प्रस्‍थान 1:1-14

प्रस्‍थान 1:1-14 सरल नेपाली

आ-आफ्‍ना परिवार लिएर मिश्रमा इस्राएलसित जाने उनका छोराहरू रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून, बेन्‍यामीन, दान, नप्‍ताली, गाद र आशेर थिए। याकूबका यी सन्‍तानको कुल सङ्‍ख्‍या सत्तरी थियो। उनको छोरा योसेफ अघिबाटै मिश्रमा थिए। रहँदा-बस्‍दा योसेफ तिनका दाजुभाइहरू र त्‍यस पिँढीका सबै मरे। तर तिनका इस्राएली सन्‍तानहरूका धेरै बालबच्‍चाहरू भए। तिनीहरू असङ्‍ख्य अनि अति शक्तिशाली भए। सारा मिश्र इस्राएलीहरूले भरियो। तब मिश्रमा योसेफको बारेमा केही नजान्‍ने एउटा नयाँ राजाले राज्‍य गर्न थाले। तिनले आफ्‍नो प्रजालाई भने, “यी इस्राएलीहरू यति धेरै शक्तिशाली भएका छन् कि अब हामीलाई डर भयो। कतै लडाइँ भइगयो भने तिनीहरू हाम्रा शत्रुहरूपट्टि लागेर हाम्रा विरुद्धमा लड्लान् र यो देशबाट भागेर जालान्। केही उपाय गरेर हामीले तिनीहरूको सङ्‍ख्‍या अझ बढ्‍नबाट रोक्‍नुपर्छ।” यसैकारण मिश्रीहरूले तिनीहरूमाथि निष्‍ठुरी मानिसहरू खटाए, जसले तिनीहरूलाई कठोर र गाह्रो काम लगाएर तिनीहरूको मनलाई मार्ने काम गर्थे। राजकीय सर-सामान भण्‍डारको लागि इस्राएलीहरूले पिताम र रामसेस सहरहरू बनाए। तर मिश्रीहरूले जति-जति इस्राएलीहरूलाई थिचोमिचो गरे, उति-उति तिनीहरूको सङ्‍ख्‍या बढ्यो र तिनीहरू देशमा झन्-झन् फैलँदै गए। मिश्रीहरू तिनीहरूसित डराउन थाले, निष्‍ठुरतासँग कमाराको काममा पेलेर इस्राएलीहरूको जीवन कष्‍टमय पारिदिए। घर निर्माण गर्ने काम र इँटाको काम अनि खेतको काममा तिनीहरूलाई मिश्रीहरूले जोत्‍दथे र केही दया गर्दैनथे।

प्रस्‍थान 1 पढ्नुहोस्