मत्ती 7:21-29

मत्ती 7:21-29 सरल नेपाली

“मलाई प्रभु, हे प्रभु भन्‍ने सबैले परमेश्‍वरको राज्‍यमा पस्‍न पाउनेछैनन्। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छाअनुसार काम गर्नेहरू मात्रै पस्‍न पाउनेछन्। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, ‘प्रभु, हे प्रभु, के हामीले तपाईंकै नाउँमा परमेश्‍वरको तर्फबाट बोलेनौं र? के तपाईंको नाउँ लिएर भूतहरू निकालेनौं र? के तपाईंको नाउँमा अचम्‍म-अचम्‍मका कामहरू गरेनौं र?’ त्‍यति बेला म तिनीहरूलाई भन्‍नेछु, ‘ए दुष्‍ट काम गर्नेहरू हो, तिमीहरूलाई मैले चिनेकै छैनँ। यहाँबाट गइहाल!’ “साँच्‍चै, मैले भनेका यी कुरा सुनेर मान्‍नेचाहिँ आफ्‍नो घर ढुङ्गाको बलियो जगमाथि बनाउने बुद्धिमान् मानिसजस्‍तै हुन्‍छ। घर बनाएपछि बाढी आयो, हुरी चल्‍यो, तर जग बलियो भएकोले घर ढलेन। तर मैले भनेका कुरा सुनेर पनि नमान्‍नेचाहिँ बालुवामाथि घर बनाउने मूर्ख मानिसजस्‍तै हुन्‍छ। घर बनाएपछि पानी पर्‍यो, बाढी आयो, हुरी चल्‍यो अनि त्‍यसको घर ढलेर भताभुङ्गै भयो।” येशूले चेलाहरूलाई यसरी शिक्षा दिनुभएको सुनेर मानिसहरू छक्‍कै परे किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्‍तो गरी होइन, तर ठूलो अधिकारसँग शिक्षा दिनुहुन्‍थ्‍यो।

मत्ती 7 पढ्नुहोस्