भजनसंग्रह 102:1-22

भजनसंग्रह 102:1-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्‌, सहायताको लागि मेरो प्रार्थना तपाईंको समीप पुगोस्‌। मेरो सङ्कष्‍टको दिनमा आफ्‍नो मुहार मबाट नलुकाउनुहोस्‌। तपाईंको कान मतिर फर्काउनुहोस्‌, मैले पुकारा गरेको दिन मलाई तुरुन्‍तै जवाफ दिनुहोस्‌। किनभने मेरा दिनहरू धूवाँझैँ विलोप हुन्‍छन्‌, र मेरा हाड़हरू झरिला फिलिङ्गाजस्‍ता जल्‍छन्‌। मेरो हृदय घाँसझैँ ओइलिएर सुकेको छ, म आफ्‍नो भोजन खान पनि बिर्सिन्‍छु। मेरो गहिरो आर्तनादले गर्दा म हाड र छाला भइसकें। मरुभूमिको लाटोकोसेरोजस्‍तै भइसकें, भग्‍नावशेषमा वास गर्ने एउटा लाटोकोसेरोझैँ। अनिद्राले म जागा बस्‍छु, धुरीमाथिको एकलो चरोजस्‍तो भएको छु। मेरा शत्रुहरूले दिनभरि मेरो ठट्टा उड़ाउँछन्‌, मलाई दिल्‍लगीमा उड़ाउनेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन्‌। किनकि म खरानी भोजनझैँ खान्‍छु, र आँसु मिसिएको पानी पिउँछु। किनकि तपाईंको क्रोधले गर्दा तपाईंले मलाई माथि उचालेर एकापट्टि फालिदिनुभएको छ, मेरा दिनहरू बेलुकीको छायासमान छन्‌, म घाँसजस्‍तै ओइलिसकेको छु। तर तपाईं हे परमप्रभु, सदाको निम्‍ति सिंहासनमा विराजमान हुनुहुन्‍छ। तपाईंको कीर्ति पुस्‍ता-पुस्‍तासम्‍म रहन्‍छ। तपाईं उठ्‌नुहुनेछ र सियोनमाथि दया-दृष्‍टि दर्शाउनुहुनेछ, किनभने सियोनमाथि निगाह गर्ने समय अहिले नै हो, तोकिएको समय आइपुगेको छ। किनभने तपाईंका दासहरूले त्‍यहाँका ढुङ्गाहरूलाई माया गर्छन्‌, र त्‍यसका धूलाहरूलाई पनि तिनीहरू टिठ्याउँछन्‌। जातिहरू परमप्रभुको नाउँले भयभीत हुनेछन्‌, पृथ्‍वीका सबै राजाहरूले तपाईंका महिमाको आदर गर्नेछन्‌। किनभने परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ, अनि आफ्‍नो महिमामा उहाँ प्रकट हुनुहुनेछ। उहाँले दीन-हीनहरूको प्रार्थनाप्रति ध्‍यान दिनुहुन्‍छ, उहाँले तिनीहरूका निवेदनको उपेक्षा गर्नुहुन्‍न। अहिलेसम्‍म सृष्‍टि नगरिएका मानिसहरूले, परमप्रभुको प्रशंसा गरून्‌ भनेर यो कुरा भावी पुस्‍ताको निम्‍ति लेखिओस्‌: “परमप्रभुले उच्‍च स्‍थानमा रहेको आफ्‍नो पवित्रस्‍थानबाट, स्‍वर्गबाट तल पृथ्‍वीमाथि दृष्‍टिपात गर्नुभयो, यसरी कैदीहरूका आर्तनाद उहाँले सुन्‍न सकून्‌, र मृत्‍युदण्‍ड पाएकाहरूलाई मुक्त गर्न सकून्‌।” यसरी सियोनमा परमप्रभुका नाउँको वर्णन गरिनेछ, र यरूशलेममा उहाँको प्रशंसा गरिनेछ, जब परमप्रभुको आराधना गर्नलाई मानिसहरू र राज्‍यहरू एकत्रित हुनेछन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 102 पढ्नुहोस्

भजनसंग्रह 102:1-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्; सहायताको निम्ति मेरो पुकार तपाईंका सामु पुगोस्! मेरो कष्‍टको समयमा आफ्नो मुहार मबाट नलुकाउनुहोस्; तपाईंको कान मतिर लगाउनुहोस्; जब म पुकार गर्दछु, मलाई तुरुन्तै जवाफ दिनुहोस्! किनकि मेरा दिनहरू धुवाँझैँ लोप भएर जान्छन्; मेरा हाडहरू सल्केका भुङ्ग्रोझैँ जल्दछन्। मेरो हृदय घाँसझैँ ओइलाएर सुकेको छ; म आफ्नो भोजन खान पनि बिर्सन्छु। मेरो पीडामा म चर्को सोरले कराएको कारण, म हाड र छाला भएको छु। म उजाडस्थानको उल्‍लुझैँ भएको छु; भग्नावशेषमा बस्‍ने उल्‍लुझैँ छु। अनिद्राले गर्दा म जागा रहन्छु; म छानामाथिको एकलो चरोझैँ भएको छु। दिनभरि मेरा शत्रुहरूले मेरो गिल्‍ला गर्छन्; मेरो खिल्‍ली उडाउनेहरूले मेरो नाम सरापको रूपमा प्रयोग गर्छन्। किनकि म खरानीलाई भोजनको रूपमा खान्छु, र म आफ्नो आँसु मिसिएको पानी पिउँछु; किनकि तपाईंको ठूलो क्रोधले गर्दा, तपाईंले मलाई उठाएर एकापट्टि फाल्नुभएको छ। मेरा दिनहरू साँझको छायाजस्तै बित्दछन्; म घाँसझैँ ओइलाएको छु। तर तपाईं, हे याहवेह, सदाको निम्ति विराजमान हुनुहुन्छ; तपाईंको कीर्ति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। तपाईं उठ्नुहुनेछ र सियोनमाथि कृपा गर्नुहुनेछ; किनकि सियोनमाथि दया गर्ने समय अहिले नै हो; अब तोकिएको त्यो समय आइपुगेको छ। किनकि तपाईंका सेवकहरूलाई त्यहाँका ढुङ्गाहरू अति प्रिय छन्; त्यहाँको धुलोले समेत तिनीहरूलाई दया देखाउँछन्। जाति-जातिहरूले याहवेहको नामको भय मान्‍नेछन्, पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको आदर गर्नेछन्। किनकि याहवेहले सियोनलाई पुनर्निर्माण गर्नुहुनेछ, र उहाँ आफ्नो महिमामा प्रकट हुनुहुनेछ। उहाँले बेसहाराका प्रार्थनाप्रति ध्यान दिनुहुनेछ; उहाँले तिनीहरूका बिन्तीलाई तुच्छ ठान्‍नुहुनेछैन। यी कुरा भावी पुस्ताको निम्ति लेखियोस्: ताकि अहिलेसम्म सृष्‍टि नगरिएका मानिसहरूले समेत याहवेहको प्रशंसा गरून्: यसरी उहाँले कैदीहरूका क्रन्दन सुन्‍न, र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न, उच्‍च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट हेर्नुभयो; स्वर्गबाट तल पृथ्वीमाथि दृष्‍टि गर्नुभयो। त्यस बेला, जब याहवेहको आराधना गर्नलाई जाति-जातिहरू र राज्यहरू एकत्रित हुनेछन्। यसकारण सियोनमा याहवेहको नामको र यरूशलेममा उहाँको प्रशंसा घोषणा गरिनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 102 पढ्नुहोस्

भजनसंग्रह 102:1-22 पवित्र बाइबल (NERV)

हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्। सहायताकोलागि रोएको क्रन्दन सुनिदिनु होस्। परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्। जब म सङ्कटहरूमा झेलिएको हुन्छु, मप्रति ध्यान दिनुहोस्। जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु, मलाई झट्टै जवाफ दिनुहोस्। मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ। मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ। मेरो शक्ति क्षीण हुँदै गईसक्यो म सुख्खा, ओइलिँदै गई रहेको घाँस जस्तै छु। मैले खान समेत भूली सकेको छु। आफ्नो उदासीनताको कारणले गर्दा, मेरो ओजन घटिरहेछ। म मरुभूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु। भवनहरूको भग्नावशेषमा बस्ने एक्लो लाटकोसेरो जस्तै छु। म सुत्न सक्दिनँ। म छानामा भएको एउटा एक्लो चरो जस्तो छु। मेरा शत्रुहरूले मलाई लगातार अपमान गर्छन्। तिनीहरूले मलाई खिसी गरे अनि सरापे। मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो। मेरो आँसु मेरो पिउने बस्तु हो। किनभने तपाईं ममाथि क्रोधित हुनुहुन्छ, परमप्रभु, तपाईंले मलाई उठाउनु भयो अनि त्यसपछि मलाई फ्याँकी दिनुभयो। दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो। म सुख्खा र ओइलिएको घाँस सरह मर्दै जाँदैछु। तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ। तपाईंको नाउँ सदा-सर्वदा र अनन्त सम्म रहनेछ। तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ। तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ। तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ, तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्। मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्। परमेश्वर, पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्। परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ। मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्। परमेश्वरले जिउँदै छाड्नु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ। परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ। यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्। परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ। परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ। अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ। उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ। तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्। तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्। जातिहरू परस्परमा भेला हुनेछन्। राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 102 पढ्नुहोस्

भजनसंग्रह 102:1-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्, सहायताको लागि मेरो पुकार सुन्‍नुहोस्। म कष्‍टमा छँदा मदेखि तर्किनजानुहोस्, मैले पुकार्दा सुन्‍नुहोस् र झट्टै जवाफ दिनुहोस्। मेरो जीवन धुवाँझैँ हराउँदै छ, मेरो शरीर आगोझैँ जल्‍दै छ, म सुकेको घाँसझैँ दलिएको छु, मेरो खाने इच्‍छा हराएको छ। म कष्‍टमा जोडले कराउँदछु, म हाड र छाला मात्र भएको छु। म मरुभूमिको एउटा जङ्गली चरोजस्‍तो छु, ध्‍वंस भएका ठाउँमा छोडिएको लाटोकोसेरोजस्‍तै छु। अनि अनिद्राले म जागै रहन्‍छु, घरको धुरीमा भएको एकलो चराझैँ छु। दिनहुँ मेरा शत्रुहरूले मेरो अपमान गर्छन्, मलाई खिसी गर्नेहरूले सराप दिँदै मेरो नाम लिन्‍छन्। तपाईंका रिस र बल्‍दो क्रोधका कारणले खरानी मेरो खानेकुरा भएको छ र पिउने कुरामा मेरो आँसु मिसिएको छ। तपाईंले मलाई उठाएर फ्‍याँक्‍नुभयो। मेरो जीवन साँझको छायाजस्‍तै छ, म सुकेको घाँसजस्‍तै छु। तर तपाईं, हे परमप्रभु, सदाको निम्‍ति राजा हुनुहुन्‍छ, पुस्‍ता-पुस्‍ताले तपाईंलाई याद गर्नेछन्। तपाईं उठ्‍नुहुनेछ र सियोनलाई टिठ्याउनुहुनेछ, त्‍यसमाथि निगाह गर्ने बेला आइपुगेको छ र ठीक समय यही नै हो। सियोनको नाश भएको छ, तापनि तपाईंका सेवकहरूले त्‍यसलाई प्रेम गर्छन्। त्‍यसको ध्‍वंस भएको छ, तापनि तिनीहरूले त्‍यसलाई टिठ्याउँदछन्। जातिहरूले परमप्रभुको डर मान्‍नेछन्, पृथ्‍वीका सबै राजाहरूले उहाँको शक्तिको भय मान्‍नेछन्। जब परमप्रभुले सियोनलाई फेरि बनाउनुहुनेछ, उहाँले आफ्‍नो महान्‌ता देखाउनुहुनेछ। उहाँले आफ्‍ना त्‍यागिएका प्रजाको पुकार सुन्‍नुहुन्‍छ र तिनीहरूका प्रार्थना सुन्‍नुहुनेछ। आउने पुस्‍ताको लागि परमेश्‍वरले के काम गर्नुभएको छ, लेखिराख र आजसम्‍म नजन्‍मेका मानिसहरूले उहाँको प्रशंसा गर्नेछन्। अग्‍लोमा रहेको आफ्‍नो पवित्रस्‍थानबाट परमप्रभुले उँधो हेर्नुभयो, उहाँले स्‍वर्गबाट पृथ्‍वी हेर्नुभयो। उहाँले कैदीहरूका दु:खको पुकार सुन्‍नुभयो र प्राण दण्‍ड पाएकाहरूलाई छुटकारा दिनुभयो। सियोनमा परमप्रभुको नाम उच्‍च स्‍वरमा सुनाइनेछ, र यरूशलेममा उहाँको प्रशंसा हुनेछ। त्‍यति बेला जाति र राज्‍यहरू एक भएर आउनेछन् र परमप्रभुलाई पुज्‍नेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 102 पढ्नुहोस्