उहाँले मोशालाई आफ्ना मार्ग, र इस्राएलीहरूलाई आफ्ना काम प्रकट गर्नुभयो। परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्छ। उहाँले सधैँ दोष लगाइरहनुहुन्न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्नुहुन्न। उहाँले हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्न, अनि हाम्रा अधर्मअनुसार हामीलाई दण्ड दिनुहुन्न। किनकि पृथ्वीबाट स्वर्ग जत्ति अग्लो छ, उहाँका भय मान्नेहरूमाथि उहाँको करुणा त्यत्तिकै महान् छ। पश्चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिकै टाढ़ा हटाइदिनुभएको छ। जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै उहाँका भय मान्नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्छ। किनभने उहाँ जान्नुहुन्छ, हाम्रो सृष्टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्झनुहुन्छ। मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्यो ढकमक्क फुल्दछ, अनि बतास त्यस फूलमाथि भएर जान्छ, र त्यो विलीन हुन्छ, र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। तर परमप्रभुको करुणा आफ्ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ— तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका आदेशहरू पालन गर्न ख्याल गर्छन्।
भजनसंग्रह 103 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 103
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 103:7-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू