हितोपदेश 27:18-27

हितोपदेश 27:18-27 NNRV

अञ्‍जीरको रूख रेखदेख गर्नेले त्‍यसको फल खानेछ, र आफ्‍ना मालिकको हेरचाह गर्ने व्‍यक्ति सम्‍मानित हुनेछ। पानीमा अनुहार प्रतिबिम्‍बित भएझैँ मानिसको हृदयमा मानिस प्रतिबिम्‍बित हुन्‍छ। मृत्‍यु र विनाश कहिल्‍यै तृप्‍त हुँदैन, न त मानिसका आँखा नै सन्‍तुष्‍ट हुन्‍छन्‌। चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्‍छ। मूर्खलाई खलमा हालेर पिँधे पनि, त्‍यसलाई जाँतोमा अन्‍न राखेर पिँधेझैँ गरे पनि, तैंले त्‍यसको मूर्खता त्‍यसबाट हटाउनेछैनस्‌। तेरा भेड़ाहरूको अवस्‍था राम्ररी थाहा गर्, आफ्‍नो बगालप्रति सावधानीपूर्वक ध्‍यान दे, किनभने धन-सम्‍पत्ति त सधैँभरि रहँदैन, र मुकुट पनि सबै पुस्‍ताका लागि सुरक्षित रहँदैन। जब पराल हटाइन्‍छ र नयाँ पालुवा देखा पर्छ, र डाँड़ा-पाखाहरूबाट घाँस बटुलिन्‍छ, तब भेड़ाहरूले तँलाई लुगा जुटाइदिन्‍छन्, र खेत किन्‍ने रकम बाख्राहरूबाट आउँछ। बाख्रीको दूध तँ र तेरो परिवारलाई खान चाहेजति पुग्‍नेछ, र तेरा नोकर्नीहरूलाई पोषण हुनेछ।