हितोपदेश 26:1-13
हितोपदेश 26:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ग्रीष्म ऋतुमा हिउँ वा फसलको बेला झरी परेझैँ मूर्खलाई सम्मान दिनु सुहाउँदैन। भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ विनाकारणको श्राप पनि लाग्दैन। घोडाको लागि कोर्रा, गधाको लागि करेली, र मूर्खहरूका पिठिउँको लागि लट्ठी! मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्योजस्तै हुनेछस्। मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्यो आफ्नै नजरमा बुद्धिमान् हुनेछ। आफ्नै खुट्टामा बन्चरो हानेझैँ अथवा हिंसा पिएझैँ मूर्खको हातमा समाचार पठाउनु हो। लङ्गड़ो मानिसका झुण्डिएका लुला गोडाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ। मूर्खलाई सम्मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्नुझैँ हो। मतवालाको हातमा काँढ़े बिरुवा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो। मूर्ख वा कुनै बटुवालाई ज्यालामा काम लगाउनू धनुर्धारीले जथाभाबी काँड़ हानेर चोटैचोट पार्नुझैँ हो। जसरी कुकुर आफ्नै बान्ता खान फर्किन्छ, त्यसरी नै मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ। आफ्नै नजरमा आफूलाई बुद्धिमान् ठान्ने मानिस देखेको छस्? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ। अल्छेले भन्छ, “सड़कमा सिंह छ, डरलाग्दो सिंह गल्लीहरूमा डुलिरहेको छ!”
हितोपदेश 26:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ग्रीष्मकालमा हिउँ र कटनीको समयमा पानी परेजस्तै, मूर्खलाई सम्मान सुहाउँदैन। भुर्र उड्ने भँगेरा र बेगले उड्ने गौँथलीजस्तै, कारणविनाको श्राप पनि लाग्दैन। घोडाको लागि कोर्रा, गधाको लागि लगाम, र मूर्खहरूका पिठिउँमा छडी लगाउनुपर्छ! मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ। मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ, नत्रता त्यो आफ्नै दृष्टिमा बुद्धिमान् हुनेछ। मूर्खको हातमा समाचार पठाउनु भनेको आफ्नो खुट्टा काट्नु वा विष पिउनुजस्तै हो। मूर्खको मुखमा हितोपदेश अपाङ्ग मानिसको झुण्डिएको खुट्टाजस्तै हो। मूर्खलाई सम्मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँधेजस्तै हो। मूर्खको मुखमा हितोपदेश मतवालाको हातमा भएको काँडे झारजस्तै हो। मूर्ख वा कुनै बटुवालाई ज्यालामा लगाउनु धनुर्धारीले जथाभाबी काँड हानेर चोट लगाएजस्तै हो। कुकुर आफ्नै बान्तामा फर्किआएजस्तै, मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ। के तिमी कुनै मानिसलाई आफ्नै दृष्टिमा बुद्धिमानी देख्छौ? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ। अल्छेले भन्छ, “बाटोमा सिंह छ, एउटा डरलाग्दो सिंह गल्लीहरूमा डुलिरहेको छ।”
हितोपदेश 26:1-13 पवित्र बाइबल (NERV)
ग्रीष्म ऋतुमा हिउँ बर्षनु राम्रो होइन, बाली काट्ने समयमा पानी बर्षनु ठीक होइन अनि त्यसरी नै मूर्खलाई सम्मान गर्नु अनुचित हो। तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चञ्चल चरा उडेर गए जस्तै हो। जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबुमा आउँछ। मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ। एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ। मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ। मूर्खको मुखमा एउटा हितोपदेश हुनु लङ्गडो मानिसका झुण्डिएका लुला गोडा जस्तै हो। मूर्खलाई सम्मान गर्नु त्यति नै खराब हो जति एउटा घुँयेत्रोमा ढुङ्गा बाँध्नु हो। मूर्खले केही उपदेशका कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो। कुनै मूर्खलाई अथवा नचिनेको मानिसलाई काम अह्राउनु विपद मोल्नु हो। तिमीलाई थाहा हुँदैन कता नोक्सान हुन्छ। कुकुरले केही खाएर बिमार भयो भने त्यसले उल्टी गर्छ औ केही समय पछि त्यही उल्टी खान्छ। मूर्ख मानिस पनि त्यस्तै हो औ त्यसले पनि एउटै काम घरी-घरी गरिरहन्छ। यदि कोही मानिस ज्ञानी होइन तर आफैंलाई ज्ञानी मान्छ भने त्यो जत्तिको मूर्ख अर्को हुँदैन। अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”
हितोपदेश 26:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मूर्खलाई सर्काउनुचाहिँ ग्रीष्म ऋतुमा हिँउ वा अन्न बटुल्ने समयमा पानी परेको जस्तै हो। कारणबिना दिएको सरापले केही असर पार्दैन। त्यो सरापचाहिँ बेगले उड्ने गौंथली र भुर्र उड्ने भँगेराझैँ हो। घोडालाई कोर्रा, गधालाई करेली र मूर्खको पिठमा लाठी लाउनुपर्छ। मूर्खलाई त्यसको मूर्ख प्रश्नको जवाफ नदेऊ। त्यसो गर्ने त्यो प्रश्न सोध्नेजस्तै मूर्ख हो। मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिए आफूले ठानेजस्तो चतुर रहेछु भनी त्यसले सोच्छ। मूर्खको हातमा समाचार पठाउने मानिसले आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु र दु:ख खोज्नु हो। मूर्खले बोलेको उखान लङ्गडोले खुट्टा चालेर हिँड्न खोजेझैँ हो। मूर्खलाई सर्काउनु त घुँयेत्रोमा ढुङ्गा बाँधेर हान्नुजस्तै हो। मूर्खले उखान भन्नु मातेको मानिसले आफ्नो हातमा बिजेको काँडा निकाल्नु खोजेजस्तै हो। मूर्ख वा बटुवालाई ज्यालामा काम दिने मानिसले सबैलाई पिरोल्छ। कुकुरले आफ्नो बान्ता आफैंले खाएझैँ मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ। आफूलाई बुद्धिमान् सम्झने निर्बुद्धि मानिस मूर्खभन्दा अझ महामूर्ख हो। अल्छीले बाटोमा खतरनाक सिंह छ भनी बाहिर निस्कँदैन।