फिलिप्पी 1:12-26

फिलिप्पी 1:12-26 NNRV

भाइ हो, तिमीहरूलाई यो थाहा होस्‌ भन्‍ने म चाहन्‍छु, कि ममाथि आइलागेका कुराहरूले वास्‍तवमा सुसमाचारलाई अगि बढ़ाउने काम भएको छ, यहाँसम्‍म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्‍टको निम्‍ति भएको हो भन्‍ने जाहेर भएको छ। धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्‍वरको वचन विनाडर बोल्‍नलाई झन्‌ आँटिला भएका छन्‌। कसै-कसैले साँच्‍चै डाह र शेखीले, तर अरूहरूले सद्‌भावले ख्रीष्‍टलाई प्रचार गर्दछन्‌। सुसमाचारको सुरक्षाको निम्‍ति म यहाँ छु भनी जान्‍नेहरूले यो काम प्रेमले गर्दछन्, तर शेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्‍ट थपिदिने विचार गरेर, शुद्ध मनले होइन, तर स्‍वार्थको भावनाले ख्रीष्‍टको प्रचार गर्दछन्‌। जे होस्, मूल कुरो यही हो— हरकिसिमले, चाहे बहानामा, चाहे सत्‍यमा ख्रीष्‍टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु। हो, म रमाउनेछु। किनकि म जान्‍दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टका आत्‍माको सहायताले यो मेरो छुटकाराको निम्‍ति हुन आउनेछ। मेरो उत्‍कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित्‌ लज्‍जित हुनेछैनँ, तर ममा प्रशस्‍त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्‍ट सम्‍मानित हुनुहुनेछ, चाहे मृत्‍युद्वारा होस्, अथवा जीवनद्वारा। किनकि मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्‍ति त्‍यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्‍नुपर्ने हो, त्‍यो म भन्‍न सक्‍दिनँ। म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्‍छा छ, किनभने यो धेरै नै असल छ, तर शरीरमा रहन तिमीहरूका खातिर झन्‌ आवश्‍यक छ। यस कुरामा निश्‍चित भएर म जान्‍दछु कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्‍दको निम्‍ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्‍नेछु, यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्‍त कारण होस्‌।