लूका 2:15-26

लूका 2:15-26 सरल नेपाली

स्‍वर्गदूतहरू स्‍वर्गतिर फर्केपछि गोठालाहरूले आपसमा भने, “लौ, प्रभु परमेश्‍वरले हामीलाई भन्‍नुभएको कुरा बेथलेहेममा हेर्न जाऔं” र तिनीहरू दगुरेर गए। त्‍यहाँ तिनीहरूले मरियम, योसेफ र डुँडमा सुताइराखेको बालकलाई देखे। गोठालाहरूले बालकको बारेमा स्‍वर्गदूतले भनेका कुरा सबैलाई सुनाइदिए। यी कुराहरू सुन्‍ने जति सबै छक्‍क परे। तर मरियमले चाहिँ यी सबै कुरा गहिरोसँग विचार गरेर मनैमा राखिन्। भेडा गोठालाहरूले स्‍वर्गदूतले भनेजस्‍तै सुन्‍न र देख्‍न पाएकोले परमेश्‍वरको महिमा र प्रशंसा गर्दै फर्केर गए। आठौँ दिनमा बालकलाई इस्राएली व्यवस्थाअनुसार गरिने खतना गर्दा उहाँको नाउँ येशू राखियो, जुन नाउँचाहिँ उहाँ आमाको कोखमा रहनुभन्दा पहिले नै स्‍वर्गदूतले राख्‍नू भनेका थिए। मोशाले दिएको व्यवस्थाअनुसार जब उहाँहरूको चोखिने समय पूरा भयो, उहाँका आमा-बुबाले उहाँलाई यरूशलेमको मन्‍दिरमा परमेश्‍वरको सामु ल्‍याए किनभने प्रभु परमेश्‍वरको व्यवस्थामा लेखिएको छ, “प्रत्येक जेठा छोरा परमेश्‍वरको निम्‍ति पवित्र कहलाइनेछ।” साथै प्रभु परमेश्‍वरको व्यवस्थाले भनेजस्‍तै ढुकुर वा परेवाको एक जोर बचेरा पनि बलि चढाउनुपर्थ्‍यो। त्‍यस बेला शिमियोन भन्‍ने मानिस यरूशलेममा बस्‍थे। उनी धार्मिक मानिस थिए र परमेश्‍वरको भक्ति गर्थे। उनले इस्राएलीहरूलाई बचाउने मानिसको बाटो हेरिरहेका थिए र पवित्र आत्‍मा उनीसँग हुनुहुन्‍थ्‍यो। ‘प्रभु परमेश्‍वरले पठाउनुहुने मुक्तिदाता ख्रीष्‍टलाई नदेखी तिमी मर्दैनौ’ भनेर पवित्र आत्‍माले उनलाई अघिबाटै थाहा दिनुभएको थियो।

लूका 2 पढ्नुहोस्

लूका 2:15-26 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति