उत्‍पत्ति 3:6-15

उत्‍पत्ति 3:6-15 सरल नेपाली

त्‍यो रूख हेर्नमा कति सुन्‍दर अनि त्‍यसका फल खानलाई कति रहरलाग्‍दा थिए, त्‍यो स्‍त्रीले देखिन्‌। ज्ञानी हुन पाए कति असल हुनेथियो, उनले सोचिन्‌। उनले केही फल टिपेर खाइन्‌, केही आफ्‍ना लोग्‍नेलाई दिइन्‌ र उनले पनि त्‍यो खाए। त्‍यो खाने बित्तिकै तिनीहरूले समझशक्ति पाए र आफू नाङ्गै रहेछौं भनी चाल पाए। यसकारण तिनीहरूले नेभाराको पात गाँसेर त्‍यसले आफ्‍ना शरीर ढाके। त्‍यही बेलुका तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा डुलिरहनुभएको सुने र रूखका बीचमा उहाँका सामुदेखि लुके। तर परमप्रभु परमेश्‍वरले “तँ कहाँ छस्?” भनी मानिसलाई बोलाउनुभयो। उनले जवाफ दिए, “मैले तपाईंको सोर बगैँचामा सुनें। म नाङ्गै थिएँ, यसैले म डराएँ र तपाईंदेखि लुकें।” “तँ नाङ्गै छस् भनेर कसले तँलाई भन्‍यो? मैले नखानू भनेको फल तैँले खाइस् कि कसो?” परमेश्‍वरले सोध्‍नुभयो। मानिसले उत्तर दिई भने, “यहाँ मसँग रहन तपाईंले दिनुभएको स्‍त्रीले मलाई त्‍यो फल दिई र मैले खाएँ।” परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई सोध्‍नुभयो, “किन तैँले त्‍यसो गरिस्?” उनले भनिन्‌, “साँपले पो मलाई छल गरेर त्‍यो खान लायो।” तब परमप्रभु परमेश्‍वरले साँपलाई भन्‍नुभयो, “यसको लागि तैँले दण्‍ड पाउनेछस् र सबै पशुहरूमध्‍ये तैँले मात्र यो सराप पाउनेछस्। अबदेखि उसो पेटको बलले घस्रेर तँ हिँड्‍नेछस् र जीवनभरि माटो खानेछस्। म तँलाई र स्‍त्रीलाई आपसमा घृणा गर्न लाउनेछु, तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बिचमा म दुश्मनी हालिदिनेछु र त्‍यसको सन्‍तानले तेरो टाउको कुच्‍च्‍याउनेछ र तैँले त्‍यसको सन्‍तानको कुर्कुच्‍चा ठुँग्‍नेछस्।”

उत्‍पत्ति 3 पढ्नुहोस्

उत्‍पत्ति 3:6-15 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति