देशहरूले हाम्रो अपमान गर्छन्, तिनीहरूले खिसी गरेर हाम्रो हाँसो उडाउँछन्। हे परमप्रभु! के सधैँभरि तपाईं हामीसँग रिसाउनुहुन्छ? के आगोझैँ तपाईंको क्रोध दन्किरहनेछ? तपाईंको रिस तपाईंलाई नपुज्ने देशहरूमाथि र तपाईंलाई प्रार्थना नगर्ने मानिसमाथि खन्याउनुहोस् किनभने तिनीहरूले तपाईंका प्रजालाई मारेका छन् र तपाईंको देश स्वाहा पारेका छन्। हाम्रा पुर्खाहरूका पापको लागि हामीलाई दण्ड नदिनुहोस्। हामीलाई दयामाया गर्नुहोस्; हामीले सबै आशा हराएका छौं। हे परमेश्वर! हाम्रो सहायता गर्नुहोस् र हामीलाई बचाउनुहोस्, तपाईंको आफ्नो इज्जतको खातिर हाम्रा पाप क्षमा गर्नुहोस् र हाम्रो उद्धार गर्नुहोस्। देश-देशले किन हामीलाई सोध्छन्, “तिम्रा परमेश्वर खोइ?” आफ्नो प्रजाको रगत बहाएको कारणले तपाईंले ती देशहरूलाई दण्ड दिनुभएको हामी हेर्न पाऔँ। कैदीहरूको पीडाको स्वर सुन्नुहोस् र आफ्नो महान् शक्तिले मृत्युदण्ड पाएकाहरूलाई छुटकारा दिनुहोस्। हे प्रभु! तपाईंलाई गरेका अपमानको सट्टामा ती देशहरूलाई त्यसको सात गुणा दण्ड दिनुहोस्।

