भजनसंग्रह 79:1-12

भजनसंग्रह 79:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमेश्‍वर, जाति-जातिहरूले तपाईंको उत्तराधिकारलाई आक्रमण गरेका छन्‌। तपाईंको पवित्र मन्‍दिरलाई तिनीहरूले बिटुलो पारेका छन्‌। तिनीहरूले यरूशलेमलाई संहार पारिदिएका छन्‌। तपाईंका दासहरूका शव तिनीहरूले आकाशका पक्षीहरूलाई आहारको निम्‍ति दिएका छन्‌, तपाईंका पवित्र जनहरूका मासु जङ्गली जनावरहरूलाई दिएका छन्‌। तिनीहरूले उनीहरूको रगत पानीजस्‍तै यरूशलेमको चारैतिर बगाएका छन्‌, र उनीहरूलाई गाड्‌ने कोही छैनन्‌। हाम्रा छिमेकीहरूका निम्‍ति हामी निन्‍दाका पात्र हौं। अनि हाम्रा वरिपरि बस्‍नेहरूका हामी उपहासका र गिल्‍लाका पात्र हौं। कहिलेसम्‍म, हे परमेश्‍वर? के तपाईं हामीहरूसँग सधैँभरि क्रोधित भइरहनुहुन्‍छ? तपाईंको डाह आगोझैँ कतिसम्‍म दन्‍की नै रहनेछ? ती जातिहरू जसले तपाईंलाई स्‍वीकार गर्दैनन्‌, ती राज्‍यहरू जसले तपाईंलाई पुकार्दैनन्‌, तिनीहरूमाथि तपाईंको क्रोध खन्‍याउनुहोस्‌। किनभने तिनीहरूले याकूबलाई निलेका छन्‌, अनि तिनको वासस्‍थान उजाड पारेका छन्‌। हाम्रा पुर्खाहरूका पापको लेखा हामीहरूसँग नलिनुहोस्‌, तपाईंको कृपा हामीलाई चाँड़ै उपलब्‍ध होस्‌, किनकि हामी साह्रै खाँचोमा छौं। हामीलाई उद्धार गर्ने हे परमेश्‍वर, तपाईंका नाउँको महिमाको निम्‍ति हामीलाई सहायता दिनुहोस्‌। आफ्‍ना नाउँको खातिर हामीलाई छुटाउनुहोस्‌, र हाम्रा पाप क्षमा गर्नुहोस्‌। “तिनीहरूका परमेश्‍वर कहाँ छन्‌?” भनी जातिहरूले किन भनून्‌? हाम्रै आँखाको अगि तपाईंका दासहरूको बगाएका रगतको बदला तपाईं लिनुहुन्‍छ भन्‍ने जाति-जातिहरूलाई थाहा होस्‌। कैदीहरूको करुण-क्रन्‍दन तपाईंको सामु पुगोस्‌, तपाईंको बाहुलीको शक्तिद्वारा मृत्‍युदण्‍ड परेकाहरूको रक्षा गर्नुहोस्‌। हे परमप्रभु, जुन गिल्‍लाले तिनीहरूले तपाईंलाई अपमान गरेका छन्‌, त्‍यसका सात गुणा साटो हाम्रा छिमेकीहरूलाई फर्काइदिनुहोस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 79 पढ्नुहोस्

भजनसंग्रह 79:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे परमेश्‍वर, राष्ट्रहरूले तपाईंका उत्तराधिकारलाई आक्रमण गरेका छन्; तिनीहरूले तपाईंका पवित्र मन्दिरलाई अपवित्र पारेका छन्; तिनीहरूले यरूशलेमलाई भग्नावशेषका थुप्राहरू पारिदिएका छन्। तिनीहरूले तपाईंका सेवकहरूका लासलाई आकाशका पक्षीहरूलाई आहाराको निम्ति छोडेका छन्, तपाईंका आफ्ना मानिसका शरीर जङ्गली जनावरहरूलाई दिएका छन्। तिनीहरूले उनीहरूका रगत यरूशलेमको चारैतिर पानीजस्तै बगाएका छन्, र उनीहरूका लासलाई गाड्ने कोही छैनन्। हाम्रा छिमेकीहरूका सामु हामी गिल्‍लाका पात्र; र हाम्रा वरिपरिका मानिसहरूका बीच तिरस्कार र हाँसोका पात्र भएका छौँ। हे याहवेह, तपाईं कहिलेसम्म क्रोधित भइरहनुहुन्छ? के सधैँभरिको लागि? तपाईंको डाह कहिलेसम्म आगोझैँ दन्किनेछ? तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याउनुहोस्, जसले तपाईंलाई स्वीकार गर्दैनन्; ती राज्यहरूमाथि, जसले तपाईंको नामलाई पुकार्दैनन्; किनकि तिनीहरूले याकोबलाई निलेका छन्, र तिनको वासस्थान उजाड पारेका छन्। हाम्रा पितापुर्खाहरूका पापको दण्ड हामीलाई नदिनुहोस्; तपाईंको कृपा चाँडै हामीलाई भेट्न आओस्, किनकि हामी अत्यन्तै अभावमा छौँ। हे हाम्रा उद्धारक परमेश्‍वर, तपाईंको नामको महिमाको खातिर, हामीलाई सहायता गर्नुहोस्; तपाईंको नामको खातिर हामीलाई छुटाउनुहोस् र हाम्रा पाप क्षमा गर्नुहोस्! “तिनीहरूका परमेश्‍वर कहाँ छन्?” भन्‍ने मौका राष्ट्रहरूले नपाऊन्। तपाईंका आफ्ना सेवकहरूको बगाइएका रगतको बदला लिनुहुन्छ भन्‍ने कुरा हाम्रै आँखाको अगि राष्ट्रहरूलाई थाहा गराउनुहोस्। कैदीहरूका विलाप तपाईंको सामु पुगोस्; तपाईंको शक्तिशाली हातद्वारा मृत्युको दण्डमा परेकाहरूको रक्षा गर्नुहोस्। हे प्रभु, तिनीहरूले तपाईंलाई गरेका तिरस्कारको सट्टा, हाम्रा छिमेकीहरूसँग सात गुणा बदला लिनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 79 पढ्नुहोस्

भजनसंग्रह 79:1-12 पवित्र बाइबल (NERV)

हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए। ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे। शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले र जङ्गली जनावरहरूले खाओस् भनी छाडिदिए। परमेश्वर, ती शत्रुले पानी सरह रगत नबगुन्जेल सम्म तपाईंका मानिसहरू मारे। ती मृत शरीरहरू गाड्नलाई सम्म कोही पनि भएनन्। हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे। हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए। हे परमेश्वर, के तपाईं हामीसँग सधैँको निम्ति रिसाउनु हुनेछ? के तपाईंको बलिया भावनाहरू आगो झैं अनवरत झल्दछ? हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस् जुन सम्प्रदायले तपाईंलाई चिन्दैन। तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस् जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन। ती सम्प्रदायरूले याकूबलाई र उसको देशलाई ध्वंश पारे। हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्। चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस्, कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं। हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्! बचाउनु होस् र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ। तपाईंको असल नाउँ सुनाउनको लागि, हामीलाई बचाउनु होस् र हाम्रो पापहरू मेटाइदिनु होस्। अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्, “तिम्रो परमेश्वर कहाँ छ? के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?” परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्, यसकारण हामी त्यो हेर्न चाहन्छौं। तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए। कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्! परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस्, जसलाई मृत्युदण्ड दिइएकोछ। हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति हाम्रा वरिपरि भएका मानिसहरूलाई सातौं पल्ट दण्ड दिनुहोस्। तपाईंको अपमान गर्ने ती मानिसहरूलाई दण्ड दिनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 79 पढ्नुहोस्

भजनसंग्रह 79:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमेश्‍वर! अविश्‍वासीहरूले तपाईंको देशमाथि आक्रमण गरेका छन्। तिनीहरूले तपाईंको पवित्र मन्‍दिरलाई अपवित्र गरेका छन् र यरूशलेमलाई ध्‍वंस पारिराखेका छन्। गिद्धहरूले खानलाई तपाईंका प्रजाका लाशहरू र जङ्गली जनावरले खानलाई तपाईंका दासहरूका लाश तिनीहरूले छोडिराखेका छन्। तिनीहरूले तपाईंका प्रजाका रगत पानीझैँ बगाए, यरूशलेमभरि पानीझैँ रगत बग्‍यो, मरेकाहरूलाई गाड्‍नलाई कोही बाँचेनन्। वरिपरिका देशहरूले हाम्रो अपमान गर्छन्, तिनीहरूले खिसी गरेर हाम्रो हाँसो उडाउँछन्। हे परमप्रभु! के सधैँभरि तपाईं हामीसँग रिसाउनुहुन्‍छ? के आगोझैँ तपाईंको क्रोध दन्‍किरहनेछ? तपाईंको रिस तपाईंलाई नपुज्‍ने देशहरूमाथि र तपाईंलाई प्रार्थना नगर्ने मानिसमाथि खन्‍याउनुहोस् किनभने तिनीहरूले तपाईंका प्रजालाई मारेका छन् र तपाईंको देश स्‍वाहा पारेका छन्। हाम्रा पुर्खाहरूका पापको लागि हामीलाई दण्‍ड नदिनुहोस्। हामीलाई दयामाया गर्नुहोस्; हामीले सबै आशा हराएका छौं। हे परमेश्‍वर! हाम्रो सहायता गर्नुहोस् र हामीलाई बचाउनुहोस्, तपाईंको आफ्‍नो इज्‍जतको खातिर हाम्रा पाप क्षमा गर्नुहोस् र हाम्रो उद्धार गर्नुहोस्। देश-देशले किन हामीलाई सोध्‍छन्, “तिम्रा परमेश्‍वर खोइ?” आफ्‍नो प्रजाको रगत बहाएको कारणले तपाईंले ती देशहरूलाई दण्‍ड दिनुभएको हामी हेर्न पाऔँ। कैदीहरूको पीडाको स्‍वर सुन्‍नुहोस् र आफ्‍नो महान् शक्तिले मृत्‍युदण्‍ड पाएकाहरूलाई छुटकारा दिनुहोस्। हे प्रभु! तपाईंलाई गरेका अपमानको सट्टामा ती देशहरूलाई त्‍यसको सात गुणा दण्‍ड दिनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 79 पढ्नुहोस्