गलाती 6:7-18

गलाती 6:7-18 सरल नेपाली

आफैंलाई धोखा नदेओ। परमेश्‍वरलाई कसैले पनि ठग्‍न सक्‍नेछैन। मानिसले जेको खेती लाउँछ, त्‍यसैको बाली उठाउँछ। यदि कसैले शारीरिक स्‍वभावको खेती लाउँछ भने मृत्‍युको बाली उठाउनेछ। आत्‍माको खेती गर्नेले आत्‍माबाट नै अजम्‍मरी जीवनको बाली उठाउँछ। भलाइ गर्न नथाकौं किनभने यसमा लागिरह्यौं भने समयमा यसको फल हामीले पाउनेछौं। यसकारण मौका मिल्‍नासाथ हामीले सबैको भलाइ गर्नुपर्छ, खासगरी ख्रीष्‍टमा विश्‍वास गर्नेहरूका घरानाको मानिसहरूलाई भलाइ गर्नुपर्छ। मैले आफ्‍नै हातले ठूला-ठूला अक्षरमा तिमीहरूलाई यो लेखेको छु। बाहिरी देखावटी कुरा चाहनेहरूले नै खतना चाहिन्‍छ भनी तिमीहरूलाई कर लाउँछन्। यो कुरो उनीहरू क्रूसमा दिएको ख्रीष्‍टको बलिदानले गर्दा खेदो आइनपरोस् भनेर जोगिनलाई मात्र भन्‍दछन्। खतना लिनेहरू आफैं पनि व्यवस्थाले भनेझैँ गर्दैनन्। तर खतनाको रीति पालन गर्न लाग्‍यौं भनी घमण्‍ड गर्न मात्र उनीहरू तिमीहरूलाई गर्न लगाउँछन्। तर मचाहिँ अरू कुरामा होइन, येशू ख्रीष्‍टको क्रूसमा मात्र घमण्‍ड गर्छु। उहाँको क्रूसले गर्दा मेरो लागि संसार मरेको छ र संसारको लागि म मरेको छु। खतना लाए पनि, नलाए पनि केही हुँदैन, तर नयाँ सृष्‍टि हुनुचाहिँ मुख्‍य कुरो हो। यस कुरालाई जीवनमा पालन गर्ने जति र परमेश्‍वरका सबै जनमाथि शान्‍ति र दया रहोस्। अब मलाई यस कुरामा कसैले दु:ख नदेओस्। येशूको कमारो हुँ भनी देखाउने चोटका दागहरू मैले मेरो शरीरमा बोकेको छु। हे दाजुभाइहरू, तिमीहरूको आत्‍मामा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस्। आमेन।

गलाती 6 पढ्नुहोस्