गलाती 6:7-18

गलाती 6:7-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ। जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ। भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं। यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌। हेर, म कति ठूला-ठूला अक्षरहरूले आफ्‍नै हातले तिमीहरूलाई लेखिरहेछु। ख्रीष्‍टका क्रूसको कारणले सतावटमा नपरून्‌ भनी बाहिरी तवरले सब ठीक देखिन चाहनेहरूले नै तिमीहरूलाई खतना गर्न कर लाउँछन्‌। किनकि खतना गर्नेहरू आफै पनि व्‍यवस्‍था पालन गर्दैनन्, तर तिमीहरूको शरीरमा घमण्‍ड गर्नको निम्‍ति तिमीहरूले खतना गरेको तिनीहरू चाहन्‍छन्‌। हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्‍ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रूसमा झुण्‍ड्याइएको छ। न त खतनाको केही महत्त्व छ, न बेखतनाको, तर नयाँ सृष्‍टि नै सब थोक हो। अब जो-जति यस नियममा चल्‍दछन्, तिनीहरूमाथि र परमेश्‍वरका इस्राएल जातिमाथि शान्‍ति र कृपा रहोस्‌। अबदेखि उसो कसैले मलाई कष्‍ट नदेओस्, किनभने म आफ्‍नो शरीरमा येशूका डामहरू धारण गर्दछु। भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्‍मासँग रहोस्‌। आमेन।

शेयर गर्नुहोस्
गलाती 6 पढ्नुहोस्

गलाती 6:7-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

धोकामा नपर: परमेश्‍वरलाई झुक्याउन सकिँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्दछ। जसले आफ्नो शरीरको पापमय स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी पनि गर्नेछ। तर जसले परमेश्‍वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्‍वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ। यसकारण मौका छँदै सबै मानिसहरूको भलाइ गर्दै जाऔँ, विशेष गरी विश्‍वासमा हुने परिवारलाई भलाइ गरौँ। हेर, मैले तिमीहरूलाई आफ्नै हातले कति ठूला-ठूला अक्षरमा पत्र लेखेको छु। जो पापमय स्वभावद्वारा मानिसहरूलाई प्रभाव पार्न चाहन्छ, तिनीहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। उनीहरूले यसो गराउनुको कारणचाहिँ ख्रीष्‍टको क्रूसको सन्देशबाट हुने सतावटबाट जोगिन मात्र हो। खतना गर्नेहरूले पनि व्यवस्था पालन गर्दैनन्, तापनि तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्, ताकि तिमीहरूको शरीरको खतनामा उनीहरूले घमण्ड गर्न सकून्। मैले हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रूसमा बाहेक अरू कुनै कुरामा घमण्ड गर्न नपरोस्, जसद्वारा संसार मेरा निम्ति, र मचाहिँ संसारका निम्ति क्रूसमा टाँगिएको छ। खतनाको होस् वा बेखतनाको होस् कुनै अर्थ छैन, तर ख्रीष्‍टमा भएको नयाँ सृष्‍टिचाहिँ अर्थपूर्ण छ। यो नियम पालन गर्ने सबै जना र परमेश्‍वरको इस्राएलमाथि शान्ति र कृपा रहून्। अन्त्यमा, अब उसो कसैले मलाई कष्‍ट नदेओस्; किनकि मैले मेरो शरीरमा येशूका डामहरू धारण गरेको छु। दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन।

शेयर गर्नुहोस्
गलाती 6 पढ्नुहोस्

गलाती 6:7-18 पवित्र बाइबल (NERV)

आफूले आफैंलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ। यदि कसैले आफ्नै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ। राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं। जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्। यो म आफैं लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु। कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्। जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफैं व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफूमा गर्व गर्छन्। म चाँहि त्यस्ता कुरामा गर्व गर्दिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु। खतना किन गर्नु? त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु। यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्। अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ। मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन।

शेयर गर्नुहोस्
गलाती 6 पढ्नुहोस्

गलाती 6:7-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आफैंलाई धोखा नदेओ। परमेश्‍वरलाई कसैले पनि ठग्‍न सक्‍नेछैन। मानिसले जेको खेती लाउँछ, त्‍यसैको बाली उठाउँछ। यदि कसैले शारीरिक स्‍वभावको खेती लाउँछ भने मृत्‍युको बाली उठाउनेछ। आत्‍माको खेती गर्नेले आत्‍माबाट नै अजम्‍मरी जीवनको बाली उठाउँछ। भलाइ गर्न नथाकौं किनभने यसमा लागिरह्यौं भने समयमा यसको फल हामीले पाउनेछौं। यसकारण मौका मिल्‍नासाथ हामीले सबैको भलाइ गर्नुपर्छ, खासगरी ख्रीष्‍टमा विश्‍वास गर्नेहरूका घरानाको मानिसहरूलाई भलाइ गर्नुपर्छ। मैले आफ्‍नै हातले ठूला-ठूला अक्षरमा तिमीहरूलाई यो लेखेको छु। बाहिरी देखावटी कुरा चाहनेहरूले नै खतना चाहिन्‍छ भनी तिमीहरूलाई कर लाउँछन्। यो कुरो उनीहरू क्रूसमा दिएको ख्रीष्‍टको बलिदानले गर्दा खेदो आइनपरोस् भनेर जोगिनलाई मात्र भन्‍दछन्। खतना लिनेहरू आफैं पनि व्यवस्थाले भनेझैँ गर्दैनन्। तर खतनाको रीति पालन गर्न लाग्‍यौं भनी घमण्‍ड गर्न मात्र उनीहरू तिमीहरूलाई गर्न लगाउँछन्। तर मचाहिँ अरू कुरामा होइन, येशू ख्रीष्‍टको क्रूसमा मात्र घमण्‍ड गर्छु। उहाँको क्रूसले गर्दा मेरो लागि संसार मरेको छ र संसारको लागि म मरेको छु। खतना लाए पनि, नलाए पनि केही हुँदैन, तर नयाँ सृष्‍टि हुनुचाहिँ मुख्‍य कुरो हो। यस कुरालाई जीवनमा पालन गर्ने जति र परमेश्‍वरका सबै जनमाथि शान्‍ति र दया रहोस्। अब मलाई यस कुरामा कसैले दु:ख नदेओस्। येशूको कमारो हुँ भनी देखाउने चोटका दागहरू मैले मेरो शरीरमा बोकेको छु। हे दाजुभाइहरू, तिमीहरूको आत्‍मामा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस्। आमेन।

शेयर गर्नुहोस्
गलाती 6 पढ्नुहोस्

गलाती 6:7-18

गलाती 6:7-18 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्