म परमप्रभुको महान् कृपाको प्रशंसा सधैँको निम्ति गाउनेछु, सबै पुस्तासम्म म तपाईंको विश्वस्तता मेरै मुखले जनाउनेछु।
तपाईंको कृपा सदाको निम्ति दृढ़ रहिरहनेछ,
र स्वर्गमा नै तपाईंले आफ्नो विश्वस्तता स्थिर गर्नुभयो भनी घोषणा गर्नेछु।
तपाईंले भन्नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:
‘म तेरा सन्तानलाई सदाको निम्ति स्थापना गर्नेछु,
र तेरो सिंहासन सारा पुस्तासम्म स्थिर बनाउनेछु’।” सेला
हे परमप्रभु, पवित्र जनहरूको सभामा स्वर्गले तपाईंका आश्चर्यकर्मको
र तपाईंका विश्वस्तताको समेत प्रशंसा गर्दछ।
किनकि आकाशमा परमेश्वरको तुलना कोसँग गर्न सकिन्छ? स्वर्गीय प्राणीहरूमध्ये को परमप्रभुको समान छ।
पवित्र जनहरूको सभामा परमेश्वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्ये उहाँ धेरै विस्मयकर हुनुहुन्छ।
हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंजस्तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्छ, हे परमप्रभु, र तपाईंको विश्वस्तता तपाईंको चारैतिर छ।
उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ, जब त्यसका छालहरू उठ्छन्, तपाईंले नै तिनलाई शान्त गराउनुहुन्छ।
तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्ट पार्नुभयो, तपाईंले आफ्ना शत्रुहरूलाई आफ्नो बाहुबलले तितरबितर पार्नुभयो।
स्वर्ग तपाईंको हो, र पृथ्वी पनि तपाईंकै हो, संसार र त्यसको सारा पूर्णता तपाईंले नै बसाल्नुभएको हो।
उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्।
तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्च पारिएको छ।
धार्मिकता र न्याय तपाईंको सिंहासनका जग हुन्, प्रेम र विश्वस्तता तपाईंको अगि जान्छन्।
ती मानिसहरू धन्य हुन्, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्।
तिनीहरू दिनभरि तपाईंको नाउँमा रमाउँछन्,
र तिनीहरू तपाईंकै धार्मिकतामा आनन्दले मग्न हुन्छन्।
किनकि तपाईं नै तिनीहरूको महिमा र शक्ति हुनुहुन्छ,
र तपाईंकै निगाहले हाम्रो सीङ ठाडो पारिदिनुभएको छ।
साँच्चै हाम्रो ढाल परमप्रभुकै हो,
र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्।
एक पल्ट तपाईंले आफ्ना पवित्र जनहरूसित दर्शनमा बोल्नुभयो,
र भन्नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्च पारेको छु।
मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्यसलाई अभिषेक गरेको छु।
मेरो हातले त्यसलाई थाम्नेछ, मेरो पाखुराले त्यसलाई अवश्य बलियो बनाउनेछ।
कुनै शत्रुले त्यसमाथि राजकर तिर्न अधिकार गर्नेछैन, न त कुनै दुष्ट मानिसले त्यसलाई दु:ख दिनेछ।
त्यसका विरोधीहरूलाई त्यसकै सामनेमा म चूर्ण पार्नेछु, त्यसका विरोधीहरूलाई प्रहार गर्नेछु।
मेरो विश्वस्त प्रेम त्यससँग हुनेछ,
र मेरो नाउँद्वारा त्यसको सीङ ठाडो हुनेछ।
म त्यसको शासन समुद्रसम्म बढ़ाउनेछु,
र त्यसको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्याउनेछु।
त्यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्छ, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ।’
म त्यसलाई मेरो जेठो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च।
म मेरो करुणा त्यसको निम्ति सदासर्वदा राख्नेछु,
र त्यससँगको मेरो करार कहिल्यै विफल हुनेछैन।
त्यसको वंशलाई म सदाको लागि स्थापना गर्नेछु,
र त्यसको सिंहासन आकाशको अस्तित्व रहेसम्म राख्नेछु।
“यदि त्यसका सन्तानले मेरो व्यवस्था त्यागे भने,
र मेरा कानूनहरूमा चलेनन् भने,
यदि तिनीहरूले मेरा विधिहरू भङ्ग गरे भने,
र मेरा आज्ञाहरू मानेनन् भने,
म तिनीहरूका पापको सजाय छड़ीले,
र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु।
तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्वस्तताको कहिल्यै धोकाबाजी गर्नेछु।
म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्केको वचन बद्लनेछैनँ।
मैले सदाकालको निम्ति आफ्नो पवित्रताको यो शपथ खाएको छु— अनि दाऊदलाई म ढाँट्नेछैनँ—
कि त्यसको वंश सदाको निम्ति रहनेछ,
र त्यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्थिर रहनेछ।
आकाशमा रहेको विश्वसनीय साक्षी चन्द्रमाझैँ, सदाकालको लागि त्यो स्थापित रहनेछ।” सेला
तर तपाईंले आफ्ना अभिषिक्तलाई त्याग्नुभएको छ,
र तुच्छ ठान्नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ।
तपाईंले आफ्नो दाससँगको करार तोड्नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्याउनुभएको छ।
तपाईंले उनका सबै पर्खालहरू भत्काइदिनुभएको छ,
र उनका किल्लाहरू नष्ट पारिदिनुभएको छ।
त्यहाँबाट भएर जाने सबैले तिनलाई लुटेका छन्, तिनी आफ्ना छिमेकीहरूका निम्ति हेलाको पात्र भएका छन्।
तपाईंले उनका शत्रुहरूका दाहिने हात उच्च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुहरूलाई उल्लसित तुल्याउनुभएको छ।
तपाईंले उनका तरवारको धार बोधो तुल्याउनुभएको छ,
र लड़ाइँमा उनलाई सहयोग दिनुभएको छैन।
तपाईंले तिनको गौरव समाप्त गरिदिनुभएको छ,
र तिनका सिंहासन जमिनमा फालिदिनुभएको छ।
उनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ, तपाईंले उनलाई शर्मको ओढ्नेले ढाकिदिनुभएको छ। सेला
कहिलेसम्म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्नुहुन्छ? तपाईंको क्रोध कहिलेसम्म आगोझैँ दन्किरहन्छ?
स्मरण राख्नुहोस्, मेरो आयु कस्तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्तो निरर्थकताको निम्ति सृजनुभएको छ!
यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ,
र मृत्यु देख्दैन? अथवा कसले आफ्नो प्राणलाई मृत्युको शक्तिबाट छुटकारा दिन सक्छ? सेला
हे परमप्रभु, अघिका तपाईंको महान् प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्नो विश्वसनीयतामा शपथ खानुभएको थियो
स्मरण गर्नुहोस् परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्नो हृदयमा जातिहरूको तिरस्कार सहँदैछु,
हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्कार गरेका छन्, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्।
परमप्रभुको सदासर्वदा प्रशंसा होस्। आमेन अनि आमेन।