लेवी 8:1-17

लेवी 8:1-17 सरल नेपाली

परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारून र त्‍यसका छोराहरूलाई मेरो पवित्र पालको ढोकामा लैजा र पूजाहारीको पोशाक, अभिषेक गर्ने तेल, पापबलिको लागि साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालो ले। त्‍यसपछि सारा जन-समुदायलाई त्‍यहाँ बोला।” मोशाले परमप्रभुको आज्ञाअनुसार गरे। इस्राएली जनसमूह भेला भएपछि तिनले भने, “जे म अब गर्न लागेको छु, त्‍यो परमप्रभुले आज्ञा गर्नुभएको हो।” मोशाले हारून र तिनका छोराहरूलाई सामुन्‍ने ल्‍याए र तिनीहरूलाई रीतिअनुसार नुहाउन लगाए। उनले हारूनलाई अलखा र लबेदा लाइदिए, कम्‍मरमा पटुका बाँधिदिए र एपोद पहिर्‍याइदिएर त्‍यसको राम्ररी बुनेको पेटी कम्‍मरमा बाँधिदिए। उनले तिनलाई छाती-पाता लाइदिए, त्‍यसमा ‘ऊरीम र तुम्‍मीम’ राखिदिए, टाउकोमा फेटा बाँधिदिए र त्‍यसमा अघिल्तिर अभिषेक भएको पवित्र चिन्‍हको रूपमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार सुनको पाता लाइदिए। तब मोशाले अभिषेक गर्ने तेल लिएर परमप्रभुको पवित्र पाल र त्‍यसमा भएका सबै चीजबीजमा लाइदिए र त्‍यसरी ती सबै परमप्रभुलाई अर्पण गरे। केही तेल लिएर तिनले वेदी र त्‍यसका सर-सामान, पानी हाल्‍ने भाँडो र त्‍यसका आसनमा सातपल्‍ट छर्के र ती परमप्रभुलाई अर्पण गरे। तिनले हारूनलाई टाउकोमा केही अभिषेक गर्ने तेल खन्‍याइदिएर अभिषेक गरे। त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई अघि ल्‍याए र तिनीहरूलाई परमप्रभुले आज्ञा गर्नुभएअनुसार अलखा लगाइदिए, कम्‍मरमा पटुका बाँधिदिए र टाउकोमा टोपी लाइदिए। तब मोशाले पापबलिको साँढे ल्‍याए र तिनका छोराहरूले त्‍यसको शिरमा हात राखे। मोशाले त्‍यसलाई मारे र त्‍यसको रगत लिएर औँलाले वेदीका कुना-कुनाका चोसाहरूमा लाएर वेदीलाई शुद्ध पारे। तब तिनले बाँकी रगत वेदीको फेदमा खन्‍याए। त्‍यसरी तिनले वेदीलाई अर्पण गरेर पवित्र गरे। मोशाले साँढेको भित्री अङ्गहरूमा भएका सबै बोसो, कलेजोको उत्तम भाग र बोसोसमेत मृगौला लिएर वेदीमाथि जलाए। तिनले बाँकी साँढे, त्‍यसका छाला, मासु र आन्‍द्राहरू सबै लिए र परमप्रभुले आज्ञा गर्नुभएअनुसार छाउनीको बाहिर जलाए।

लेवी 8 पढ्नुहोस्