आमोस 2:4-16

आमोस 2:4-16 सरल नेपाली

परमप्रभु भन्‍नुहुन्‍छ, “यहूदाका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्‍यसको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिई छोड्‍नेछैनँ। तिनीहरूले मेरो व्‍यवस्‍थालाई हेला गरे र मेरा आज्ञापालन गरेनन्। तिनीहरूका पिता-पुर्खाहरूले पुजेकै देवी-देवताहरूले तिनीहरूलाई भर्माएका छन्। यसकारण म यहूदामा आगो लगाइदिनेछु र यरूशलेमका किल्‍लाहरू भस्‍म पारिदिनेछु।” परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएलका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्‍यसको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिई छोड्‍नेछैनँ। आफूले लिएको ऋण तिर्न नसक्‍ने सोझा मानिसहरू र एक जोर जुत्ताको दामसम्‍म चुकाउन नसक्‍ने गरीब मानिसहरूलाई तिनीहरूले कमारा बनाई बेचिदिन्‍छन्। तिनीहरूले गरीबहरूमाथि थिचोमिचो गर्दछन् र अत्‍याचारमा परेकाहरूलाई न्‍याय दिँदैनन्। बुबा र छोरो दुवै जना एउटै केटीसित सुत्‍दछन् र त्‍यसरी मेरो पवित्र नाममा कलङ्क लाउँदछन्। प्रत्‍येक आराधना-स्‍थलमा दरिद्रहरूबाट अन्‍यायसाथ बन्‍धक लिइएका वस्‍त्रहरूमाथि तिनीहरू सुत्‍दछन्। आफ्‍ना देवस्‍थानमा तिनीहरू जरिमानास्‍वरूप लिइएका दाखमद्य पिउँदछन्। “हे मेरा प्रजा, मैले तिमीहरूकै खातिर एमोरीहरूलाई पूरा नाश गरेको थिएँ। ती एमोरीहरू देवदारुका रूखहरूझैँ अग्‍ला र फलाँटका रूखहरूझैँ बलिया थिए तर मैले तिनीहरूलाई टुप्‍पादेखि जरैसम्‍म नाश पारें। मैले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्‍याएँ, चालीस वर्षसम्‍म उजाड-स्‍थानको बीचबाट डोर्‍याएँ र एमोरीहरूको देश तिमीहरूको निज देश बनाउनलाई दिएँ। मैले तिमीहरूका छोराहरूबाट अगमवक्ताहरू र युवाहरूबाट नाजिरीहरू चुनें। हे इस्राएलका मानिसहरू हो, के यो साँचो कुरा होइन र? म परमप्रभु, बोलेको छु। तर तिमीहरूले नाजिरीहरूलाई मद्य पिउन लगायौ र अगमवक्ताहरूलाई मेरा वचन बोल्‍न दिएनौ। यसकारण हेर, अब म तिमीहरूलाई अन्‍नले लादेको गाडाले झैँ जमिनमा किचिदिनेछु। वेगले दगुर्नेहरू पनि उम्‍कन सक्‍नेछैनन्, बलियाहरूको बल पनि काम लाग्‍नेछैन र योद्धाहरूले पनि आफैंलाई बचाउन सक्‍नेछैनन्। धनु-काँड चलाउनेहरू खडा रहन सक्‍नेछैनन्, वेगले दगुर्नेहरू उम्‍कनेछैनन् र घोडामा सवार हुनेहरूले आफ्‍ना प्राण बचाउन सक्‍नेछैनन्। त्‍यस दिन सुरवीरहरू पनि हतियार छोडेर भाग्‍नेछन्।” परमप्रभु बोल्‍नुभएको छ।

आमोस 2 पढ्नुहोस्