याकूब 1:12-27
याकूब 1:12-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न। तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ। मेरा प्यारा भाइ हो, धोकामा नपर। हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन। उहाँले आफ्नै इच्छाले सत्यको वचनद्वारा हामीलाई जन्म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्टिको एक अगौटे फलजस्तो बन्न सकौं। मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ। किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन। यसैकारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ। तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ। कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने, त्यो एउटा यस्तो मानिसजस्तो हुन्छ, जसले आफ्नो अनुहार ऐनामा हेर्छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ, र त्यो आफै कस्तो थियो, त्यो तुरुन्तै बिर्सिहाल्छ। तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ, अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष् पाउनेछ। यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ, र आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थ हुन्छ। परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।
याकूब 1:12-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ। परीक्षामा पर्दा कसैले पनि “परमेश्वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्ट कुराहरूबाट परमेश्वर परीक्षित हुन सक्नुहुन्न, न त उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ। तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ। त्यसपछि त्यो खराब इच्छाले गर्भधारण गरेर पापलाई जन्माउँछ; अनि पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ। त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, धोकामा नपर! हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न। सृष्टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्नुभयो। मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होस्; किनकि मानिसको रिसले परमेश्वरले चाहनुभएको धार्मिकताको काम गर्दैन। यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्टतालाई त्याग; अनि तिमीहरूमा रोपिएको वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ। वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर। जसले वचन सुन्छ, तर यसले के भन्छ, सो गर्दैन, त्यो एउटा यस्तो मानिस हो, जसले आफ्नो अनुहार ऐनामा हेर्छ; अनि आफूलाई हेरिसकेपछि ऊ गइहाल्छ; तब ऊ कस्तो देखिन्छ, सो झट्टै बिर्सिहाल्छ। तर जसले स्वतन्त्रता दिने सिद्ध व्यवस्थालाई ध्यानसित हेर्छ, र आफूले सुनेको कुरालाई नबिर्सी गरिरहन्छ; तब त्यसले गरेको काममा त्यसले आशिष् पाउँछ। यदि कसैले आफैँलाई धर्मी सम्झन्छ र पनि आफ्नो जिब्रोमा लगाम लाउँदैन भने उसले आफूलाई धोका दिन्छ र त्यसको धर्मचाहिँ व्यर्थको हुन्छ। हाम्रा पिता परमेश्वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो, अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्टमा हेरचाह गर्नु; अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु हो।
याकूब 1:12-27 पवित्र बाइबल (NERV)
त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन। एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फँसाउँछ। दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढ़छ, यसले मृत्यु जन्माउँछ। मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन। सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ। सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो। मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ, चाँडो सुन्ने, बिस्तारै बोल्ने र ढिलो रिसाउने गर। एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन। यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदेऊ। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको ह्रदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउँनेछ। परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ। यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुशरण गर्दैन भने ऊ यस्तो हुन्छ ऊ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ। यो मान्छेले ऊ आफैंलाई देख्छ, त्यस पछि जान्छ अनि ऊ कस्तो देखिएको थियो सो झट्टै बिर्सिहाल्छ। तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ। कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन। पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।
याकूब 1:12-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जाँचको बेलामा टिक्न सक्ने मानिस नै धन्यको हो। दु:खमा स्थिर रहनेले नै परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट पाउनेछ। यस्तो जाँचमा पर्दा कसैले पनि मलाई परमेश्वरले परीक्षा गर्नुभयो नभनोस्। परमेश्वर दुष्ट कुराको परीक्षामा पर्नुहुन्न र उहाँले अरूलाई पनि परीक्षामा पार्नुहुन्न। प्रत्येक मानिस आफ्नै खराब इच्छाले बरालिएर परीक्षामा पर्छ। यसैकारण आफ्नो खराब इच्छाले पाप जन्माउँछ। त्यही पाप पूरा बढेर मृत्यु ल्याउँछ। प्रिय भाइहरू, तिमीहरूले आफैंलाई धोखा नदेओ। हरेक उत्तम र सिद्ध दान माथिबाट आउँछ। आकाश मण्डलमा ज्योतिहरू सृजना गर्नुहुने परमेश्वरबाट यी दान आउँछन्। उहाँ कहिले फेरिनुहुन्न, उहाँ नता बदलिने छायाजस्तो हुनुहुन्छ। हामी सृष्टिका पहिला फलहरूजस्तै हुन सकौं भनेर उहाँले आफ्नै इच्छाद्वारा सत्य वचनले हामीलाई सिर्जनुभएको छ। मेरा प्यारा भाइहरू, यो कुरा तिमीहरू सम्झिराख। सुन्नमा चनाखो, बोल्नमा होशियार र कम रिसाउने होओ किनभने मानिसको रिसले परमेश्वरको मनपर्ने काममा बाधा दिन्छ। यसकारण सबै यस्ता नराम्रा स्वभाव र घिनलाग्दा बानीबाट अलग होओ। नम्र भएर तिमीहरूका हृदयमा राखिएका परमेश्वरका वचनलाई आफ्नो पार किनभने तिमीहरूलाई जोगाउने त त्यसैले हो। तर यो वचन पालन गर्ने होओ, आफूलाई धोखा दिंदै सुन्ने मात्र होइन। वचन सुन्ने तर पालना नगर्नेचाहिँ ऐनामा आफ्नो अनुहार हेर्ने मान्छेजस्तै हो। उसले ऐनामा हेरुञ्जेल आफ्नो अनुहार देख्छ, हेर्न छोडेपछि आफू कस्तो थिएँ भन्ने झट्टै बिर्सिहाल्छ। तर जसले मानिसहरूलाई छुटकारा दिने सिद्ध नियम सुनेर भुलिहाल्दैन तर नियालेर हेरी ध्यान लगाउँछ अनि पालन गर्छ, त्यसका सबै काममा परमेश्वरले आशिष् दिनुहुन्छ। कसैले आफूलाई धर्मी सम्झिन्छ, तर आफ्नो जिब्रोचाहिँ तह लाउँदैन भने उसले आफैंलाई धोखा दिन्छ अनि उसको धर्म-कर्म व्यर्थै हुन्छ। परमेश्वर पितालाई मनपर्दो साँचो धर्म-कर्मचाहिँ दु:खमा परेका विधवा र टुहुरा-टुहुरीको हेर-विचार गर्नु अनि संसारका नराम्रा कुराबाट अलग रहनु हो।


