फिलिप्पी 1:12-26

फिलिप्पी 1:12-26 सरल नेपाली

दाजुभाइहरू, तिमीहरूले यो थाहा पाओ भन्‍ने म चाहन्‍छु। ममाथि आइपरेका कुराहरूले त सुसमाचार फैलाउन सहायता दिएका छन्। मैले ख्रीष्‍टलाई प्रचारेकोले म कैदमा परेको हुँ भन्‍ने दरबारका सबै सिपाही र अरू मानिसहरूलाई थाहा छ। म कैदमा परेको हुनाले धेरैजसो भाइहरू प्रभुमा दरिला भएका छन् अनि तिनीहरू डरबिना सुसमाचार सुनाउन आँटिला हुँदै गएका छन्। हुन त कसैकसैले आरिस गरी मैले अरूको भन्दा बढ्ता गरें भनेर देखाउन ख्रीष्‍टको प्रचार गर्दछन् र कतिले चाहिँ राम्रै विचारमा प्रेमले प्रचार गरेका छन्। कारण तिनीहरूलाई थाहा छ, परमेश्‍वरले मलाई सुसमाचारको पक्षमा बोल्‍न खटाउनुभएको छ। अरूहरूले भने सोझो मनले होइन तर मलाई कैदमा हुँदा झन् दु:ख थपिओस् भन्‍ने नराम्रो विचारले ख्रीष्‍टको प्रचार गरेका हुन्। जेसुकै होस्, यस बारेमा म त खुसी छु। चाहे राम्रो मनले होस्, चाहे नराम्रो मनले, जसरी भए पनि ख्रीष्‍टकै प्रचार हुन्‍छ। किनभने मलाई थाहा छ तिमीहरूको प्रार्थना र प्रभु येशू ख्रीष्‍टका आत्‍माले दिनुभएको सहायताले मैले छुटकारा पाउनेछु। मेरो कर्तव्‍यबाट नचुकूँ तर जुनै समय पनि विशेषगरी अहिले म आँटिलो बनेर मरे पनि, बाँचे पनि मेरा सम्‍पूर्ण जीवनले ख्रीष्‍टको आदर होस् भन्‍ने मेरो ठूलो इच्‍छा र आशा छ किनभने मैले जिउनु नै ख्रीष्‍ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो। तर म यस शरीरमा बाँचेर अझै राम्रो काम हुने भए मर्ने या बाँच्‍ने, सो छान्‍न मलाई गाह्रो पर्‍यो। म दोधारमा परेको छु। यो संसार छोडेर ख्रीष्‍टकै साथमा रहन पनि मलाई ठूलो इच्‍छा छ। जुनचाहिँ एकदमै राम्रो कुरो हो। तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। मलाई यो पक्‍का थाहा छ। यसकारण तिमीहरूलाई विश्‍वासमा उन्‍नति गराउन र तिमीहरूको आनन्‍द अझ बढाउन म बाँच्‍नेछु। म तिमीहरूकहाँ फेरि आउँदा मेरो कारणले तिमीहरूले ख्रीष्‍ट येशूको अझ बढी जय-जयकार गर्न सक्‍नेछौ।

फिलिप्पी 1 पढ्नुहोस्