हितोपदेश 3:1-20

हितोपदेश 3:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्‍नो हृदयमा लुकाइराख्‌। किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्‍पन्‍नता ल्‍याउनेछन्‌। भक्ति र विश्‍वासयोग्‍यताले तँलाई कहिल्‍यै नछोडून्, ती तैंले आफ्‍नो गलामा बाँधिराख्, आफ्‍नो हृदयको पाटीमा ती लेखिराख्‌। तब परमेश्‍वर र मानिसको दृष्‍टिमा तैंले निगाह पाउनेछस्‌ र असल नाउँ कमाउनेछस्‌। आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌ आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ। आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ, परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌। यसले तेरो शरीरलाई स्‍वस्‍थ तुल्‍याउनेछ, र तेरो हड्डीको लागि पोषण दिनेछ। आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना सबै उब्‍जनीको अगौटे फलले परमप्रभुको आदर गर, तब तेरा ढुकुटीहरू पोखुन्‍जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्‌। हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, र उहाँको हप्‍कीलाई खराब नठान्, किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्‍छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्‍नो प्‍यारो छोरालाई अनुशासन दिन्‍छन्‌। धन्‍य हो त्‍यो मानिस जसले बुद्धि प्राप्‍त गर्छ, र समझशक्ति हासिल गर्छ, किनभने बुद्धि चाँदीभन्‍दा धेरै लाभदायक हुन्‍छ, र त्‍यसले सुनले भन्‍दा बढ़ी फाइदा दिन्‍छ। त्‍यो मानिकभन्‍दा पनि बहुमूल्‍य हुन्‍छ, र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन। बुद्धिको दाहिने हातमा दीर्घायु, र त्‍यसको देब्रे हातमा धन र सम्‍मान हुन्‍छन्‌। त्‍यसका मार्गहरू आनन्‍ददायक हुन्‍छन्, र त्‍यसका सबै बाटोहरू शान्‍तिका हुन्‍छन्‌। बुद्धिलाई अँगाल्‍नेहरूका निम्‍ति त्‍यो एक जीवनको रूख हो, त्‍यसलाई पक्रनेहरूले आशिष्‌ पाउनेछन्‌। बुद्धिले नै परमप्रभुले पृथ्‍वीको जगहरू बसाल्‍नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्‍यसको ठाउँमा राख्‍नुभयो। उहाँको ज्ञानले गहिरा सागरहरू फुटिनिस्‍के, र बादलले तलतिर शीत झारे।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्

हितोपदेश 3:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स; तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख; किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ, र तिम्रा लागि शान्ति र उन्‍नति ल्याउनेछ। प्रेम र विश्‍वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्, ती तिमीले आफ्नो गलामा बाँधिराख, ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख। तब तिमीले परमेश्‍वर र मानिसहरूको दृष्‍टिमा निगाह र असल नाम कमाउनेछौ। तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर! आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प, र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ। आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन; याहवेहको डर मान, र दुष्कर्मलाई त्याग! यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ। आफ्ना धनसम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर। तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्, र तिम्रा घ्याम्पाहरू नयाँ दाखमद्यले भरिपूर्ण हुनेछन्। हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ; किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्। त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्‍त गर्छ, र जसले समझशक्ति प्राप्‍त गर्छ, किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ। बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ, तिमीले इच्छा गरेका कुनै पनि थोक यससँग तुलना गर्न सकिँदैन। यसको दाहिने हातमा दीर्घायु छ, र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्। यसका मार्गहरू आनन्ददायक हुन्छन्, र यसका सबै बाटाहरू शान्तिका हुन्छन्। यसलाई पक्रिरहनेहरूका निम्ति यो जीवनको रूख हो, यसलाई अपनाउनेहरूका लागि आशिष् हो। बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो, समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो, उहाँको ज्ञानद्वारा सागरका गहिराइहरू भाग-भाग भए, र बादलहरूले शीत वृष्‍टि गरे।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्

हितोपदेश 3:1-20 पवित्र बाइबल (NERV)

हे मेरो छोरा, मेरा शिक्षाहरूलाई नभुल्। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर। मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउँन सिकाउँछ। प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथे र गलामा लगाई राख। तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ। तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भरनपर। तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ। आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराऊ अनि दुष्कर्मबाट टाडो बस। यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ। तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ। त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ। हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर। किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ। धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो। ज्ञानबाट जो लाभ हुन्छ, त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो। ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मुल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन। ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ। ज्ञानका मार्गहरू आनन्द दायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ। ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलियो गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ सधैँ धन्य रहन्छन्। परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो। उहाँको ज्ञानद्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्

हितोपदेश 3:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ए मेरो छोरो, मैले दिएको शिक्षालाई नभुल, मैले भनेका कुरा गर्न सदा याद राख् किनभने मेरो शिक्षाले तँलाई लामो आयु दिनेछ र तेरो फलिफाप गराउनेछ। भक्ति र विश्‍वासलाई कहिल्‍यै नत्‍याग्। ती तेरो घाँटीमा बाँधिराख्, हृदयमा लेखिराख्। त्‍यसो गरिस् भने परमेश्‍वर र मानिस दुवै तँसित प्रसन्‍न रहनेछन् र तैँले निगाह पाउनेछस्। तेरो सारा हृदयले परमप्रभुमा भरोसा गर्‌, म जान्‍दछु भन्‍ने तेरो विचारमा निर्भर नहो। आफ्‍ना सबै काममा परमप्रभुलाई सम्‍झी र उहाँले तँलाई ठीक मार्ग देखाएइदिनुहुनेछ। आफूलाई ज्‍यादै बुद्धिमान् नठान्, खालि परमप्रभुको आज्ञा मान् र दुष्‍ट्याइँबाट जोगिने गर्‌। त्‍यसो गरिस् भने त्‍यो तेरो चोट निको पार्ने र घाउको दु:खाइ कम गर्ने असल ओखतीझैँ हुनेछ। आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना उब्‍जनीको सबैभन्दा पहिलो फल चढाएर परमप्रभुको आदर गर्‌। त्‍यसो गरिस् भने तेरा ढुकुटीहरू अन्‍नले भरिनेछन् र तेरो दाख-कुण्‍ड दाखमद्यले भरिएर पोखिनेछ। ए मेरो छोरो, परमप्रभुले तँलाई सुधार्नुहुँदा ध्‍यान दे र त्‍यसलाई विरक्त नमान् किनभने जसरी बुबाले जुन छोरोमा गर्व गर्छ, उसैलाई दण्‍ड दिन्‍छ, त्‍यसरी नै परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ, उसैलाई सुधार्नुहुन्‍छ। बुद्धि र समझशक्ति प्राप्‍त गर्ने मानिस खुसी रहन्‍छ। त्‍यसमा चाँदीमा भन्दा बढी लाभ हुन्‍छ र त्‍यो सुनभन्दा उत्तम हो। बुद्धि हीरा-मोतीभन्दा ज्‍यादै उत्तम हुन्‍छ, तैँले चाहेको कुनै कुराको त्‍योसित तुलना गर्न सकिंदैन। बुद्धिले तँलाई दीर्घायु, धन-सम्‍पत्ति र इज्‍जत पनि दिँदछ। बुद्धिले तेरो जीवन आनन्‍दमय बनाउन सक्‍छ र जीवन-पथमा तँलाई कुशलसाथ डोर्‍याउँछ। बुद्धि पाउनेहरू खुसी हुन्‍छन्, बुद्धिले तिनीहरूलाई जीवन दिँदछ। परमप्रभुले बुद्धिद्वारा पृथ्‍वी बनाउनुभयो, उहाँले ज्ञानद्वारा आकाशलाई त्‍यसको ठाउँमा बसाल्‍नुभयो। उहाँको बुद्धिले नदीहरू बगिनिस्‍के र बादलबाट पृथ्‍वीमा वर्षा भयो।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्