ए मेरो छोरो, मैले दिएको शिक्षालाई नभुल, मैले भनेका कुरा गर्न सदा याद राख् किनभने मेरो शिक्षाले तँलाई लामो आयु दिनेछ र तेरो फलिफाप गराउनेछ। भक्ति र विश्वासलाई कहिल्यै नत्याग्। ती तेरो घाँटीमा बाँधिराख्, हृदयमा लेखिराख्। त्यसो गरिस् भने परमेश्वर र मानिस दुवै तँसित प्रसन्न रहनेछन् र तैँले निगाह पाउनेछस्। तेरो सारा हृदयले परमप्रभुमा भरोसा गर्, म जान्दछु भन्ने तेरो विचारमा निर्भर नहो। आफ्ना सबै काममा परमप्रभुलाई सम्झी र उहाँले तँलाई ठीक मार्ग देखाएइदिनुहुनेछ। आफूलाई ज्यादै बुद्धिमान् नठान्, खालि परमप्रभुको आज्ञा मान् र दुष्ट्याइँबाट जोगिने गर्। त्यसो गरिस् भने त्यो तेरो चोट निको पार्ने र घाउको दु:खाइ कम गर्ने असल ओखतीझैँ हुनेछ। आफ्नो धन-सम्पत्ति र आफ्ना उब्जनीको सबैभन्दा पहिलो फल चढाएर परमप्रभुको आदर गर्। त्यसो गरिस् भने तेरा ढुकुटीहरू अन्नले भरिनेछन् र तेरो दाख-कुण्ड दाखमद्यले भरिएर पोखिनेछ। ए मेरो छोरो, परमप्रभुले तँलाई सुधार्नुहुँदा ध्यान दे र त्यसलाई विरक्त नमान् किनभने जसरी बुबाले जुन छोरोमा गर्व गर्छ, उसैलाई दण्ड दिन्छ, त्यसरी नै परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उसैलाई सुधार्नुहुन्छ। बुद्धि र समझशक्ति प्राप्त गर्ने मानिस खुसी रहन्छ। त्यसमा चाँदीमा भन्दा बढी लाभ हुन्छ र त्यो सुनभन्दा उत्तम हो। बुद्धि हीरा-मोतीभन्दा ज्यादै उत्तम हुन्छ, तैँले चाहेको कुनै कुराको त्योसित तुलना गर्न सकिंदैन। बुद्धिले तँलाई दीर्घायु, धन-सम्पत्ति र इज्जत पनि दिँदछ। बुद्धिले तेरो जीवन आनन्दमय बनाउन सक्छ र जीवन-पथमा तँलाई कुशलसाथ डोर्याउँछ। बुद्धि पाउनेहरू खुसी हुन्छन्, बुद्धिले तिनीहरूलाई जीवन दिँदछ। परमप्रभुले बुद्धिद्वारा पृथ्वी बनाउनुभयो, उहाँले ज्ञानद्वारा आकाशलाई त्यसको ठाउँमा बसाल्नुभयो। उहाँको बुद्धिले नदीहरू बगिनिस्के र बादलबाट पृथ्वीमा वर्षा भयो।
हितोपदेश 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 3:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू