प्रस्‍थान 1:1-14

प्रस्‍थान 1:1-14 NNRV

आ-आफ्‍नो परिवार लिएर याकूबसित मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्‌: रूबेन, शिमियोन, लेवी र यहूदा, इस्‍साखार, जबूलून, र बेन्‍यामीन, दान, नप्‍ताली, गाद र आशेर। याकूबका सन्‍तानमा जम्‍मा सत्तरी जना थिए। योसेफचाहिँ अघिबाटै मिश्रमा थिए। योसेफ र तिनका सबै दाजुभाइहरू र त्‍यस पुस्‍ताका सबै जना मरे। तर इस्राएलका सन्‍तान फल्‍दै-फुल्‍दै र संख्‍यामा अति धेरै हुँदैगए, यहाँसम्‍म कि सारा देश तिनीहरूद्वारा भरियो। तब मिश्रमा योसेफलाई नचिन्‍ने एक जना नयाँ राजाले शासन गर्न थाले। उनले आफ्‍ना प्रजालाई भने, “हेर, इस्राएलीहरू संख्‍यामा हामीभन्‍दा अति धेरै र अति शक्तिशाली भएका छन्‌। अब हामीले तिनीहरूसित बुद्धिले काम लिनुपर्छ, नत्रता तिनीहरू संख्‍यामा अझ बढ्‌दैजानेछन्, र यदि युद्ध भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हाम्रै विरुद्धमा लड़ाइँ गर्नेछन्‌ र देश छाड़ेर जानेछन्‌।” यसैकारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए, र तिनीहरूले फारोको निम्‍ति पिताम र रामसेस भन्‍ने भण्‍डारका सहरहरू बनाए। तर जति-जति उनीहरूले तिनीहरूलाई सताए उति-उति तिनीहरूको संख्‍या बढ्‌न लाग्‍यो, र तिनीहरू झन्‌-झन्‌ फैलिँदैगए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे। यसकारण मिश्रीहरूले इस्राएली जातिलाई निर्दयपूर्वक काममा लगाए, अनि मसला र इँटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनै तीतो बनाइदिए।