हितोपदेश 26:1-13

हितोपदेश 26:1-13 NNRV

ग्रीष्‍म ऋतुमा हिउँ वा फसलको बेला झरी परेझैँ मूर्खलाई सम्‍मान दिनु सुहाउँदैन। भुर्र उड्‌ने भँगेरो र हानिएर जाने गौँथलीझैँ विनाकारणको श्राप पनि लाग्‍दैन। घोडाको लागि कोर्रा, गधाको लागि करेली, र मूर्खहरूका पिठिउँको लागि लट्ठी! मूर्खलाई त्‍यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्‍योजस्‍तै हुनेछस्‌। मूर्खलाई त्‍यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्‍यो आफ्‍नै नजरमा बुद्धिमान्‌ हुनेछ। आफ्‍नै खुट्टामा बन्‍चरो हानेझैँ अथवा हिंसा पिएझैँ मूर्खको हातमा समाचार पठाउनु हो। लङ्गड़ो मानिसका झुण्‍डिएका लुला गोडाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्‍छ। मूर्खलाई सम्‍मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्‍नुझैँ हो। मतवालाको हातमा काँढ़े बिरुवा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो। मूर्ख वा कुनै बटुवालाई ज्‍यालामा काम लगाउनू धनुर्धारीले जथाभाबी काँड़ हानेर चोटैचोट पार्नुझैँ हो। जसरी कुकुर आफ्‍नै बान्‍ता खान फर्किन्‍छ, त्‍यसरी नै मूर्खले आफ्‍नो मूर्खता दोहोर्‍याउँछ। आफ्‍नै नजरमा आफूलाई बुद्धिमान्‌ ठान्‍ने मानिस देखेको छस्‌? त्‍यसको भन्‍दा त बरु मूर्खको लागि धेरै आशा हुन्‍छ। अल्‍छेले भन्‍छ, “सड़कमा सिंह छ, डरलाग्‍दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ!”