फिलिप्पी 1:12-26
फिलिप्पी 1:12-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु, कि ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अगि बढ़ाउने काम भएको छ, यहाँसम्म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ। धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्वरको वचन विनाडर बोल्नलाई झन् आँटिला भएका छन्। कसै-कसैले साँच्चै डाह र शेखीले, तर अरूहरूले सद्भावले ख्रीष्टलाई प्रचार गर्दछन्। सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन्, तर शेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर, शुद्ध मनले होइन, तर स्वार्थको भावनाले ख्रीष्टको प्रचार गर्दछन्। जे होस्, मूल कुरो यही हो— हरकिसिमले, चाहे बहानामा, चाहे सत्यमा ख्रीष्टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु। हो, म रमाउनेछु। किनकि म जान्दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ। मेरो उत्कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित् लज्जित हुनेछैनँ, तर ममा प्रशस्त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस्, अथवा जीवनद्वारा। किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्नुपर्ने हो, त्यो म भन्न सक्दिनँ। म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ, तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ। यस कुरामा निश्चित भएर म जान्दछु कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्नेछु, यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।
फिलिप्पी 1:12-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दाजुभाइ-दिदीबहिनीहरू हो, अहिले ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई विस्तार गर्ने काम गरेको छ भनी तिमीहरूले जान भन्ने म चाहन्छु। परिणाम स्वरूप सारा दरबारका पहरेदारहरू र बाँकी सबै मानिसहरूकहाँ म ख्रीष्टको निम्ति कैदमा रहेको हुँ भनी छर्लङ्ग भएको छ। अनि मेरो कैदको कारणले गर्दा प्रभुमा धेरै विश्वासीहरू साहसी भएका छन्, र निडरतासाथ सुसमाचार प्रचार गर्न धेरै उत्साहित भएका छन्। यो सत्य हो, कतिले डाह र प्रतिस्पर्धाका कारण ख्रीष्टलाई प्रचार गर्दछन्, तर अरूहरूले चाहिँ स्वच्छ मनसायले गर्दछन्। म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्। डाह र प्रतिस्पर्धाले प्रचार गर्नेहरूले स्वार्थी उद्देश्यले बेइमानीका साथ ख्रीष्टको प्रचार गरे; ताकि म कैदमा रहेको बेला तिनीहरूले मलाई अझ धेरै समस्या खडा गर्न सकून्। तर के भयो त? महत्त्वपूर्ण कुरा यही नै हो, चाहे खराब मनसायले होस् वा सत्यतामा होस्, जुनसुकै तरिकाले भए तापनि ख्रीष्ट नै प्रचारिनुहुन्छ। यसैकारणले म आनन्दित हुन्छु। हो, म निरन्तर आनन्दित हुनेछु। किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु। म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्ट उच्च पारिनुहुनेछ। किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नुचाहिँ लाभ हो। यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ! म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ। तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। म निश्चित भएको छु; यसकारण तिमीहरू सबैको उन्नति र विश्वासको आनन्दका निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु; यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।
फिलिप्पी 1:12-26 पवित्र बाइबल (NERV)
दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, तिमीहरूले जान भन्ने म चाहन्छु कि मैले भोगेको कष्ट सुसमाचार अझ विकसित गराउनु सहयोग बनियो। म किन बन्दी भएको छु त्यो स्पष्ट छ। म बन्दी छु किनभने म ख्रीष्टको विश्वासी हुँ। सम्राटका महलका सबै प्रहरीहरूले तथा सबै मानिसहरूले यो बुझेकाछन्। म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्। कोही मानिसहरू डाह र शेखीले अनि कसैले अरूलाई सहायता गर्ने इच्छाले ख्रीष्टलाई प्रचार गर्छन्। यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु। तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन् कि म झेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन्। तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह गर्दिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिनीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून्। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्। अनि म खुशी नै भइरहन्छु। तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ। मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म सधैँ आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठूलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहुँ यो काम गरि रहनेछु। मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो। यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ। जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो। तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। जब यो म जान्दछु म यहीं बस्छु अनि तिमीहरूसित रहन्छु। आत्मिक विकास गराउनु अनि विश्वासबाट आउने आनन्द लिनु म तिमीहरूलाई सहयोग पुर्याउने छु। जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशूमा तिमीहरूको आनन्द फेरि उर्लिनेछ।
फिलिप्पी 1:12-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाजुभाइहरू, तिमीहरूले यो थाहा पाओ भन्ने म चाहन्छु। ममाथि आइपरेका कुराहरूले त सुसमाचार फैलाउन सहायता दिएका छन्। मैले ख्रीष्टलाई प्रचारेकोले म कैदमा परेको हुँ भन्ने दरबारका सबै सिपाही र अरू मानिसहरूलाई थाहा छ। म कैदमा परेको हुनाले धेरैजसो भाइहरू प्रभुमा दरिला भएका छन् अनि तिनीहरू डरबिना सुसमाचार सुनाउन आँटिला हुँदै गएका छन्। हुन त कसैकसैले आरिस गरी मैले अरूको भन्दा बढ्ता गरें भनेर देखाउन ख्रीष्टको प्रचार गर्दछन् र कतिले चाहिँ राम्रै विचारमा प्रेमले प्रचार गरेका छन्। कारण तिनीहरूलाई थाहा छ, परमेश्वरले मलाई सुसमाचारको पक्षमा बोल्न खटाउनुभएको छ। अरूहरूले भने सोझो मनले होइन तर मलाई कैदमा हुँदा झन् दु:ख थपिओस् भन्ने नराम्रो विचारले ख्रीष्टको प्रचार गरेका हुन्। जेसुकै होस्, यस बारेमा म त खुसी छु। चाहे राम्रो मनले होस्, चाहे नराम्रो मनले, जसरी भए पनि ख्रीष्टकै प्रचार हुन्छ। किनभने मलाई थाहा छ तिमीहरूको प्रार्थना र प्रभु येशू ख्रीष्टका आत्माले दिनुभएको सहायताले मैले छुटकारा पाउनेछु। मेरो कर्तव्यबाट नचुकूँ तर जुनै समय पनि विशेषगरी अहिले म आँटिलो बनेर मरे पनि, बाँचे पनि मेरा सम्पूर्ण जीवनले ख्रीष्टको आदर होस् भन्ने मेरो ठूलो इच्छा र आशा छ किनभने मैले जिउनु नै ख्रीष्ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो। तर म यस शरीरमा बाँचेर अझै राम्रो काम हुने भए मर्ने या बाँच्ने, सो छान्न मलाई गाह्रो पर्यो। म दोधारमा परेको छु। यो संसार छोडेर ख्रीष्टकै साथमा रहन पनि मलाई ठूलो इच्छा छ। जुनचाहिँ एकदमै राम्रो कुरो हो। तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। मलाई यो पक्का थाहा छ। यसकारण तिमीहरूलाई विश्वासमा उन्नति गराउन र तिमीहरूको आनन्द अझ बढाउन म बाँच्नेछु। म तिमीहरूकहाँ फेरि आउँदा मेरो कारणले तिमीहरूले ख्रीष्ट येशूको अझ बढी जय-जयकार गर्न सक्नेछौ।