हो, मैले स्तिफनसका घरानालाई पनि बप्तिस्मा दिएँ। यसबाहेक मैले कसैलाई बप्तिस्मा दिएको थाहा छैनँ। ख्रीष्टले मलाई बप्तिस्मा दिन होइन, सुसमाचार प्रचार गर्न खटाउनुभएको हो। प्रचारमा मैले बोलीको बठ्याइँ चलाइनँ, नत्रता क्रूसमा भएको ख्रीष्टको बलिदानको शक्ति नै व्यर्थ हुनेथियो। क्रूसमा भएको ख्रीष्टको बलिदानको प्रचार नाश हुनेहरूका लागि मूर्खको कुरो हो, तर हामी बचाइएकाहरूका लागि परमेश्वरको शक्ति हो। यस्तै धर्मशास्त्रमा परमेश्वरले भन्नुभएको छ, “ज्ञानीको ज्ञानलाई नाश पार्छु र बुद्धिमान्को बुद्धिलाई रद्द गर्नेछु।” खै, ज्ञानी कहाँ छ? खै, व्यवस्थाका पण्डित? यस युगको तर्कशास्त्री खै? के परमेश्वरले संसारको ज्ञानलाई बेकम्मा बनाउनुभएन? आफ्नो ज्ञान-बुद्धिको शक्तिमा संसारको मानिसले परमेश्वरलाई चिन्न सक्नेछैन भनी परमेश्वरले नै आफ्नो ज्ञानमा ठहराउनुभयो। त्यसो हुँदा परमेश्वरले त प्रचारको मूर्ख कुराबाटै विश्वास गर्नेलाई बचाउन चाहनुभयो। यहूदीहरूले प्रमाणको लागि अचम्मको काम र ग्रीकहरूले चाहिँ ज्ञान खोज्छन्, तर हामीले चाहिँ क्रूसमा झुन्ड्याइनुभएका ख्रीष्टकै प्रचार गर्छौं। यहूदीहरूका लागि यो ठेस लाग्ने कुरो भयो अनि ग्रीकहरूका लागि यो मूर्ख कुरो ठहरियो। तर परमेश्वरले बोलाउनुभएका यहूदी र अन्य मानिसहरूका लागि चाहिँ ख्रीष्ट नै परमेश्वरको शक्ति र परमेश्वरकै ज्ञान हुनुहुन्छ किनभने परमेश्वरको मूर्ख कुरा मानिसको ज्ञानभन्दा पनि ठूलो छ र परमेश्वरको कमजोरी मानिसको शक्तिभन्दा शक्तिशाली छ। भाइहरू, परमेश्वरले बोलाउनुभएको बेला तिमीहरू कस्ता थियौ? विचार गर। संसारको स्तरअनुसार तिमीहरू धेरै जना ज्ञानी थिएनौ। धेरै जना शक्तिशाली थिएनौ। ठूला-ठूला घरानामा जन्मिएका थिएनौ। तर परमेश्वरले ज्ञानीलाई लाजमा पार्न संसारमा मूर्ख ठहरिएकाहरूलाई छान्नुभयो अनि बलियाहरूलाई लाजमा पार्न संसारका कमजोर ठहरिएकाहरूलाई चुन्नुभयो। म नै हुँ भन्नेहरूलाई लाजमा पार्न संसारले सानो र तुच्छ ठानेकाहरूलाई र काम नलाग्नेहरूलाई परमेश्वरले रोज्नुभयो। यो आफ्नो अघि कसैले घमण्ड गर्न नपाओस् भनेर नै उहाँले गर्नुभयो। उहाँले तिमीहरूलाई येशू ख्रीष्टसँगै एक बनाउनुभएको छ। उहाँकै कामले ख्रीष्ट हाम्रो ज्ञान हुनुभएको छ। हामी ख्रीष्टद्वारा परमेश्वरको अघि ठीक ठहरिन्छौं। हामी परमेश्वरका पवित्र र छुटकारा पाएका जन बन्दछौं। यसैकारण धर्मशास्त्र भन्छ, “यदि कसैले घमण्ड गर्न चाहन्छ भने प्रभुले गर्नुभएको काममा नै घमण्ड गरोस्।”
१ कोरिन्थी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 1:16-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू