भजनसंग्रह 89:1-52
भजनसंग्रह 89:1-52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म परमप्रभुको महान् कृपाको प्रशंसा सधैँको निम्ति गाउनेछु, सबै पुस्तासम्म म तपाईंको विश्वस्तता मेरै मुखले जनाउनेछु। तपाईंको कृपा सदाको निम्ति दृढ़ रहिरहनेछ, र स्वर्गमा नै तपाईंले आफ्नो विश्वस्तता स्थिर गर्नुभयो भनी घोषणा गर्नेछु। तपाईंले भन्नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु: ‘म तेरा सन्तानलाई सदाको निम्ति स्थापना गर्नेछु, र तेरो सिंहासन सारा पुस्तासम्म स्थिर बनाउनेछु’।” सेला हे परमप्रभु, पवित्र जनहरूको सभामा स्वर्गले तपाईंका आश्चर्यकर्मको र तपाईंका विश्वस्तताको समेत प्रशंसा गर्दछ। किनकि आकाशमा परमेश्वरको तुलना कोसँग गर्न सकिन्छ? स्वर्गीय प्राणीहरूमध्ये को परमप्रभुको समान छ। पवित्र जनहरूको सभामा परमेश्वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्ये उहाँ धेरै विस्मयकर हुनुहुन्छ। हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंजस्तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्छ, हे परमप्रभु, र तपाईंको विश्वस्तता तपाईंको चारैतिर छ। उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ, जब त्यसका छालहरू उठ्छन्, तपाईंले नै तिनलाई शान्त गराउनुहुन्छ। तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्ट पार्नुभयो, तपाईंले आफ्ना शत्रुहरूलाई आफ्नो बाहुबलले तितरबितर पार्नुभयो। स्वर्ग तपाईंको हो, र पृथ्वी पनि तपाईंकै हो, संसार र त्यसको सारा पूर्णता तपाईंले नै बसाल्नुभएको हो। उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्। तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्च पारिएको छ। धार्मिकता र न्याय तपाईंको सिंहासनका जग हुन्, प्रेम र विश्वस्तता तपाईंको अगि जान्छन्। ती मानिसहरू धन्य हुन्, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्। तिनीहरू दिनभरि तपाईंको नाउँमा रमाउँछन्, र तिनीहरू तपाईंकै धार्मिकतामा आनन्दले मग्न हुन्छन्। किनकि तपाईं नै तिनीहरूको महिमा र शक्ति हुनुहुन्छ, र तपाईंकै निगाहले हाम्रो सीङ ठाडो पारिदिनुभएको छ। साँच्चै हाम्रो ढाल परमप्रभुकै हो, र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्। एक पल्ट तपाईंले आफ्ना पवित्र जनहरूसित दर्शनमा बोल्नुभयो, र भन्नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्च पारेको छु। मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्यसलाई अभिषेक गरेको छु। मेरो हातले त्यसलाई थाम्नेछ, मेरो पाखुराले त्यसलाई अवश्य बलियो बनाउनेछ। कुनै शत्रुले त्यसमाथि राजकर तिर्न अधिकार गर्नेछैन, न त कुनै दुष्ट मानिसले त्यसलाई दु:ख दिनेछ। त्यसका विरोधीहरूलाई त्यसकै सामनेमा म चूर्ण पार्नेछु, त्यसका विरोधीहरूलाई प्रहार गर्नेछु। मेरो विश्वस्त प्रेम त्यससँग हुनेछ, र मेरो नाउँद्वारा त्यसको सीङ ठाडो हुनेछ। म त्यसको शासन समुद्रसम्म बढ़ाउनेछु, र त्यसको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्याउनेछु। त्यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्छ, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ।’ म त्यसलाई मेरो जेठो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च। म मेरो करुणा त्यसको निम्ति सदासर्वदा राख्नेछु, र त्यससँगको मेरो करार कहिल्यै विफल हुनेछैन। त्यसको वंशलाई म सदाको लागि स्थापना गर्नेछु, र त्यसको सिंहासन आकाशको अस्तित्व रहेसम्म राख्नेछु। “यदि त्यसका सन्तानले मेरो व्यवस्था त्यागे भने, र मेरा कानूनहरूमा चलेनन् भने, यदि तिनीहरूले मेरा विधिहरू भङ्ग गरे भने, र मेरा आज्ञाहरू मानेनन् भने, म तिनीहरूका पापको सजाय छड़ीले, र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु। तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्वस्तताको कहिल्यै धोकाबाजी गर्नेछु। म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्केको वचन बद्लनेछैनँ। मैले सदाकालको निम्ति आफ्नो पवित्रताको यो शपथ खाएको छु— अनि दाऊदलाई म ढाँट्नेछैनँ— कि त्यसको वंश सदाको निम्ति रहनेछ, र त्यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्थिर रहनेछ। आकाशमा रहेको विश्वसनीय साक्षी चन्द्रमाझैँ, सदाकालको लागि त्यो स्थापित रहनेछ।” सेला तर तपाईंले आफ्ना अभिषिक्तलाई त्याग्नुभएको छ, र तुच्छ ठान्नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ। तपाईंले आफ्नो दाससँगको करार तोड्नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्याउनुभएको छ। तपाईंले उनका सबै पर्खालहरू भत्काइदिनुभएको छ, र उनका किल्लाहरू नष्ट पारिदिनुभएको छ। त्यहाँबाट भएर जाने सबैले तिनलाई लुटेका छन्, तिनी आफ्ना छिमेकीहरूका निम्ति हेलाको पात्र भएका छन्। तपाईंले उनका शत्रुहरूका दाहिने हात उच्च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुहरूलाई उल्लसित तुल्याउनुभएको छ। तपाईंले उनका तरवारको धार बोधो तुल्याउनुभएको छ, र लड़ाइँमा उनलाई सहयोग दिनुभएको छैन। तपाईंले तिनको गौरव समाप्त गरिदिनुभएको छ, र तिनका सिंहासन जमिनमा फालिदिनुभएको छ। उनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ, तपाईंले उनलाई शर्मको ओढ्नेले ढाकिदिनुभएको छ। सेला कहिलेसम्म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्नुहुन्छ? तपाईंको क्रोध कहिलेसम्म आगोझैँ दन्किरहन्छ? स्मरण राख्नुहोस्, मेरो आयु कस्तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्तो निरर्थकताको निम्ति सृजनुभएको छ! यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ, र मृत्यु देख्दैन? अथवा कसले आफ्नो प्राणलाई मृत्युको शक्तिबाट छुटकारा दिन सक्छ? सेला हे परमप्रभु, अघिका तपाईंको महान् प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्नो विश्वसनीयतामा शपथ खानुभएको थियो स्मरण गर्नुहोस् परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्नो हृदयमा जातिहरूको तिरस्कार सहँदैछु, हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्कार गरेका छन्, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्। परमप्रभुको सदासर्वदा प्रशंसा होस्। आमेन अनि आमेन।
भजनसंग्रह 89:1-52 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म याहवेहको अचुक प्रेमको प्रशंसा सदासर्वदा गाउनेछु; मेरो मुखले पुस्तौँ-पुस्तालाई तपाईंको विश्वासयोग्यता बताइरहनेछु। तपाईंको अचुक प्रेम सदाको निम्ति दृढ रहिरहनेछ; स्वर्गमा पनि तपाईंले आफ्नो विश्वासयोग्यता स्थापित गर्नुभएको छ भनी म घोषणा गर्नेछु। तपाईंले भन्नुभयो, “मैले आफ्नो चुनेको मानिससित करार बाँधेको छु; मैले आफ्नो सेवक दावीदसित यो शपथ खाएको छु, ‘म तेरो वंशलाई सदाको निम्ति स्थापित गर्नेछु, र पुस्तौँ-पुस्तासम्म म तेरो सिंहासन स्थिर बनाउनेछु।’ ” सेला हे याहवेह, स्वर्गले तपाईंको अद्भुत कार्यहरूको प्रशंसा गर्दछ, पवित्र जनहरूको सभामा तपाईंको विश्वासयोग्यताको पनि गुणगान हुँदछ। किनकि सारा ब्रह्माण्डमा नै याहवेहको तुलना कोसँग गर्न सकिन्छ र? स्वर्गीय प्राणीहरूमध्ये को याहवेहको समान छन् र? पवित्र जनहरूको सभाघरमा परमेश्वर अधिक श्रद्धायोग्य हुनुहुन्छ; उहाँको वरिपरि हुनेहरूमध्ये, उहाँ अति भययोग्य हुनुहुन्छ। हे सेनाहरूका याहवेह परमेश्वर, तपाईंजस्तो अरू को छ र? तपाईं शक्तिशाली हुनुहुन्छ, हे याहवेह, तपाईंको विश्वासयोग्यता तपाईंको वरिपरि छ। उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ; त्यसका छालहरू उर्लंदा, तपाईंले नै तिनलाई शान्त गराउनुहुन्छ। तपाईंले मारिएकाहरूलाई झैँ राहाबलाई नष्ट पार्नुभयो; तपाईंले आफ्ना शत्रुहरूलाई आफ्ना पाखुराले तितरबितर पार्नुभयो। स्वर्गहरू तपाईंको हो, र पृथ्वी पनि तपाईंकै हो; संसार र त्यसमा भएका यावत् थोक तपाईंले नै स्थापित गर्नुभयो। उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो; तबोर र हेर्मोन तपाईंको नाममा हर्षले गाउँछन्। तपाईंको पाखुरा शक्तिशाली छ; तपाईंको हात बलियो छ, तपाईंको दाहिने हात उच्च छ। धार्मिकता र न्याय तपाईंको सिंहासनका जग हुन्; अचुक प्रेम र विश्वासयोग्यता तपाईंको अगि जान्छन्। हे याहवेह, ती मानिसहरू धन्य हुन्, जसले जयध्वनिसाथ तपाईंको प्रशंसा गर्न सिकेका छन्; जो तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्। तिनीहरू दिनभरि तपाईंको नाममा रमाउँछन्; तिनीहरूले तपाईंको धार्मिकताको उत्सव मनाउँछन्। किनकि तपाईं नै तिनीहरूका महिमा र बल हुनुहुन्छ, र तपाईंकै निगाहले हाम्रो सिङ उच्च पारिदिनुभएको छ। वास्तवमा याहवेह नै हाम्रो ढाल हुनुहुन्छ; हाम्रा राजा इस्राएलका पवित्र परमेश्वर हुनुहुन्छ। तपाईंले एक पटक दर्शनमा बोल्नुभयो, आफ्ना विश्वासयोग्य जनहरूसित यसो भन्नुभयो: “मैले एक योद्धालाई बल प्रदान गरेको छु; मैले मानिसहरूबाट चुनिएको एक युवकलाई उच्च पारेको छु। मैले मेरो सेवक दावीदलाई भेट्टाएको छु; मैले आफ्नो पवित्र तेलले त्यसलाई अभिषेक गरेको छु। मेरो हातले त्यसलाई थाम्नेछ; निश्चय नै मेरो पाखुराले त्यसलाई बलियो बनाउनेछ। शत्रुले त्यसबाट तिरो असुल्ने छैन; कुनै दुष्ट मानिसले त्यसमाथि अत्याचार गर्नेछैन। त्यसका वैरीलाई म त्यसकै सामु चूर्ण पार्नेछु, अनि त्यसलाई घृणा गर्नेहरूलाई प्रहार गर्नेछु। मेरो विश्वासयोग्यता र अचुक प्रेम त्यससँग रहनेछ, र मेरो नामद्वारा त्यसको सिङ उच्च हुनेछ। म त्यसको हातलाई समुद्रमाथि, त्यसको दाहिने हातलाई नदीहरूमाथि स्थापित गराउनेछु। त्यसले मलाई यसो भनेर पुकार्नेछ, ‘तपाईं मेरा पिता, मेरा परमेश्वर, मेरो मुक्तिको चट्टान हुनुहुन्छ।’ म त्यसलाई मेरो पहिले जन्मेको, जेठो छोरा हुन नियुक्त गर्नेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च तुल्याउनेछु। म त्यसको निम्ति मेरो अचुक प्रेम सदासर्वदा कायम राख्नेछु, र त्यससँगको मेरो करार कहिल्यै विफल हुनेछैन। म त्यसको वंश सदाको निम्ति स्थापना गर्नेछु, आकाशको अस्तित्व रहेसम्म, त्यसको सिंहासन राख्नेछु। “त्यसका सन्तानले मेरो व्यवस्था त्यागे, र मेरा विधानहरू मानेनन् भने यदि तिनीहरूले मेरा उर्दीहरू भङ्ग गरे भने र मेरा आदेशहरू पालन गरेनन् भने, म तिनीहरूका पापको दण्ड छडीले, तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु; तर म मेरो अचुक प्रेम त्यसबाट हटाउनेछैनँ, न त कहिल्यै म मेरो विश्वासयोग्यतालाई घात गर्नेछु। म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखले उच्चारण गरेका वचन बदल्नेछैनँ। मैले मेरो पवित्रताद्वारा एक पटक सधैँको निम्ति शपथ खाएको छु— र म दावीदलाई ढाँट्नेछैनँ। त्यसको वंश सदासर्वदाको निम्ति रहनेछ र त्यसको सिंहासन मेरो अगि सूर्यझैँ स्थिर रहनेछ; आकाशमा रहेको विश्वासयोग्य साक्षी चन्द्रमाझैँ, त्यो सदासर्वदाको लागि स्थापित रहनेछ।” सेला तर तपाईंले आफ्नो अभिषिक्त जनलाई त्याग्नुभएको छ, र तुच्छ ठान्नुभएको छ; तिनीसँग तपाईं क्रोधित हुनुभएको छ। तपाईंले आफ्नो सेवकसितको करार रद्द गर्नुभएको छ; तपाईंले तिनको मुकुट धुलोमा फ्याँकेर अशुद्ध पार्नुभएको छ। तपाईंले तिनका सबै सुरक्षित पर्खालहरू भत्काइदिनुभएको छ; र तिनका किल्लाहरू तहसनहस पारिदिनुभएको छ। त्यहाँबाट भएर जानेहरू सबैले तिनलाई लुटेका छन्; आफ्ना छिमेकीको निम्ति तिनी हेलाको पात्र भएका छन्। तिनका वैरीहरूका दाहिने हात तपाईंले उच्च पार्नुभएको छ; तपाईंले तिनका सबै शत्रुहरूलाई आनन्दित तुल्याउनुभएको छ। तपाईंले तिनको तरवारको धारलाई काम नलाग्ने बनाउनुभएको छ, र युद्धमा तिनलाई समर्थन गर्नुभएको छैन। तपाईंले तिनको वैभव समाप्त गरिदिनुभएको छ, र तिनको सिंहासन जमिनमा पल्टाइदिनुभएको छ। तिनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ; तपाईंले तिनलाई लाजको वस्त्रले ढाकिदिनुभएको छ। सेला हे याहवेह, कहिलेसम्म यस्तो गर्नुहुन्छ? के तपाईं आफूलाई सधैँभरिको निम्ति लुकाइराख्नुहुनेछ? कहिलेसम्म तपाईंको क्रोध आगोझैँ दन्किरहनेछ? स्मरण गर्नुहोस्; मेरो आयु कति क्षणिक छ। किनकि तपाईंले सम्पूर्ण मानवतालाई कस्तो निरर्थकताको निम्ति सृजनुभएको छ! यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ र मृत्यु देख्दैन, अथवा चिहानको शक्तिबाट को उम्कन सक्छ र? सेला हे प्रभु, तपाईंको अगिको अचुक प्रेम कहाँ छ? जसमा तपाईंले तपाईंको विश्वासयोग्यतामा दावीदसँग शपथ खानुभएको थियो? हे प्रभु, स्मरण गर्नुहोस्; तपाईंको सेवकको कसरी उपहास भएको छ, म आफ्नो हृदयमा कसरी सबै राष्ट्रहरूको हाँसो बोकेर हिँड्दछु, हे याहवेह, जसले मेरो उपहास गरेका छन्, ती तपाईंका शत्रुहरू हुन्, तिनीहरूले पाइला-पाइलामा कसरी तपाईंका अभिषिक्त जनको उपहास गरेका छन्। सदासर्वदा याहवेहको प्रशंसा होस्! आमेन! आमेन!
भजनसंग्रह 89:1-52 पवित्र बाइबल (NERV)
म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु। हे परमप्रभु, म तपाईंमा साँच्चो रूपमा विश्वास गर्दछु कि, तपाईंको प्रेम अनवरत छ। तपाईंको विश्वास आकाश झैं व्यापक छ। परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु, मैले मेरो दास दाऊदसँग कसम खाएँ। ‘दाऊद, म तिम्रो वंशलाई सदा-सर्वदाको निम्ति स्थिर बनाउनेछु। म तिम्रो राज्य सदा-सर्वदाको निम्ति कायम गराउने छु।’” हे परमप्रभु, तपाईंले आश्चर्यपूर्वक कुराहरू सृजना गर्नु हुन्छ। जसको निम्ति तपाईंलाई आकाशहरूले पनि प्रशंसा गर्छन्। मानिसहरू तपाईंमाथि आश्रित हुन सक्छन्। पवित्र स्वर्गदूतहरूको सभाले तपाईंको बारेमा गाउँदछ। स्वर्गमा तपाईंको बराबरी हुने कोही पनि छैन। कुनै पनि “देवता” परमप्रभुको तुलनामा आउन सक्तैन। परमेश्वर पवित्र स्वर्गदूतहरूसित सदा-सर्वदा मिल्नु हुन्छ। ती सबै स्वर्गदूतहरू उहाँका हुन्। तिनीहरू डराएर उहाँको श्रद्धा गर्दछन्, तिनीहरू उहाँको सम्मानमा बस्दछन्। हे सेनाहरूका परमप्रभु, परमेश्वर तपाईं जस्तो यहाँ अरू कोही छैन। हामी पूर्णरूपले तपाईंमाथि भरोसा राख्छौं। तपाईंले विशाल समुद्रको शक्तिशाली ज्वारभाटमाथि शाश्वत गर्नुहुन्छ। तपाईं त्यसको छालहरूलाई शान्त पार्न सक्नु हुन्छ। परमेश्वर तपाईंले राहबलाई डर देखाउनु भयो, तपाईंको आफ्नै शक्तिशाली पाखुराहरूले तपाईंका शत्रुहरूलाई यत्र-तत्र पारिदिनु भयो। स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू तपाईंकै हुन्, परमेश्वर तपाईंले संसार र यसका सबै थोकहरू सृजना गर्नुभयो। उत्तर र दक्षिण दिशामा तपाईंले सारा थोकहरू सृजना गर्नुभयो। ताबोर पर्वत र हर्मोन पर्वतले तपाईंकै नाउँको गुण-गान गर्दछन्। हे परमेश्वर तपाईंसँग शक्ति छ। तपाईंको शक्ति महान् छ, विजय तपाईंकै हो। तपाईंको साम्राज्य सत्य र न्यायमाथि बनिएको छ। प्रेम र विश्वास तपाईंको सिंहासनका दासहरू हुन्। हे परमेश्वर, तपाईंका ईमान्दार भक्तजनहरू साँच्चि नै खुशी छन्। तिनीहरू तपाईंको कृपाको प्रकाशमा बाँच्दछन्। तपाईंको नाउँले तिनीहरूलाई सधैँ खुशी पार्छ। तिनीहरूले तपाईंको सदगुणको प्रशंसा गर्दछन्। तपाईं तिनीहरूका आश्चार्यमय बल हुनुहुन्छ। तपाईंबाटै उनीहरूको शक्ति आउँछ। परमप्रभु, तपाईं हाम्रो रक्षक हुनुहुन्छ। इस्राएल को एकमात्र पवित्र आत्मा हाम्रा राजा हुनुहुन्छ। तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो, “मैले भीडबाट एकजना जवान केटोलाई छानें अनि मैले त्यस जवानलाई मुख्य मानिस बनाएँ, मैले त्यस जवान सिपाहीलाई बलियो, बनाएँ। मैले मेरो दास दाऊदलाई पाएँ, अनि मेरो विशिष्ट तेलले उसलाई अभिषेक गरें। मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरें। अनि मेरो शक्तिले, उसलाई बलियो बनाएँ। शत्रुहरूले, ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्। दुष्ट मानिसहरूले उनलाई परास्त गर्न सकेनन्। म तिनीहरूको शत्रुहरूलाई शेष पार्नेछु र तिनीहरूको सल्लाहकारलाई तल फ्याँक्नेछु। म सधैँ आफूले छानेका राजालाई प्रेम र सहयोग गर्नेछु। म उनलाई सधैँ बलियो बनाउने छु। मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु। उसले नदीहरूमाथि नियन्त्रण गर्नेछ। उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ। तपाईं मेरो परमेश्वर, मेरो चट्टान, मेरो रक्षक हुनुहुन्छ। अनि उसलाई म मेरो प्रथम जन्मने छोरो बनाउने छु। ऊ नै पृथ्वीमा सबै भन्दा महान् राजा हुनेछ। मेरो प्रेमले चुनिएका राजालाई सदा-सर्वदा रक्षा गर्नेछु। तिनको र मेरो यो करार कहिल्यै समाप्त हुनेछैन। उनका परिवारहरू अनवरत रहने छन् जबसम्म स्वर्ग रहन्छ तबसम्म उनको राज्य रहनेछ। यदि उनका सन्तानहरूले मेरो व्यवस्था मान्न छाडे यदि तिनीहरूले मेरो आज्ञा अमान्य गरे, म तिनीहरूलाई दण्ड दिनेछु। यदि छानिएका राजाका भावी सन्तानहरूले मेरो नियमहरू भत्काउँदै मेरो आज्ञाहरू उल्ङ्घन गर्छन् भने, तब म उनीहरूलाई कडा दण्ड दिनेछु। म तिनीहरूका दुष्ट-कर्मको सजाय कोर्राले दिनेछु। तर म ती मानिसहरूबाट माया मारेर टाढा जाने छैन। म तिनीहरू प्रति सधैँ विश्वासी रहने छु। म दाऊदसँग भएको करार तोड्ने छैन। म मेरो करार-वचन परिणत गर्नेछैन। मेरो पवित्रतामा, उनीप्रति एक प्रतिज्ञा गरेको छु अनि म दाऊद प्रति झूटो हुने छैन। दाऊदका सन्तानहरू अनवरत रहनेछन्। तिनीहरू हुन्जेल उनिहरूको राज्य रहने छ। जुन सरह, यो अनवरत चल्नेछ, त्यस करारको साक्षी आकाशहरू छन्, त्यो करारमा भरोसा गर्न सकिन्छ।” तर परमेश्वर तपाईं आफूले रोजेका राजाप्रति रिसाउनु भयो। अनि उनलाई एक्लै छाडी दिनु भयो। तपाईंले आफ्नो करार अस्वीकार गर्नु भएकोछ। तपाईंले राजाको मुकुट मैलामा फ्याँकिदिनु भयो। तपाईंले राजाको शहरका भित्ताहरू भत्काई झार्नु भयो। उनका सबै किल्लाहरू ध्वंश पार्नुभयो। त्यताबाट भएर जाने मानिसहरूले उनका चीजहरू चोरे। उनका छिमेकीहरूले उसलाई खिसी गरेर हाँसे। तपाईंले त्यस्तो गरेर राजाका शत्रुहरूलाई खुशी बनाउनु भयो। तपाईंले उनका शत्रुहरूलाई युद्ध जित्न दिनुभयो। परमेश्वर, तपाईंले उनीहरूको रक्षा गर्दै सघाउनु भयो। तपाईंले आफ्ना राजालाई युद्धमा सघाउनु भएन। तपाईंले उनलाई जित्न दिनु भएन। तपाईंले उनको राजगद्दी भूइँमा फ्याँकिदिनु भयो। तपाईंले उनको उमेर घटाई दिनु भयो तपाईंले उनलाई लज्जित पार्नुभयो। हे परमप्रभु, यस्तो कहिले सम्म चल्ने हो? के तपाईंले हामीलाई सधैँ उपेक्षा गर्नुहुन्छ? के तपाईंको क्रोध आगो जस्तो सधैँ बल्ने हो? याद गर्नुहोस् मेरो जीवन कति छोटो छः तपाईंले हामीलाई छोटो जीवन बाँच्नलाई रच्नुभयो। कोही पनि बाँच्ने छैन र कहिल्यै मर्दैन, कोही पनि चिहानबाट भाग्न पाउने छैन। हे परमेश्वर, तपाईंले विगतमा देखाउनु भएको प्रेम खै, कहाँ छ? तपाईंले दाऊदको परिवार प्रति विश्वासी हुनेछु भनेर प्रतिज्ञा दिनु भयो। हे स्वामी, कृपया याद गर्नुहोस्, मानिसहरूले कसरी तपाईंको दासलाई अपमान गरे। हे परमप्रभु, मैले तपाईंका शत्रुहरूबाट ती सारा अपमानहरू सहनु पर्यो। ती मानिसहरूले तपाईंले रोजेको राजाको अपमान गरे। परमप्रभुको सदा-सर्वदा प्रशंसा गर। आमेन! आमेन!
भजनसंग्रह 89:1-52 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु, म सधैँ तपाईंको अटुट प्रेमको बारेमा गाउनेछु; म सधैँ तपाईंको विश्वासयोग्यताबारे उच्च स्वरले भन्नेछु। म जान्दछु कि तपाईंको प्रेम सदासर्वदा रहिरहनेछ र तपाईंको विश्वासयोग्यता आकाशजस्तो अटल छ। तपाईंले भन्नुभयो, “मैले चुनेको मानिससँग मैले एउटा करार बाँधेको छु। मैले आफ्नो दास दाऊदसँग प्रतिज्ञा गरेको छु, तेरो एउटा सन्तान सदासर्वदा राजा बनिरहनेछ, तेरो वंशलाई म सदाकाल जोगाइराख्नेछु।” परमप्रभु! तपाईंले गर्नुभएका उदेकका कामको विषयमा स्वर्गले गाउँदछ, तपाईंको विश्वासयोग्यताबारे पवित्र जनहरूले गाउँछन्, परमप्रभु! स्वर्गमा कोही पनि तपाईंजस्तो छैन, कुनै पनि स्वर्गका प्राणी तपाईंसमानको छैन। पवित्र जनहरूका सभामा तपाईंको आदर हुँदछ, तिनीहरू सबैले तपाईंको भय मान्दछन्। परमप्रभु सर्वशक्तिमान् परमेश्वर, कोही पनि तपाईंजस्तो सामर्थी छैन, हे परमप्रभु, सबै कुरामा तपाईं विश्वासयोग्य हुनुहुन्छ। शक्तिले भरिएको समुद्रमाथि तपाईंले राज्य गर्नुहुन्छ, त्यसका बौलाएका छालहरू तपाईंले शान्त गराउनुहुन्छ। तपाईंले भयानक जन्तु राहाबलाई चुर पारेर मार्नुभयो, तपाईंले आफ्ना शत्रुहरूलाई महान् शक्तिले हराउनुभयो। स्वर्ग र पृथ्वी तपाईंकै हुन्, तपाईंले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो। उत्तर र दक्षिण तपाईंले बनाउनुभएको हो, तबोर र हेर्मोन पहाडहरूले तपाईंलाई आनन्दले गीत सुनाउँछन्। तपाईं कति शक्तिमान् हुनुहुन्छ! तपाईंको बल कति महान् छ! धर्म र न्यायमा तपाईंको राज्यको जग बसालेको छ, तपाईंका सबै काममा प्रेम र विश्वासयोग्यता प्रकट हुँन्छन्। तपाईंलाई भजन गाएर आराधना चढाउँछन् र तपाईंको दयाको ज्योतिमा जिउने मानिसहरू कति खुसी छन्! तपाईंको कारण तिनीहरूले दिनभरि आनन्द गर्दछन् र तपाईंको भलाइको लागि प्रशंसा गर्दछन्। तपाईंले हामीलाई ठूल्ठूला विजय दिनुहुन्छ, तपाईंले आफ्नो प्रेममा हामीलाई जयवन्त बनाउनुहुन्छ, हे परमप्रभु, तपाईंले हाम्रो रक्षक चुन्नुभयो, तपाईं इस्राएलका पवित्र परमेश्वरले हामीलाई हाम्रो राजा दिनुभयो! धेरै समयअघि एउटा दर्शन दिएर तपाईंले आफ्ना विश्वासयोग्य सेवकहरूलाई भन्नुभयो, मैले एउटा प्रख्यात सिपाहीलाई सहायता गरेको छु, मैले मानिसहरूको माझदेखि चुनेको एउटा मानिसलाई राज्यको सिंहासन दिएको छु। मैले आफ्नो सेवक दाऊदलाई पवित्र तेलले अभिषेक गरेर राजा बनाएको छु। सधैँ मेरो शक्ति त्योसँग रहनेछ, मेरो सामर्थ्यले त्यसलाई बलियो बनाउनेछ। त्यसका शत्रुहरूले त्यसलाई कहिल्यै जित्नेछैनन्, दुष्टहरूले त्यसलाई कहिल्यै हराउनेछैनन्। म त्यसका शत्रुहरूलाई चुर पार्नेछु र त्यसलाई घृणा गर्ने हरेकलाई मार्नेछु। म त्यसलाई प्रेम गर्नेछु र त्योसँग विश्वासयोग्य रहनेछु, म त्यसलाई सधैँ विजयी बनाउनेछु। म त्यसको राज्य भूमध्य सागरदेखि यूफ्रेटिस नदीसम्म फैलाउनेछु। त्यसले मलाई भन्नेछ, तपाईं मेरा पिता र परमेश्वर, मेरा रक्षक र मुक्तिदाता हुनुहुन्छ। म त्यसलाई मेरो जेठो छोरा र राजाहरूमा सबैभन्दा महान् बनाउनेछु। म त्योसँग सधैँ आफूले गरेको प्रतिज्ञा पूरा गर्नेछु र त्योसँग मैले बाँधेको करार सदासर्वदा रहनेछ। त्यसका वंश आकाशजस्तै सदासर्वदा रहनेछ, त्यसको एक न एक जना सन्तान सधैँ राजा बनिरहनेछ। तर त्यसका छोरा-नातिहरूले मेरा व्यवस्था मानेनन् भने र मेरा आज्ञाअनुसार जीवन बिताएनन् भने, यदि तिनीहरूले मेरा शिक्षाको वास्ता गरेनन् भने र मेरा आज्ञाहरू मानेनन् भने तिनीहरूका पापको लागि म तिनीहरूलाई दण्ड दिनेछु, तिनीहरूका दुष्ट कामको लागि म तिनीहरूलाई दु:ख-कष्ट दिनेछु। तर म दाऊदलाई प्रेम गर्न छोड्दिनँ अथवा मैले त्योसँग गरेको प्रतिज्ञा पूरा नगरी छोड्दिनँ। मैले त्योसँग गरेको करार तोड्नेछैनँ वा त्योसँग गरेको एउटा पनि प्रतिज्ञा फिर्ता लिनेछैनँ। “मैले आफ्नो पवित्र नाममा सदाको लागि प्रतिज्ञा गरेको छु, म कहिल्यै दाऊदसँग झूट बोल्नेछैनँ। त्यसको वंश सदाकाल रहनेछ र जहिलेसम्म घाम चम्कनेछ, म त्यसको राज्यको रखवाली गर्नेछु। आकाशको विश्वसनीय साक्षी जूनजस्तै त्यो राज्य सदाकाल रहनेछ।” तर तपाईं आफैंले चुन्नुभएको राजासँग रिसाउनुभएको छ, तपाईंले उसलाई अस्वीकार गर्नुभएर त्याग्नुभएको छ। तपाईंले आफ्नो सेवकसँग गर्नुभएको करार तोड्नुभएको छ र उसको मुकुट हिलोमा फ्याँकिदिनुभएको छ! तपाईंले उसका सहरका पर्खालहरू भत्काइदिनुभएको छ र उसका किल्लाहरू ध्वंस पारिदिनुभएको छ। छेउबाट भएर जानेहरू सबैले उसका माल-सामान चोर्दछन्, सबै छिमेकीहरू उसमाथि हाँस्छन्। तपाईंले उसका शत्रुहरूलाई जिताउनुभएको छ र तिनीहरूलाई खुसी तुल्याउनुभएको छ। तपाईंले उसका हात-हतियारहरू बेकामका बनाइदिनुभएको छ र लडाइँमा उसको हार गराउनुभएको छ। तपाईंले उसको राजदण्ड खोस्नुभएको छ र उसको सिंहासन भूइँमा फालिदिनुभएको छ। तपाईंले बेला नभई उसलाई वृद्ध पार्नुभएको छ, बदनामले उसलाई ढाक्नुभएको छ। हे परमप्रभु, के सधैँभरि तपाईंले आफैंलाई लुकाइराख्नुहुन्छ? कहिलेसम्म तपाईंको रिस आगोझैँ बलिरहने हो? याद राख्नुहोस्, जीवन कति छोटो छ, याद राख्नुहोस्, तपाईंले हामीलाई मरणशील जीवन दिनुभएको छ। को कहिले नमरी बाँच्छ र? मानिस कसरी चिहानदेखि बाँच्न सक्छ र? हे प्रभु, तपाईंले अघि दिनुभएका प्रेमका प्रमाणहरू कहाँ गए? तपाईंले दाऊदलाई दिनुभएका प्रतिज्ञाहरू खोइ? म तपाईंको दासको अपमान भएको छ, कसरी अविश्वासीहरूका सारा सराप मैले सहेको छु यी कुराहरू नभुल्नुहोस्। हे परमप्रभु, तपाईंका शत्रुहरूले तपाईंले चुन्नुभएको राजाको अपमान गर्दछन्। उनी जहाँ गए पनि तिनीहरूले उनको अपमान गरिरहन्छन्। परमप्रभुको प्रशंसा सधैँभरि गर! आमेन! आमेन!