लूका 2:15-26
लूका 2:15-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्म जाऔं, र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।” तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्। जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के। आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्वर्गदूतले दिएका थिए। मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्ने समर्पण गर्न यरूशलेममा ल्याए, जस्तो परमप्रभुको व्यवस्थामा लेखिएको छ, “पहिलो जन्मने हरेक जेठोचाहिँ परमप्रभुको निम्ति पवित्र कहलाइनेछ।” अनि “एक जोर ढुकुर वा परेवाको दुई वटा बचरा” भनी परमप्रभुको व्यवस्थामा भनेजस्तै तिनीहरू बलिदान चढ़ाउन आए। यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। “परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्नेछैनौ” भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए।
लूका 2:15-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्नुभएको छ।” त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए। जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए। जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्चर्यचकित भए। तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्। सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के। आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाम येशू राखियो, जुन नाम उहाँ गर्भमा आउनुभन्दा अगि नै स्वर्गदूतले राख्नू भनी भनेका थिए। जब मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भयो, तब योसेफ र मरियमले उहाँलाई प्रभुमा समर्पण गर्न यरूशलेममा ल्याए, (जसरी प्रभुको व्यवस्थामा लेखिएको छ, “पहिले जन्मने हरेक जेठो पुत्र प्रभुका निम्ति पवित्र गरिनेछ”), अनि “एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा” भनी प्रभुको व्यवस्थाले भनेजस्तै तिनीहरू बलिदान चढाउन गए। त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए। प्रभुका ख्रीष्टलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट गरिएको थियो।
लूका 2:15-26 पवित्र बाइबल (NERV)
ती स्वर्गदूतहरूले गोठालाहरूलाई छोडे अनि स्वर्गतिर प्रस्थान गरे। गोठालाहरूले आपसमा कुरा गरे, “अब हामी बेतलेहेम जाऊँ, अनि के भएको छ हेरौं जसको विषयमा परमप्रभु परमेश्वरले हामीलाई थाहा दिनु भएको छ।” तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अनि बालक डूँडमा सुतिरहेको थियो। गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए। गोठालाहरूको कुरा सुनेर सबै छक्क परे। मरियमले यी सबै कुराहरू आफ्नै हृदयमा राखिन र ती विषयहरूमा सोचिरहिन्। गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घट्नाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेंडा़हरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो। जब बालक आठ दिनको भयो, उसको खतना गरियो अनि येशू नाउँ राखियो। यो त्यही नाउँ हो जुन बालक गर्भमा आउनअघि नै स्वर्गदूतले भनेका थियो। मोशाको व्यवस्था अनुसार जब मरियम र येशूलाई चोख्याउने दिन आइपुग्यो तिनीहरूले बालकलाई परमप्रभु अघि समर्पण गराउन यरूशलेम लगे। परमप्रभुको व्यवस्थामा यस्तो लेखिएको छः “यदि कुनै परिवारमा पहिलो सन्तान पुरुष जन्मे ऊ परमप्रभुको निम्ति ‘पवित्र मानिन्छ।’” अनि, “तिमीले एक जोडी ढुकुर अथवा एक जोडी बच्चा परेवा बलिदान स्वरूप प्रदान गर्नुपर्छ।” अनि यसकारण परमप्रभुको व्यवस्था अनुसार यो बलिदान प्रदान गर्न यरूशलेममा गए। शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो। परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो।
लूका 2:15-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
स्वर्गदूतहरू स्वर्गतिर फर्केपछि गोठालाहरूले आपसमा भने, “लौ, प्रभु परमेश्वरले हामीलाई भन्नुभएको कुरा बेथलेहेममा हेर्न जाऔं” र तिनीहरू दगुरेर गए। त्यहाँ तिनीहरूले मरियम, योसेफ र डुँडमा सुताइराखेको बालकलाई देखे। गोठालाहरूले बालकको बारेमा स्वर्गदूतले भनेका कुरा सबैलाई सुनाइदिए। यी कुराहरू सुन्ने जति सबै छक्क परे। तर मरियमले चाहिँ यी सबै कुरा गहिरोसँग विचार गरेर मनैमा राखिन्। भेडा गोठालाहरूले स्वर्गदूतले भनेजस्तै सुन्न र देख्न पाएकोले परमेश्वरको महिमा र प्रशंसा गर्दै फर्केर गए। आठौँ दिनमा बालकलाई इस्राएली व्यवस्थाअनुसार गरिने खतना गर्दा उहाँको नाउँ येशू राखियो, जुन नाउँचाहिँ उहाँ आमाको कोखमा रहनुभन्दा पहिले नै स्वर्गदूतले राख्नू भनेका थिए। मोशाले दिएको व्यवस्थाअनुसार जब उहाँहरूको चोखिने समय पूरा भयो, उहाँका आमा-बुबाले उहाँलाई यरूशलेमको मन्दिरमा परमेश्वरको सामु ल्याए किनभने प्रभु परमेश्वरको व्यवस्थामा लेखिएको छ, “प्रत्येक जेठा छोरा परमेश्वरको निम्ति पवित्र कहलाइनेछ।” साथै प्रभु परमेश्वरको व्यवस्थाले भनेजस्तै ढुकुर वा परेवाको एक जोर बचेरा पनि बलि चढाउनुपर्थ्यो। त्यस बेला शिमियोन भन्ने मानिस यरूशलेममा बस्थे। उनी धार्मिक मानिस थिए र परमेश्वरको भक्ति गर्थे। उनले इस्राएलीहरूलाई बचाउने मानिसको बाटो हेरिरहेका थिए र पवित्र आत्मा उनीसँग हुनुहुन्थ्यो। ‘प्रभु परमेश्वरले पठाउनुहुने मुक्तिदाता ख्रीष्टलाई नदेखी तिमी मर्दैनौ’ भनेर पवित्र आत्माले उनलाई अघिबाटै थाहा दिनुभएको थियो।