हितोपदेश 29:1-10

हितोपदेश 29:1-10 NNRV

घरीघरी हप्‍की पाएर पनि कोही हठी नै भइरहन्‍छ भने, त्‍यो एक्‍कासि नाश हुनेछ, तरकीबै नरहने गरी। धर्मी सप्रेमा मानिसहरू रमाउँछन्, दुष्‍टले शासन गर्दा मानिसहरू वेदनाले छटपटाउँछन्‌। बुद्धि प्रेम गर्ने मानिसले आफ्‍ना बुबालाई खुशी तुल्‍याउँछ, तर वेश्‍याहरूको सङ्गत गर्नेले आफ्‍नो सम्‍पत्ति बेकाममा उड़ाउँछ। न्‍याय कायम गरेर राजाले देशलाई स्‍थायित्‍व दिन्‍छ, तर घूसको लोभ गर्नेले मुलुकलाई सर्वनाश गर्छ। आफ्‍नो छिमेकीलाई फुर्क्‍याउनेले त्‍यसका खुट्टा फस्‍ने जाल फिँजाएको हुन्‍छ। खराब मानिस त्‍यसको आफ्‍नै पापको कारण पासोमा पर्छ, तर धर्मीजन गाउन र प्रसन्‍न हुन सक्‍दछ। धर्मात्‍माले गरीबको न्‍यायबारे हेर-विचार गर्छ, तर दुष्‍टले चाहिँ त्‍यसबारे सरोकार नै राख्‍दैन। खिल्‍ली उड़ाउनेले सहरभरि हल्‍ला मच्‍चाउँछ, तर बुद्धिमान्‌ मानिसले क्रोधलाई पर पन्‍साउँछ। बुद्धिमान्‌ मानिस मूर्खसँगै अदालतमा गयो भने, मूर्ख झोकिन्‍छ र गिल्‍ला गर्छ, त्‍यसैले त्‍यहाँ मिलाप हुँदैन। रक्तपात गर्ने मानिसहरू ईमानदार व्‍यक्तिलाई घृणा गर्छन्, र ईमानदारीसँग चल्‍नेलाई मार्न खोज्‍छन्‌।