याकूब 1:12-27

याकूब 1:12-27 सरल नेपाली

जाँचको बेलामा टिक्‍न सक्‍ने मानिस नै धन्‍यको हो। दु:खमा स्‍थिर रहनेले नै परमेश्‍वरलाई प्रेम गर्नेहरूका लागि उहाँले प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट पाउनेछ। यस्‍तो जाँचमा पर्दा कसैले पनि मलाई परमेश्‍वरले परीक्षा गर्नुभयो नभनोस्। परमेश्‍वर दुष्‍ट कुराको परीक्षामा पर्नुहुन्‍न र उहाँले अरूलाई पनि परीक्षामा पार्नुहुन्‍न। प्रत्‍येक मानिस आफ्‍नै खराब इच्‍छाले बरालिएर परीक्षामा पर्छ। यसैकारण आफ्‍नो खराब इच्‍छाले पाप जन्‍माउँछ। त्‍यही पाप पूरा बढेर मृत्‍यु ल्‍याउँछ। प्रिय भाइहरू, तिमीहरूले आफैंलाई धोखा नदेओ। हरेक उत्तम र सिद्ध दान माथिबाट आउँछ। आकाश मण्‍डलमा ज्‍योतिहरू सृजना गर्नुहुने परमेश्‍वरबाट यी दान आउँछन्। उहाँ कहिले फेरिनुहुन्‍न, उहाँ नता बदलिने छायाजस्‍तो हुनुहुन्‍छ। हामी सृष्‍टिका पहिला फलहरूजस्‍तै हुन सकौं भनेर उहाँले आफ्‍नै इच्‍छाद्वारा सत्‍य वचनले हामीलाई सिर्जनुभएको छ। मेरा प्‍यारा भाइहरू, यो कुरा तिमीहरू सम्‍झिराख। सुन्‍नमा चनाखो, बोल्‍नमा होशियार र कम रिसाउने होओ किनभने मानिसको रिसले परमेश्‍वरको मनपर्ने काममा बाधा दिन्‍छ। यसकारण सबै यस्‍ता नराम्रा स्‍वभाव र घिनलाग्‍दा बानीबाट अलग होओ। नम्र भएर तिमीहरूका हृदयमा राखिएका परमेश्‍वरका वचनलाई आफ्‍नो पार किनभने तिमीहरूलाई जोगाउने त त्‍यसैले हो। तर यो वचन पालन गर्ने होओ, आफूलाई धोखा दिंदै सुन्‍ने मात्र होइन। वचन सुन्‍ने तर पालना नगर्नेचाहिँ ऐनामा आफ्‍नो अनुहार हेर्ने मान्‍छेजस्‍तै हो। उसले ऐनामा हेरुञ्‍जेल आफ्‍नो अनुहार देख्‍छ, हेर्न छोडेपछि आफू कस्‍तो थिएँ भन्‍ने झट्टै बिर्सिहाल्‍छ। तर जसले मानिसहरूलाई छुटकारा दिने सिद्ध नियम सुनेर भुलिहाल्‍दैन तर नियालेर हेरी ध्‍यान लगाउँछ अनि पालन गर्छ, त्‍यसका सबै काममा परमेश्‍वरले आशिष् दिनुहुन्‍छ। कसैले आफूलाई धर्मी सम्‍झिन्‍छ, तर आफ्‍नो जिब्रोचाहिँ तह लाउँदैन भने उसले आफैंलाई धोखा दिन्‍छ अनि उसको धर्म-कर्म व्‍यर्थै हुन्‍छ। परमेश्‍वर पितालाई मनपर्दो साँचो धर्म-कर्मचाहिँ दु:खमा परेका विधवा र टुहुरा-टुहुरीको हेर-विचार गर्नु अनि संसारका नराम्रा कुराबाट अलग रहनु हो।

याकूब 1 पढ्नुहोस्