उत्‍पत्ति 43:1-14

उत्‍पत्ति 43:1-14 NNRV

त्‍यस देशमा अझ भयङ्कर अनिकाल थियो। जब मिश्रबाट ल्‍याएको अनाज उनीहरूले खाइसके, तब उनीहरूका बाबुले उनीहरूलाई भने, “हाम्रा निम्‍ति अलिकता अनाज किन्‍न फेरि जाओ।” तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई ‘तिमीहरूको भाइलाई तिमीहरूका साथमा नल्‍याउञ्‍जेल मेरो सम्‍मुख आउन पाउनेछैनौ’ भनेर कड़ा चेताउनी दिएका छन्‌। तपाईंले भाइलाई हाम्रो साथमा पठाउनुहुन्‍छ भने मात्र हामी गएर तपाईंको निम्‍ति अनाज किनेर ल्‍याउनेछौं। तर त्‍यसलाई पठाउनुहुन्‍न भनेता हामी जानेछैनौं, किनभने ती मानिसले हामीलाई भनेका छन्‌ कि ‘तिमीहरूको भाइ तिमीहरूसित नहोउञ्‍जेल तिमीहरू मेरो सम्‍मुख आउन पाउनेछैनौ’।” इस्राएलले भने, “तिमीहरूको अर्को भाइ छ भनी ती मानिसलाई बताएर तिमीहरूले ममाथि किन यस्‍तो संकष्ट ल्‍यायौ?” उनीहरूले जवाफ दिए, “ती मानिसले यसो भनेर हामी र हाम्रा कुटुम्‍बका विषयमा केरकार गरी सोधपूछ गरे, ‘के तिमीहरूका बुबा अझै जीवितै छन्‌? के तिमीहरूको अरू भाइ पनि छ?’ हामीले त यी नै प्रश्‍नका जवाफ मात्र तिनलाई दियौं। तिनले हामीलाई ‘तिमीहरूको भाइलाई यहाँ ल्‍याओ’ भन्‍लान्‌ भनी हामीले कसरी जान्‍नु?” तब यहूदाले आफ्‍ना बुबा इस्राएललाई भने, “यस केटालाई मेरो साथमा पठाइदिनुहोस्, र हामी गइहाल्‍नेछौं, कि हामी र तपाईं र हाम्रा बालबच्‍चासमेत नमरौं तर जीवितै रहौं। यसको जमानी म भएँ। मेरै हातबाट फेरि तपाईंले यसलाई लिनुहोला। यदि मैले यसलाई फर्काएर ल्‍याइनँ भने र तपाईंको सामु राखिनँ भने, म सदाको निम्‍ति दोषी ठहरिनेछु। हामीले ढिलो नगरेको भए हामी दुई पल्‍टसम्‍म ओहोरदोहोर गर्न सक्‍नेथियौं।” तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने, “यदि यसो हुनैपर्छ भने यसो गर: यस देशका बढ़िया-बढ़िया उब्‍जनीहरू, अलिक सुगन्‍धित लेप, अलिकता मह, सुगन्‍धित मसला, मूर्र, पेस्‍ता र हाड़े-बदाम ती मानिसको निम्‍ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेओ। तिमीहरूसँग दोबर चाँदी पनि लैजाओ, किनभने जुन चाँदी तिमीहरूका धोक्राको मुखमा थियो त्‍यो फिर्ता गर्नुपर्छ। शायद त्‍यो भूलले भएको होला। आफ्‍नो भाइलाई पनि साथमा लिएर ती मानिसकहाँ फेरि जाओ। तिमीहरूको अर्को भाइ र बेन्‍यामीनलाई छुटकारा दिन ती मानिसको सामुन्‍ने सर्वशक्तिमान्‌ परमेश्‍वरले तिमीहरूमाथि कृपा गरून्‌। म निर्वंश हुनैपर्छ भने होस्‌।”