लूका 23:1-16
लूका 23:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै सभासद्हरू उठे, र उहाँलाई पिलातसकहाँ ल्याए। तिनीहरूले उहाँमाथि यसो भन्ने दोष लगाउन लागे, “यस मानिसले हाम्रो राष्ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौं। यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्छ, आफैलाई चाहिँ ‘म ख्रीष्ट, एक राजा हुँ’ भनी भन्छ।” पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ।” तब पिलातसले मुख्य पूजाहारीहरू र भीड़हरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।” तर तिनीहरूले बड़ो जोड दिएर भने, “यसले सारा यहूदिया, र गालीलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछ।” तर पिलातसले यो सुनेर, ‘यो मानिस गालीलको हो कि’ भनेर सोधे। अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन् भन्ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए। अब येशूलाई देखेर हेरोद अत्यन्त खुसी भए। किनकि तिनले उहाँको विषयमा सुनेका हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए, र उहाँले केही आश्चर्य काम गर्नुभएको हेर्ने आशा गर्थे। तिनले उहाँलाई धेरै प्रश्न गरे, तर उहाँले तिनलाई केही जवाफ दिनुभएन। मुख्य पूजाहारीहरू र शास्त्रीहरूचाहिँ खड़ा भएर उहाँलाई जोड़तोड़साथ दोष लाउन लागे। हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे, र उहाँको गिल्ला गरे। त्यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए। त्यही दिन पिलातस र हेरोद दुवै आपसमा मित्र भए। किनकि अघि तिनीहरूका बीचमा वैरभाव थियो। तब पिलातसले मुख्य पूजाहारीहरू, शासकहरू, र जनतालाई जम्मा गरे। उनले तिनीहरूलाई भने, “तिमीहरूले मानिसहरू भड्काउने भनी यिनलाई मेरो सामुन्ने ल्यायौ। तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनमाथि लाएका अभियोगको दोषी भेट्टाइनँ। हेरोदले पनि दोषी भेट्टाएनन्, किनभने तिनले यिनलाई हामीकहाँ नै फर्काइदिए। अब हेर, यिनले मृत्युदण्ड पाउने योग्यको कुनै काम गरेका छैनन्। यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।” [
लूका 23:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि सभाका सम्पूर्ण सदस्यहरू उठेर उहाँलाई पिलातसकहाँ लगे। तिनीहरूले उहाँलाई यसो भनेर दोष लगाउन थाले, “यस मानिसले हाम्रो राष्ट्रलाई नै बहकाउँदै गरेको हामीले भेट्टायौँ। यसले सिजरलाई कर तिर्ने कुराको विरोध गर्छ र आफैँलाई ‘ख्रीष्ट, राजा हुँ’ भनी भन्छ।” तब पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” “हो, तपाईंले भन्नुभएझैँ हो,” येशूले भन्नुभयो। त्यसपछि पिलातसले मुख्य पुजारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।” तर तिनीहरूले जिद्दी गरिरहे, “यसले आफ्नो शिक्षाद्वारा सारा यहूदिया प्रदेशका मानिसहरूलाई भड्काउँछ। यो गालील प्रदेशदेखि सुरु गरेर यहाँसम्म आइपुगेको छ।” यति सुनेपछि पिलातसले कतै उहाँ गालीलको पो हुनुहुन्छ कि भनी सोधपुछ गरे। जब तिनले येशू हेरोदको अधिकार क्षेत्रका हुनुहुन्छ भन्ने थाहा पाए, तब तिनले उहाँलाई हेरोदकहाँ पठाए। हेरोद पनि त्यस बेला यरूशलेममा नै थिए। येशूलाई देखेर हेरोद अत्यन्तै खुशी भए; किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्न इच्छा गरिरहेका थिए। तिनले उहाँका विषयमा जे-जे सुनेका थिए, त्यसअनुसार उहाँद्वारा केही अलौकिक चिन्हहरू भएको हेर्न तिनले आशा राखेका थिए। तिनले उहाँलाई धेरै प्रश्नहरू सोधे, तर येशूले तिनलाई केही जवाफ दिनुभएन। मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, उहाँकहाँ बडो जोडतोडका साथ दोष लगाउँदै त्यहाँ उभिरहेका थिए। हेरोद र तिनका सिपाहीहरूले उहाँको निन्दा र गिल्ला गरे। तिनीहरूले उहाँलाई राजकीय वस्त्र लगाइदिएर पिलातसकहाँ नै फिर्ता पठाइदिए। त्यस दिन हेरोद र पिलातस आपसमा मित्र बने; यसभन्दा अगि तिनीहरूमा शत्रुता थियो। पिलातसले मुख्य पुजारीहरू, शासकहरू र जनतालाई एकसाथ बोलाए, र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई जनतालाई विद्रोह गर्न भड्काउने मानिस भन्दै मकहाँ ल्यायौ। मैले तिमीहरूकै सामु यिनको जाँच गरेँ। अनि यिनको विरुद्धमा तिमीहरूले लगाएका दोषको लागि मैले केही आधार भेट्टाएको छैनँ। हेरोदले पनि केही दोष भेट्टाएनन्। तिनले पनि यिनलाई हामीकहाँ नै फिर्ता पठाइदिए। तिमीहरूले देखेकै छौ कि मृत्युदण्ड पाउने योग्यको कुनै काम यिनले गरेका छैनन्। त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।”
लूका 23:1-16 पवित्र बाइबल (NERV)
त्यसछि तिनीहरू सबै उठे अनि येशूलाई पिलातसकहाँ पुर्योए। तिनीहरूले उहाँलाई दोष दिन थाले। तिनीहरूले पिलातसलाई भने, “उहाँले हाम्रा मानिसहरूलाई पथ भ्रष्ट गराँउदै थिए र हामीले उहाँलाई पक्रेकाछौं। उहाँले सिजरलाई कर तिर्नु विरोध गर्नुहुन्छ। उहाँ दावी गर्नु हुन्छ, उहाँ ख्रीष्ट राजा हुनुन्छ।” पिलातसले येशूलाई भने, “के तपाईं यहूदीहरूका राजा हुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “हो, त्यो सही हो।” पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोप्न कुनै दोष पाइन।” तिनीहरूले घरि-घरि भने, “तर यो मानिसले! यहूदियाभरि मानिसहरूलाई उहाँको शिक्षाले उत्तेजित पारी रहेकोछ। उहाँले गालीलमा शुरू गर्नुभयो, अनि अहिले यहीं हुनुहुन्छ।” यो सुने पछि यो मानिस गालीलबाट आएको हो होइन पिलातसले सोधे। पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए। जब हेरोदले येशूलाई देखे, उनी अत्यन्त खुशी भए। हेरोदले येशूको विषयमा सबै सुनेका थिए। यसैले धेरै दिनदेखि येशूलाई भेट्ने उनको इच्छा थियो। येशूले केही चमत्कार देखाउन् भन्ने हेरोदले आशा गरे। हेरोदले उहाँलाई अनेकौं प्रश्नहरू गरे, तर येशूले कुनै उत्तर दिनुभएन। मुख्य पूजाहारी र व्यवस्थाका शास्त्रीहरू त्यहीं उभिरहेका थिए। तिनीहरू येशूको विरुद्ध दोष लगाएर कराइरहेका थिए। तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए। बितेका दिनाहरूमा हेरोद र पिलातस माझ शत्रुता थियो। तर त्यस दिन ती दुइमाझ मित्रता शुरू भयो। पिलातसले मुख्य पूजाहारीहरू र यहूदी शासकहरू लगायत सबै मानिसहरूलाई बोलाए। पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ। तिमीहरूले भन्यौ कि यो मानिसले मानिसहरूलाई मकहाँ उत्तेजित गराइरहेकोछ। तर मैलै तिमीहरूकै अघि उहाँलाई जाँचे। तर तिमीहरूले लगाएको कुनै पनि दोषारोपणमा मैले उहाँमाथि कुनै दोष पाईंन। त्यसरी नै हेरोदले पनि उहाँमा कुनै दोष देखेनन्। तिनले त्यसैले गर्दा उहाँलाई हामीकहाँ पठाएका हुन्। हेर, येशूले कुनै दोष गर्नु भएको छैन कि उहाँले मृत्यु दण्ड पाउन्। यसकारण, म उहाँलाई हलुका सजाय दिएर छोडिदिनेछु।”
लूका 23:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि महासभाका सबै सदस्यहरूले येशूलाई रोमी बडा-हाकिम पिलातसकहाँ लगे। तिनीहरूले उहाँलाई दोष लगाउँदै भने, “यसले आफैंलाई ‘म मुक्ति दिने राजा ख्रीष्ट हुँ भनेको र रोमी सरकारलाई कर तिर्नुपर्दैन’ भनेर हाम्रो देशका मानिसहरूलाई भड्काइरहेको हामीले भेट्यौं।” तिनीहरूको कुरा सुनेर पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।” पिलातसले मुख्य पूजाहारीहरू र त्यहाँ जम्मा भएका मानिसहरूलाई भने, “मैले यी मानिसमा कुनै दोष देखिनँ।” तर तिनीहरूले कराएर भने, “यसले गालीलबाट सुरु गरेर पूरै यहूदिया र यहाँ पनि आफ्नो शिक्षा दिएर मानिसहरूलाई भड्काउँदै छ।” यो सुनेर पिलातसले सोधे, “के यी मानिस गालीली हुन्?” येशू हेरोदको क्षेत्रको हुनुहुँदोरहेछ भन्ने कुरा थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। त्यस बेला हेरोद यरूशलेमै थिए। येशूलाई देख्न पाउँदा हेरोद खुसी भए किनभने उनले येशूको बारेमा सुनेका थिए र धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा थियो। उनी येशूले केही अचम्मको काम गर्नुभएको हेर्न पाउँछु भन्ने आशा लिएर बसेका थिए। उनले येशूलाई धेरै कुरा सोधे, तर येशूले कुनै पनि उत्तर दिनुभएन। मुख्य पूजाहारी र धर्म-गुरुहरूले येशूको विरोधमा अनेक दोष लगाए। त्यसपछि हेरोद र उनका सिपाहीहरूले येशूलाई गिल्ला गर्दै अपमान गरे। येशूलाई राजाले लगाउनेजस्तै लुगा लगाइदिएर पिलातसकहाँ नै फर्काइदिए। पहिले हेरोद र पिलातसको बीचमा शत्रुता थियो, तर त्यस दिनदेखि तिनीहरूको मेलमिलाप भयो। त्यसपछि पिलातसले मुख्य पूजाहारी, अगुवा र जनताहरूलाई बोलाएर भने, “मानिसहरूलाई भड्काए भनेर तपाईंहरूले यिनलाई मकहाँ ल्याउनुभयो। अहिले यिनलाई तपाईंहरूकै सामुन्ने केरकार गरें, तर तपाईंहरूले लगाउनुभएको कुनै पनि दोष मैले यिनमा पाइनँ। हेरोदले पनि केही दोष नभेटेर यिनलाई हामीकहाँ नै फर्काइदिए। हेर्नुहोस्, यिनले मृत्युदण्ड पाउने कुनै अपराध गरेका छैनन्। अब म यिनलाई कोर्रा लाएर छोडिदिन्छु।”