१ कोरिन्थी 10:14-22

१ कोरिन्थी 10:14-22 NNRV

यसकारण मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग बस। समझदार मानिसहरूलाई जस्‍तै गरी म भन्‍दैछु, मैले भनेका कुरा तिमीहरू आफै विचार गर। आशिष्‌का त्यो कचौरा जुनको निम्‍ति हामी आशिष्‌ माग्‍छौं, के त्‍यो ख्रीष्‍टको रगतमा हुने सहभागिता होइन र? त्‍यो रोटी, जुन हामी भाँच्‍छौं, के त्‍यो ख्रीष्‍टको शरीरमा हुने सहभागिता होइन? किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्‍छौं। इस्राएल जातिलाई हेर, बलिदानको बस्‍तु खानेहरू, के वेदीका सहभागी भएनन्‌ र? म के भन्‍न लागिरहेछु त? के मूर्तिलाई चढ़ाएको थोक केही हो र? अथवा मूर्ति नै केही चीज हो र? त्‍यसो होइन, तर म यही भन्‍न लागिरहेछु, कि मूर्तिपूजकहरूले जो बलि चढ़ाउँछन्, त्‍यो परमेश्‍वरलाई होइन, तर भूतप्रेतलाई चढ़ाउँछन्, र तिमीहरू भूतप्रेतसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ। तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्‍दैनौ। तिमीहरू प्रभुको टेबिल र भूतप्रेतको टेबिल दुवैबाट खान सक्‍दैनौ। के हामीले प्रभुलाई डाही तुल्‍याउने? के हामी उहाँभन्‍दा शक्तिशाली छौं?