उत्‍पत्ति 43:1-14

उत्‍पत्ति 43:1-14 सरल नेपाली

कनानमा अनिकाल बढ्‌यो। मिश्रबाट ल्‍याएको अन्‍न याकूबका परिवारले खाइसके। याकूबले छोराहरूलाई भने, “जाओ, फेरि हाम्रा निम्‍ति केही अन्‍न किनी ल्‍याओ।” यहूदाले तिनलाई भने, “ती मानिसले तिम्रो भाइलाई साथमा लिई आएनौ भने मेरो सामु आउन पाउनेछैनौ भनी हामीलाई भनेका छन्। भाइलाई हामीसित पठाउन राजी हुने भए हामी गएर अन्‍न किनिल्‍याउनेछौं होइन भने हामी जाँदैनौं किनभने भाइ साथमा छैन भने ती मानिसले हामीलाई छेउ पर्न दिनेछैनन्।” याकूबले भने, “तिमीहरूले किन ती मानिसलाई हाम्रो अर्को भाइ छ भन्‍यौ? किन तिमीहरूले मलाई यसरी कष्‍ट दिएको?” तिनीहरूले उत्तर दिए, “ती मानिसले हामी र हाम्रा परिवारबारे सोधिरहे। ‘के तिम्रा बुबा जिउँदै छन्? तिमीहरूको अर्को भाइ छ?’ भनेर सोधे। हामीले जवाफ नदिइभएन। भाइ लिएर आउनू भन्‍छन् भनी हामीले कसरी जान्‍नु र?” यहूदाले बुबालाई भने, “केटालाई मेरो जिम्‍मा लाएर पठाइदिनुहोस् र हामी हिँडिहाल्‍नेछौं। तब हामी कोही पनि भोकले मर्नुपर्नेछैन। म मेरो प्राणको जमानी दिन्‍छु, त्‍यसको लागि मलाई जिम्‍मेवार बनाउनुहोस्। त्‍यसलाई मैले कुशलै तपाईंकहाँ ल्‍याइपुर्‍याइनँ भने म सधैँ त्‍यसको दोषी हुनेछु। हामीले यति ढीलो नगरेको भए हामी दुईपल्‍ट गएर आउन सक्‍नेथियौं।” बुबाले तिनीहरूलाई भने, “त्‍यसो नगरी हुँदैन भने हाम्रो देशमा भएका सबैभन्दा राम्रा कुराहरू बडा-हाकिमलाई सौगात लिएर जाओ। अलिकति सुगन्‍धित लेप, मह, मरमसला, पेस्‍ता र हाडे-बदाम लिएर जाओ। रकम दोब्‍बर लिएर जाओ किनभने तिम्रा धोक्रामा हाली फर्काइदिएको रकम पनि दिनुपर्नेछ। हुन सक्‍छ, त्‍यो भुलले भएको थियो। भाइलाई लिएर जाओ र छिट्टै फर्किहाल। सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसलाई तिमीहरूमाथि दयालु बनाऊन् र तिनले बेन्‍यामीन र अर्को भाइलाई तिमीहरूसितै फर्काइदेऊन्। मैले मेरा छोराहरू गुमाउनुपर्ने हो भने त्‍यस्‍तै होस्।”

उत्‍पत्ति 43 पढ्नुहोस्