हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, सहायताको लागि मेरो प्रार्थना तपाईंको समीप पुगोस्। मेरो सङ्कष्टको दिनमा आफ्नो मुहार मबाट नलुकाउनुहोस्। तपाईंको कान मतिर फर्काउनुहोस्, मैले पुकारा गरेको दिन मलाई तुरुन्तै जवाफ दिनुहोस्। किनभने मेरा दिनहरू धूवाँझैँ विलोप हुन्छन्, र मेरा हाड़हरू झरिला फिलिङ्गाजस्ता जल्छन्। मेरो हृदय घाँसझैँ ओइलिएर सुकेको छ, म आफ्नो भोजन खान पनि बिर्सिन्छु। मेरो गहिरो आर्तनादले गर्दा म हाड र छाला भइसकें। मरुभूमिको लाटोकोसेरोजस्तै भइसकें, भग्नावशेषमा वास गर्ने एउटा लाटोकोसेरोझैँ। अनिद्राले म जागा बस्छु, धुरीमाथिको एकलो चरोजस्तो भएको छु। मेरा शत्रुहरूले दिनभरि मेरो ठट्टा उड़ाउँछन्, मलाई दिल्लगीमा उड़ाउनेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन्। किनकि म खरानी भोजनझैँ खान्छु, र आँसु मिसिएको पानी पिउँछु। किनकि तपाईंको क्रोधले गर्दा तपाईंले मलाई माथि उचालेर एकापट्टि फालिदिनुभएको छ, मेरा दिनहरू बेलुकीको छायासमान छन्, म घाँसजस्तै ओइलिसकेको छु। तर तपाईं हे परमप्रभु, सदाको निम्ति सिंहासनमा विराजमान हुनुहुन्छ। तपाईंको कीर्ति पुस्ता-पुस्तासम्म रहन्छ। तपाईं उठ्नुहुनेछ र सियोनमाथि दया-दृष्टि दर्शाउनुहुनेछ, किनभने सियोनमाथि निगाह गर्ने समय अहिले नै हो, तोकिएको समय आइपुगेको छ। किनभने तपाईंका दासहरूले त्यहाँका ढुङ्गाहरूलाई माया गर्छन्, र त्यसका धूलाहरूलाई पनि तिनीहरू टिठ्याउँछन्। जातिहरू परमप्रभुको नाउँले भयभीत हुनेछन्, पृथ्वीका सबै राजाहरूले तपाईंका महिमाको आदर गर्नेछन्। किनभने परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ, अनि आफ्नो महिमामा उहाँ प्रकट हुनुहुनेछ। उहाँले दीन-हीनहरूको प्रार्थनाप्रति ध्यान दिनुहुन्छ, उहाँले तिनीहरूका निवेदनको उपेक्षा गर्नुहुन्न। अहिलेसम्म सृष्टि नगरिएका मानिसहरूले, परमप्रभुको प्रशंसा गरून् भनेर यो कुरा भावी पुस्ताको निम्ति लेखिओस्: “परमप्रभुले उच्च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट, स्वर्गबाट तल पृथ्वीमाथि दृष्टिपात गर्नुभयो, यसरी कैदीहरूका आर्तनाद उहाँले सुन्न सकून्, र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न सकून्।” यसरी सियोनमा परमप्रभुका नाउँको वर्णन गरिनेछ, र यरूशलेममा उहाँको प्रशंसा गरिनेछ, जब परमप्रभुको आराधना गर्नलाई मानिसहरू र राज्यहरू एकत्रित हुनेछन्।
भजनसंग्रह 102 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 102
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 102:1-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू