त्यसपछि सभाका सम्पूर्ण सदस्यहरू उठेर उहाँलाई पिलातसकहाँ लगे। तिनीहरूले उहाँलाई यसो भनेर दोष लगाउन थाले, “यस मानिसले हाम्रो राष्ट्रलाई नै बहकाउँदै गरेको हामीले भेट्टायौँ। यसले सिजरलाई कर तिर्ने कुराको विरोध गर्छ र आफैँलाई ‘ख्रीष्ट, राजा हुँ’ भनी भन्छ।” तब पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” “हो, तपाईंले भन्नुभएझैँ हो,” येशूले भन्नुभयो। त्यसपछि पिलातसले मुख्य पुजारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।” तर तिनीहरूले जिद्दी गरिरहे, “यसले आफ्नो शिक्षाद्वारा सारा यहूदिया प्रदेशका मानिसहरूलाई भड्काउँछ। यो गालील प्रदेशदेखि सुरु गरेर यहाँसम्म आइपुगेको छ।” यति सुनेपछि पिलातसले कतै उहाँ गालीलको पो हुनुहुन्छ कि भनी सोधपुछ गरे। जब तिनले येशू हेरोदको अधिकार क्षेत्रका हुनुहुन्छ भन्ने थाहा पाए, तब तिनले उहाँलाई हेरोदकहाँ पठाए। हेरोद पनि त्यस बेला यरूशलेममा नै थिए। येशूलाई देखेर हेरोद अत्यन्तै खुशी भए; किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्न इच्छा गरिरहेका थिए। तिनले उहाँका विषयमा जे-जे सुनेका थिए, त्यसअनुसार उहाँद्वारा केही अलौकिक चिन्हहरू भएको हेर्न तिनले आशा राखेका थिए। तिनले उहाँलाई धेरै प्रश्नहरू सोधे, तर येशूले तिनलाई केही जवाफ दिनुभएन। मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, उहाँकहाँ बडो जोडतोडका साथ दोष लगाउँदै त्यहाँ उभिरहेका थिए। हेरोद र तिनका सिपाहीहरूले उहाँको निन्दा र गिल्ला गरे। तिनीहरूले उहाँलाई राजकीय वस्त्र लगाइदिएर पिलातसकहाँ नै फिर्ता पठाइदिए। त्यस दिन हेरोद र पिलातस आपसमा मित्र बने; यसभन्दा अगि तिनीहरूमा शत्रुता थियो। पिलातसले मुख्य पुजारीहरू, शासकहरू र जनतालाई एकसाथ बोलाए, र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई जनतालाई विद्रोह गर्न भड्काउने मानिस भन्दै मकहाँ ल्यायौ। मैले तिमीहरूकै सामु यिनको जाँच गरेँ। अनि यिनको विरुद्धमा तिमीहरूले लगाएका दोषको लागि मैले केही आधार भेट्टाएको छैनँ। हेरोदले पनि केही दोष भेट्टाएनन्। तिनले पनि यिनलाई हामीकहाँ नै फिर्ता पठाइदिए। तिमीहरूले देखेकै छौ कि मृत्युदण्ड पाउने योग्यको कुनै काम यिनले गरेका छैनन्। त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।”
लूका 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 23:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू