१ कोरिन्थी 10:14-22

१ कोरिन्थी 10:14-22 सरल नेपाली

त्‍यसैकारण प्‍यारा दाजुभाइहरू, मूर्तिपूजालाई त्‍याग। तिमीहरूलाई ज्ञानी मानिस सम्‍झेर म भन्‍दै छु। मैले भनेको कुराको जाँच गर। प्रभुभोजको कचौरा लिएर हामी परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छौं। कचौराबाट पिउँदा हामीहरू ख्रीष्‍टको रगतमा साझेदार हुन्‍छौं। होइन र? टुक्र्याएको रोटी हामीले खाँदा हामी ख्रीष्‍टको शरीरमा साझेदार हुँदैनौ र? एउटै रोटी छ। हामी धेरै भए पनि एउटै शरीर हौं। हामी सबैले एउटै रोटी बाँडेर खाएका छौं। इस्राएलीहरूको धर्म र चलनमा हेर। परमेश्‍वरलाई चढाएको खानेले परमेश्‍वरकै सेवाको वेदीबाट खान साझेदार हुन्‍छ। त्‍यसो भए म के भन्‍दै छु? मूर्तिलाई चढाएको कुरा वा खानेकुरो केही हो र? मूर्ति पनि केही चीज हो र? मैले भन्‍न लागेको कुरा के हो भने अरू मानिसहरूले परमेश्‍वरलाई होइन, भूतलाई बलि चढाउँछन्। यसैले तिमीहरू पनि भूतसँग हेलमेल नगर भन्‍ने म चाहन्‍छु। तिमीहरू प्रभुको कचौराबाट र भूतको कचौराबाट पिउन सक्‍दैनौ। त्‍यसै गरी तिमीहरू प्रभुको मेच अनि भूतको मेच दुवैबाट खान सक्‍दैनौ। के हामी प्रभुलाई रिस उठाउन खोजौं? के हामी प्रभुभन्दा बलिया छौं र?

१ कोरिन्थी 10 पढ्नुहोस्