हितोपदेश 20:13-30

हितोपदेश 20:13-30 NNRV

निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्‌-झन्‌ दरिद्र तुल्‍याउँछ। जागा रहेस्‌ र तँसँग जगेरा अन्‍न रहनेछ। ग्राहकले भन्‍छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब अलिक पर पुगेपछि आफ्‍नो खरीद गराइमा त्‍यसले धाक लाउँछ। सुन छ, मानिकहरू प्रशस्‍त छन्, तर ज्ञानको वचन बोल्‍ने ओठहरू दुर्लभ रत्‍न हुन्‌। अपरिचितको जमानी बस्‍नेको लुगा पनि खोस्‍नू। यदि त्‍यसले स्‍वेच्‍छाचारी स्‍त्रीको खातिर त्‍यसो गरेको भए, त्‍यो धरौटी राख्‍नू। छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्‍छ, तर त्‍यसको अन्‍त्‍यचाहिँ मुखभरि रोडा हालेसरह हुन्‍छ। सल्‍लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्‌नु छ भने सल्‍लाह प्राप्‍त गर्‌। कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, त्‍यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस। यदि कसैले आफ्‍नो बुबा वा आमालाई सराप्‍छ भने, त्‍यसको बत्ती घोर अन्‍धकारको बेला निभाइनेछ। सुरुमा झटपट गरेर हात पारेको सम्‍पत्ति अन्‍त्‍यमा आशिष्‌पूर्ण हुनेछैन। यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ। परमप्रभु घट्‍बढ्‌ नाप-तौल घृणा गर्नुहुन्‍छ, र छली तराजूले उहाँलाई प्रसन्‍न तुल्‍याउँदैन। मानिसका कदमहरू परमप्रभुबाट नै निर्देशन गरिएका हुन्‍छन्‌। मानिसले आफ्‍नो बाटो कसरी बुझ्‍न सक्‍ला? असावधानीसँग केही कुरो अर्पण गरिसकेर पछिबाट मात्रै आफ्‍नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ। बुद्धिमान्‌ राजाले दुष्‍टहरूलाई पन्‍साउँछन्, तिनले उनीहरूमाथि अन्‍न चुट्‌ने चक्‍का दल्‍छन्‌। परमप्रभुको दियो मानिसको आत्‍मालाई खोजी गर्छ, त्‍यसले उसको भित्री मनुष्‍यत्‍वलाई खोजी निकाल्‍छ। प्रेम र विश्‍वासयोग्‍यताले राजालाई सुरक्षा प्रदान गर्छ, प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्‍छ। जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो। मुक्‍का र चोटहरूले खराबी हटाउँछन्, र पिटाइले भित्री मनुष्‍यत्‍व खारिन्‍छ।