लूका 23:1-16

लूका 23:1-16 सरल नेपाली

त्‍यसपछि महासभाका सबै सदस्‍यहरूले येशूलाई रोमी बडा-हाकिम पिलातसकहाँ लगे। तिनीहरूले उहाँलाई दोष लगाउँदै भने, “यसले आफैंलाई ‘म मुक्ति दिने राजा ख्रीष्‍ट हुँ भनेको र रोमी सरकारलाई कर तिर्नुपर्दैन’ भनेर हाम्रो देशका मानिसहरूलाई भड्काइरहेको हामीले भेट्यौं।” तिनीहरूको कुरा सुनेर पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्‍यो त तपाईं आफैंले भन्‍दै हुनुहुन्‍छ।” पिलातसले मुख्‍य पूजाहारीहरू र त्‍यहाँ जम्‍मा भएका मानिसहरूलाई भने, “मैले यी मानिसमा कुनै दोष देखिनँ।” तर तिनीहरूले कराएर भने, “यसले गालीलबाट सुरु गरेर पूरै यहूदिया र यहाँ पनि आफ्‍नो शिक्षा दिएर मानिसहरूलाई भड्काउँदै छ।” यो सुनेर पिलातसले सोधे, “के यी मानिस गालीली हुन्?” येशू हेरोदको क्षेत्रको हुनुहुँदोरहेछ भन्‍ने कुरा थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। त्‍यस बेला हेरोद यरूशलेमै थिए। येशूलाई देख्‍न पाउँदा हेरोद खुसी भए किनभने उनले येशूको बारेमा सुनेका थिए र धेरै दिनदेखि उहाँलाई हेर्ने इच्‍छा थियो। उनी येशूले केही अचम्‍मको काम गर्नुभएको हेर्न पाउँछु भन्‍ने आशा लिएर बसेका थिए। उनले येशूलाई धेरै कुरा सोधे, तर येशूले कुनै पनि उत्तर दिनुभएन। मुख्‍य पूजाहारी र धर्म-गुरुहरूले येशूको विरोधमा अनेक दोष लगाए। त्‍यसपछि हेरोद र उनका सिपाहीहरूले येशूलाई गिल्‍ला गर्दै अपमान गरे। येशूलाई राजाले लगाउनेजस्‍तै लुगा लगाइदिएर पिलातसकहाँ नै फर्काइदिए। पहिले हेरोद र पिलातसको बीचमा शत्रुता थियो, तर त्‍यस दिनदेखि तिनीहरूको मेलमिलाप भयो। त्‍यसपछि पिलातसले मुख्‍य पूजाहारी, अगुवा र जनताहरूलाई बोलाएर भने, “मानिसहरूलाई भड्काए भनेर तपाईंहरूले यिनलाई मकहाँ ल्‍याउनुभयो। अहिले यिनलाई तपाईंहरूकै सामुन्‍ने केरकार गरें, तर तपाईंहरूले लगाउनुभएको कुनै पनि दोष मैले यिनमा पाइनँ। हेरोदले पनि केही दोष नभेटेर यिनलाई हामीकहाँ नै फर्काइदिए। हेर्नुहोस्, यिनले मृत्‍युदण्‍ड पाउने कुनै अपराध गरेका छैनन्। अब म यिनलाई कोर्रा लाएर छोडिदिन्‍छु।”

लूका 23 पढ्नुहोस्