१ कोरिन्थी 1:16-31
१ कोरिन्थी 1:16-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
(हो, मैले स्तिफनासको परिवारलाई पनि बप्तिस्मा दिएँ। यस उप्रान्त, मैले अरू कसैलाई बप्तिस्मा दिएँ कि दिइनँ, त्यो मलाई थाहा छैन।) किनभने बप्तिस्मा दिन होइन, तर सुसमाचार प्रचार गर्न ख्रीष्टले मलाई पठाउनुभएको हो— सांसारिक बुद्धिको कुरामा होइन, नत्रता ख्रीष्टको क्रूसको शक्ति व्यर्थ हुनेछ। किनकि नष्ट भइरहेकाहरूका निम्ति क्रूसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो। किनभने लेखिएको छ, “म बुद्धिमान्हरूको बुद्धि नष्ट पार्नेछु, र चतुरहरूको चतुर्याइँ विफल तुल्याउनेछु।” बुद्धिमान् कहाँ छ? शास्त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र? संसारले आफ्नै बुद्धिद्वारा परमेश्वरलाई चिन्न नसकेको हुनाले उहाँको बुद्धिअनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्वास गर्नेहरूलाई बचाउन परमेश्वरले उचित ठहराउनुभयो। किनकि यहूदीहरू चिन्ह माग्छन् र ग्रीकहरू बुद्धिको खोजमा छन्। तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्ति बाधा र अन्यजातिहरूका निम्ति मूर्खता हो। तर ती बोलावट भएकाहरूका निम्ति, चाहे यहूदीहरू होऊन् वा ग्रीकहरू होऊन्, ख्रीष्ट नै परमेश्वरको शक्ति र बुद्धि हुनुहुन्छ। किनभने परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ छ, र परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा शक्तिशाली छ। किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्ता थियौ? सो विचार गर। सांसारिक स्तरअनुसार तिमीहरूमध्ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ। तर बुद्धिमान्हरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। परमेश्वरले संसारका नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो। यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिऊन्, यसैले कुनै प्राणीले परमेश्वरको सामुन्ने अहङ्कार नगरोस्। परमेश्वर नै ख्रीष्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ, ख्रीष्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो। यसैले लेखिएको छ, “गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्।”
१ कोरिन्थी 1:16-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हो, मैले स्तिफनसको परिवारलाई चाहिँ बप्तिस्मा दिएको हुँ, त्यसबाहेक अरू कसैलाई पनि मैले बप्तिस्मा दिएको मलाई थाहा छैन। किनकि ख्रीष्टले मलाई बप्तिस्मा दिनलाई होइन, तर सुसमाचार प्रचार गर्नलाई पठाउनुभएको हो, जुनचाहिँ मानवीय बुद्धिका शब्दहरूमा होइन, नत्रता ख्रीष्टको क्रूसको शक्ति व्यर्थ हुनेछ। किनकि क्रूसको सन्देश नाश हुन गइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो। किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “म बुद्धिमानीहरूका बुद्धिलाई नष्ट गर्नेछु; ज्ञानीहरूका ज्ञान व्यर्थ तुल्याइदिनेछु।” बुद्धिमान् मानिस कहाँ छ? व्यवस्थाको शिक्षक कहाँ छ? यस युगको दर्शनशास्त्री कहाँ छ? के परमेश्वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र? किनकि परमेश्वरको ज्ञानअनुसार संसारले आफ्नो बुद्धिद्वारा परमेश्वरलाई चिन्न नसकेकाले, प्रचार गरिएको सुसमाचारको मूर्खताद्वारा उहाँमाथि विश्वास गर्नेहरूलाई उद्धार गर्न परमेश्वरलाई असल लाग्यो। यहूदीहरू अलौकिक चिन्हहरू खोजी गर्छन्, र ग्रीकहरू बुद्धिको खोजी गर्छन्। तर हामी त क्रूसमा टाँगिनुभएको ख्रीष्टको प्रचार गर्दछौँ, जो यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गा र गैरयहूदीहरूका निम्ति मूर्ख कुरा ठहरिनुभयो। तर परमेश्वरद्वारा बोलाइएकाहरू यहूदी र ग्रीक दुवैका निम्ति ख्रीष्ट परमेश्वरको शक्ति र परमेश्वरको बुद्धि हुनुहुन्छ। किनकि परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ र परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ। दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको बोलावट हुँदा तिमीहरू कस्ता थियौ सो विचार गर; तिमीहरूमध्ये धेरै जना मानवीय नापअनुसार बुद्धिमान् थिएनौ; धेरै जना प्रभावशाली थिएनौ; धेरै जना जन्मँदा खानदानी थिएनौ। तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारको दृष्टिमा मूर्ख ठहरिएकाहरूलाई चुन्नुभयो अनि शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका दृष्टिमा दुर्बल ठहरिएकाहरूलाई चुन्नुभयो। परमेश्वरले संसारका नीच र तुच्छ गनिएका कुराहरू—कुनै पहिचान नै नभएका कुराहरूलाई चुन्नुभयो; ताकि संसारको दृष्टिमा महत्त्वपूर्ण ठानिएका कुराहरू व्यर्थ ठहरिउन्, ताकि उहाँको सामु कसैले घमण्ड गर्न नपाओस्। उहाँकै कारण तिमीहरू ख्रीष्ट येशूमा छौ, जो परमेश्वरबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता अनि छुटकारा हुनुभयो। यसकारण धर्मशास्त्रमा यसरी लेखिएको छ, “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”
१ कोरिन्थी 1:16-31 पवित्र बाइबल (NERV)
हो, मैले स्तिफनसको परिवारलाई मात्र बप्तिस्मा दिएको हुँ। तर अरू कसैलाई म आफूले बप्तिस्मा दिएको कुराको मलाई सम्झमा छैन। ख्रीष्टले मलाई बप्तिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई शुभ-सन्देश सुनाउने काम अह्राउनु भएको छ। तर शुभ-संदेश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। शुभ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरें भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ। नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो। शास्त्रमा लेखिएको छः “म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु, बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।” ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन्। परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो। यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्। तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो। तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ। किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ। भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ। तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ। अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गर्यो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो। उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो। परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं। जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्।”
१ कोरिन्थी 1:16-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हो, मैले स्तिफनसका घरानालाई पनि बप्तिस्मा दिएँ। यसबाहेक मैले कसैलाई बप्तिस्मा दिएको थाहा छैनँ। ख्रीष्टले मलाई बप्तिस्मा दिन होइन, सुसमाचार प्रचार गर्न खटाउनुभएको हो। प्रचारमा मैले बोलीको बठ्याइँ चलाइनँ, नत्रता क्रूसमा भएको ख्रीष्टको बलिदानको शक्ति नै व्यर्थ हुनेथियो। क्रूसमा भएको ख्रीष्टको बलिदानको प्रचार नाश हुनेहरूका लागि मूर्खको कुरो हो, तर हामी बचाइएकाहरूका लागि परमेश्वरको शक्ति हो। यस्तै धर्मशास्त्रमा परमेश्वरले भन्नुभएको छ, “ज्ञानीको ज्ञानलाई नाश पार्छु र बुद्धिमान्को बुद्धिलाई रद्द गर्नेछु।” खै, ज्ञानी कहाँ छ? खै, व्यवस्थाका पण्डित? यस युगको तर्कशास्त्री खै? के परमेश्वरले संसारको ज्ञानलाई बेकम्मा बनाउनुभएन? आफ्नो ज्ञान-बुद्धिको शक्तिमा संसारको मानिसले परमेश्वरलाई चिन्न सक्नेछैन भनी परमेश्वरले नै आफ्नो ज्ञानमा ठहराउनुभयो। त्यसो हुँदा परमेश्वरले त प्रचारको मूर्ख कुराबाटै विश्वास गर्नेलाई बचाउन चाहनुभयो। यहूदीहरूले प्रमाणको लागि अचम्मको काम र ग्रीकहरूले चाहिँ ज्ञान खोज्छन्, तर हामीले चाहिँ क्रूसमा झुन्ड्याइनुभएका ख्रीष्टकै प्रचार गर्छौं। यहूदीहरूका लागि यो ठेस लाग्ने कुरो भयो अनि ग्रीकहरूका लागि यो मूर्ख कुरो ठहरियो। तर परमेश्वरले बोलाउनुभएका यहूदी र अन्य मानिसहरूका लागि चाहिँ ख्रीष्ट नै परमेश्वरको शक्ति र परमेश्वरकै ज्ञान हुनुहुन्छ किनभने परमेश्वरको मूर्ख कुरा मानिसको ज्ञानभन्दा पनि ठूलो छ र परमेश्वरको कमजोरी मानिसको शक्तिभन्दा शक्तिशाली छ। भाइहरू, परमेश्वरले बोलाउनुभएको बेला तिमीहरू कस्ता थियौ? विचार गर। संसारको स्तरअनुसार तिमीहरू धेरै जना ज्ञानी थिएनौ। धेरै जना शक्तिशाली थिएनौ। ठूला-ठूला घरानामा जन्मिएका थिएनौ। तर परमेश्वरले ज्ञानीलाई लाजमा पार्न संसारमा मूर्ख ठहरिएकाहरूलाई छान्नुभयो अनि बलियाहरूलाई लाजमा पार्न संसारका कमजोर ठहरिएकाहरूलाई चुन्नुभयो। म नै हुँ भन्नेहरूलाई लाजमा पार्न संसारले सानो र तुच्छ ठानेकाहरूलाई र काम नलाग्नेहरूलाई परमेश्वरले रोज्नुभयो। यो आफ्नो अघि कसैले घमण्ड गर्न नपाओस् भनेर नै उहाँले गर्नुभयो। उहाँले तिमीहरूलाई येशू ख्रीष्टसँगै एक बनाउनुभएको छ। उहाँकै कामले ख्रीष्ट हाम्रो ज्ञान हुनुभएको छ। हामी ख्रीष्टद्वारा परमेश्वरको अघि ठीक ठहरिन्छौं। हामी परमेश्वरका पवित्र र छुटकारा पाएका जन बन्दछौं। यसैकारण धर्मशास्त्र भन्छ, “यदि कसैले घमण्ड गर्न चाहन्छ भने प्रभुले गर्नुभएको काममा नै घमण्ड गरोस्।”