यशैया 60:1-22

यशैया 60:1-22 सरल नेपाली

हे यरूशलेम, उठ् र घामझैँ चम्‍की; परमप्रभुको गौरव तँमाथि चम्‍किरहेको छ! पृथ्‍वी र अरू जातिहरूलाई अन्‍धकारले ढाक्‍नेछ, तर तँमाथि परमप्रभुको ज्‍योति चम्‍कनेछ, उहाँको उपस्‍थितिको गौरव तँसित रहनेछ। जाति-जाति तेरो ज्‍योतितिर आउनेछन् र राजाहरू तेरो नयाँ दिनको मिरमिरे उज्‍यालोतिर। चारैतिर तेरा आँखा उठा र के भइरहेको छ, सो हेर्‌। मानिसहरू तँकहाँ आउन भेला हुन्‍छन्! तेरा छोराहरू टाढा-टाढाबाट आउनेछन् र छोरीहरूलाई सानी नानीझैँ बोकेर ल्‍याउनेछन्। त्‍यो देखेर तँ आनन्‍दले भरिनेछस्। तँ उत्तेजित भएर तेरो मन ढुकढुक हुनेछ। जाति-जातिका सम्‍पत्ति तँकहाँ ल्‍याइनेछन्। समुद्रबाट पनि धन-सम्‍पत्ति तँकहाँ आउनेछ। मिद्यान र एपाबाट ऊँटका लामा-लामा ताँतीहरू आउनेछन्, तिनीहरूले शेबाबाट सुन र धूप लिएर आउनेछन्। परमेश्‍वरले गर्नुभएका कार्यहरूको खुसीको खबर मानिसहरूले सुनाउनेछन्! केदार र नबायोतका सबै भेडाहरू बलि चढाउन तँकहाँ ल्‍याइनेछन् र तिनीहरू परमप्रभुको वेदीमा ग्रहण हुनेछन्। परमप्रभुले आफ्‍नो मन्‍दिर अझै धेरै महिमित बनाउनुहुनेछ। बादलझैँ उडी आउने, ढुकुर उड्दै गुँडमा फर्केझैँ आउने यी को हुन्? ती टाढा देशबाट आउने जहाजहरू हुन्, परमेश्‍वरका प्रजालाई लिएर ती आउँछन्। साथै सुन र चाँदी लिएर ती आउँछन्। इस्राएलका पवित्र परमेश्‍वर परमप्रभुको नामको आदर गर्न उहाँले आफ्‍ना प्रजालाई गौरवले सम्‍मानित गर्नुभयो। यरूशलेमलाई परमप्रभु भन्‍नुहुन्‍छ, “तेरा पर्खाल विदेशीहरूले फेरि बनाउनेछन् र तिनीहरूका राजाले तेरो सेवा गर्नेछन्। आफ्‍नो रिसमा मैले तँलाई दण्‍ड दिएँ, तर अब म तँलाई मेरा कृपा र निगाह देखाउनेछु। दिन र रात तेरा मूल-ढोकाहरू खुल्‍ला रहनेछन् र जाति-जातिका राजाहरू धन-सम्‍पत्ति लिएर तँकहाँ आउनेछन्। तर तेरा सेवा नगर्ने जातिहरू सम्‍पूर्णरूपले नाश गरिनेछन्। “धूपी, सतिसाल र सालका काठ, लेबनानका बनका सबैभन्दा उत्तम काठ, मेरा मन्‍दिर शोभायमान बनाउन ती काठ ल्‍याइनेछन्। तँलाई अत्‍याचार गर्नेहरूका छोरा-नातिहरू आएर तँलाई आदर गर्दै शिर निहुराएर ढोग्‍नेछन्। एक समय तँलाई तुच्‍छ ठान्‍नेहरू सबैले तेरा पाउपर्नेछन्, तिनीहरूले तँलाई ‘परमप्रभुको सहर’ र ‘इस्राएलका पवित्र परमेश्‍वरको सहर सियोन’ भन्‍नेछन्। “अब उसो तँलाई कसैले तुच्‍छ ठान्‍नेछैन, कसैले त्‍याग्‍नेछैन: तँ त्‍यागिएको र उजाड भएको सहर रहनेछैनस्। तँलाई महान् र सुन्‍दर सदाकालको निम्‍ति एउटा आनन्‍दको ठाउँ बनाउनेछु। आमाले बच्‍चालाई स्‍याहारेझैँ जाति-जाति र राजाहरूले तँलाई स्‍याहार्नेछन्। परमप्रभुले तँलाई बचाएको छु र इस्राएलका शक्तिशाली परमेश्‍वरले तँलाई छुटकारा दिनुभएको छ भनी तैँले जान्‍नेछस्। म “तँलाई काँसाको सट्टामा सुन, काठ र फलामका सट्टामा चाँदी र काँसा र ढुङ्गाको सट्टामा फलाम ल्‍याइदिनेछु। तँमाथि राज्‍य गर्नेहरूले तँलाई सताउनेछैनन्, न्‍याय र शान्‍तिले तीमाथि राज्‍य गर्नेछन्। काटमारको आवाज अब सुनिनेछैन, विनाशले तेरा देशलाई फेरि चकनाचुर पार्नेछैन। पर्खालले झैँ म तेरो रक्षा र बचाउ गर्नेछु, तैँले मेरो प्रशंसा गर्नेछस् किनभने मैले तँलाई उद्धार गरेको छु। “अब उसो दिउँसो घामले वा राती जूनले तँलाई ज्‍योति दिनुपर्नेछैन, म परमप्रभु तेरो निम्‍ति सदाकालको ज्‍योति हुनेछु, मेरो महिमाको उज्‍यालो तँमाथि चम्‍कनेछ। तेरा शोकका दिनको अन्‍त हुनेछ, म परमप्रभु घाम र जूनभन्दा अझ दिगो रहने तेरो सदाकालको ज्‍योति हुनेछु। तेरा सबै मानिसहरूले जे उचित छ, त्‍यो गर्नेछन् र देशलाई सधैँभरि आफ्‍नो अधिकारमा राख्‍नेछन्। तिनीहरू लगाइएको बिरुवा हुन्, मेरो महान्‌ता सबैलाई देखाउन मैले तिनीहरूलाई बनाएँ। तेरो सानोभन्दा सानो र नम्रभन्दा नम्र घराना पनि एउटा शक्तिशाली जाति-जातिकै महान् हुनेछ। ठीक समय आएपछि म यी कुरा चाँडो पूरा गर्नेछु, म परमप्रभु हुँ!”

यशैया 60 पढ्नुहोस्