हितोपदेश 20:13-30

हितोपदेश 20:13-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्‌-झन्‌ दरिद्र तुल्‍याउँछ। जागा रहेस्‌ र तँसँग जगेरा अन्‍न रहनेछ। ग्राहकले भन्‍छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब अलिक पर पुगेपछि आफ्‍नो खरीद गराइमा त्‍यसले धाक लाउँछ। सुन छ, मानिकहरू प्रशस्‍त छन्, तर ज्ञानको वचन बोल्‍ने ओठहरू दुर्लभ रत्‍न हुन्‌। अपरिचितको जमानी बस्‍नेको लुगा पनि खोस्‍नू। यदि त्‍यसले स्‍वेच्‍छाचारी स्‍त्रीको खातिर त्‍यसो गरेको भए, त्‍यो धरौटी राख्‍नू। छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्‍छ, तर त्‍यसको अन्‍त्‍यचाहिँ मुखभरि रोडा हालेसरह हुन्‍छ। सल्‍लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्‌नु छ भने सल्‍लाह प्राप्‍त गर्‌। कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, त्‍यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस। यदि कसैले आफ्‍नो बुबा वा आमालाई सराप्‍छ भने, त्‍यसको बत्ती घोर अन्‍धकारको बेला निभाइनेछ। सुरुमा झटपट गरेर हात पारेको सम्‍पत्ति अन्‍त्‍यमा आशिष्‌पूर्ण हुनेछैन। यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ। परमप्रभु घट्‍बढ्‌ नाप-तौल घृणा गर्नुहुन्‍छ, र छली तराजूले उहाँलाई प्रसन्‍न तुल्‍याउँदैन। मानिसका कदमहरू परमप्रभुबाट नै निर्देशन गरिएका हुन्‍छन्‌। मानिसले आफ्‍नो बाटो कसरी बुझ्‍न सक्‍ला? असावधानीसँग केही कुरो अर्पण गरिसकेर पछिबाट मात्रै आफ्‍नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ। बुद्धिमान्‌ राजाले दुष्‍टहरूलाई पन्‍साउँछन्, तिनले उनीहरूमाथि अन्‍न चुट्‌ने चक्‍का दल्‍छन्‌। परमप्रभुको दियो मानिसको आत्‍मालाई खोजी गर्छ, त्‍यसले उसको भित्री मनुष्‍यत्‍वलाई खोजी निकाल्‍छ। प्रेम र विश्‍वासयोग्‍यताले राजालाई सुरक्षा प्रदान गर्छ, प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्‍छ। जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो। मुक्‍का र चोटहरूले खराबी हटाउँछन्, र पिटाइले भित्री मनुष्‍यत्‍व खारिन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 20 पढ्नुहोस्

हितोपदेश 20:13-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ; जागा बस, र तिमीसित खानलाई प्रशस्त अन्‍न हुनेछ। ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब फर्कँदा आफ्नो किनाइमा त्यसले घमण्ड गर्छ। सुन छ, र माणिकहरू प्रशस्त छन्; तर ज्ञानका कुरा बोल्ने जिब्रो अमूल्य रत्नजस्तै हुन्छ। परदेशीको जमानी बस्‍नेको लुगा लिइराख; परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख। छलसित प्राप्‍त गरेको भोजन मानिसको लागि स्वादिष्‍ठ हुन्छ, तर अन्त्यमा त्यो मुखमा रोडाजस्तै हुन्छ। सरसल्‍लाहद्वारा योजनाहरू सफल हुन्छन्; सल्‍लाह नलिई युद्ध गर्न नजाओ। कुरौटेले गुप्‍त कुरा प्रकट गरिदिन्छ; त्यसकारण धेरै बोल्ने मानिसदेखि अलग बस। यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारमा निभाइनेछ। सुरुमै हतारमा प्राप्‍त गरेको पैतृक सम्पत्ति अन्त्यमा आशिषित हुँदैन। यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!” याहवेहको प्रतीक्षा गर, र उहाँले तिम्रो प्रतिशोध लिनुहुनेछ। असमान ढकहरू याहवेहले घृणा गर्नुहुन्छ; र छलको तराजुले उहाँलाई प्रसन्‍न पार्दैन। मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्; यसकारण कसले आफ्नै मार्ग जान्‍न सक्छ र? असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ। बुद्धिमान् राजाले दुष्‍टहरूलाई पन्साउँछन्; तिनले उनीहरूमाथि दाइँ गर्ने चक्‍का चलाउँछन्। याहवेहको ज्योतिले मानिसको आत्मा खोजी गर्दछ, जसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ। प्रेम र विश्‍वासयोग्यताले राजालाई सुरक्षित राख्छन्; प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्छ। जवान मानिसहरूको गौरव तिनीहरूको बल हो; वृद्धहरूको शोभा फुलेको केश हो। मुक्‍का र चोटहरूले दुष्‍टता पखालिन्छ, र पिटाइले भित्री मनुष्यत्व खारिन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 20 पढ्नुहोस्

हितोपदेश 20:13-30 पवित्र बाइबल (NERV)

यदि तिमी धेरै सुत्न मन पराउछौं भनें तिमी गरीब हुने छौ। जागा रहो अनि तिमीसँग प्रशस्त खाने कुरा हुनेछ। राम्रो छैन! यो राम्रो छैन! भन्दै ग्राहकले किन्छ तर पछि उसले भाऊ कसेकोमा आफैंलाई प्रशंसा गर्छ। सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो। एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ। छल गरि कमाएको अन्न खान मीठो लाग्छ, तर अन्तमा त्यसले मुखभरी ढुङ्गा चपाए जस्तो हुन्छ। कुनै योजना बनाउनु अघी राम्रो सल्लाह गर्नु। यदि युद्धमा जानु छ भने असल मार्गदर्शन लिनु। अर्काको गोप्पनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस। यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराप्छ भने उसको बत्ती राती अन्धकारको बीचमा निभ्ने छ। यदि तिमी सित भएको सम्पत्ति तिमीले छिटो-छिटो र सजिलै हासिल गरेको भए यो अन्तमा आशिषपूर्ण हुनेछैन। यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झूटा तराजूहरू असल होइनन्। मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ। परमप्रभुलाई भाकल गर्न अघि नै सोचेर भाकल गर्नु, ताकि पछि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ” भनेर पछुताउनु नपरोस्। एकजना ज्ञानी राजाले दुष्टहरूलाई भूस निफने झैं गरी छुट्याउँनेछन् अनि तिनीहरूलाई सजाय दिन्छन्। एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउँछ। यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ। एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो। कुटाइले चोट पुर्याउँछ र खराबी हटाउँछ अनि मुक्काहरूले भित्रि जीवलाई सफा गर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 20 पढ्नुहोस्

हितोपदेश 20:13-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सुतेर समय बिताउने दरिद्र हुन्‍छ। परिश्रम गर र भरपेट खान पाउनेछौ। ग्राहकले सधैँ “महङ्गो भयो” भनी भन्‍छ तर केही पर पुगेर आफूले भाउ कसेकोमा धाक लाउँछ। आफूले गरेको कुरा बुझ्‍ने मानिससित सुन वा हीरा-मोतीभन्दा बहुमूल्‍य वस्‍तु छ। नचिनेको मानिसको वा विदेशीको ऋणमा जमानी बस्‍ने मूर्ख मानिसले आफ्‍नो सम्‍पत्ति बन्‍धकी राखिनुपर्छ। बेइमानीसित कमाएको धन पहिले त स्‍वादिलो भोजनजस्‍तो मीठो हुन्‍छ तर पछि त्‍यो मुखमा बालुवासरह हुन्‍छ। असल अर्ती लेओ र सफलता पाउनेछौ, सल्‍लाह नलिई युद्ध गर्न नजाओ। बेकम्‍मा कुरा गर्नेले गुप्‍त कुरा लुकाइराख्‍न सक्‍दैन। कुराउटे मानिसहरूबाट टाढा बस। आफ्‍ना आमा-बुबालाई सरापे अँध्‍यारोमा बत्ती निभेझैँ तिमी मर्नेछौ। जति सजिलो पैतृक धन पाउँछौ, उति कम तिमीलाई लाभ हुन्‍छ। खराबीको साटो खराबी नगर, परमप्रभुमा भरोसा राख र त्‍यो उहाँले ठीक गर्नुहुनेछ। छली ढक-तराजु प्रयोग गर्नेलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ। परमप्रभुले मानिसको बाटो तोकिदिनुभएको छ र आफ्‍नो जीवन कुन दिशातिर जाँदै छ, त्‍यो कसले जान्‍न सक्‍छ? परमेश्‍वरलाई केही भेटी दिने प्रतिज्ञा गर्नुअघि राम्ररी विचार गर, नत्र पछिबाट पछुताउ गर्नुपर्ला। बुद्धिमान् राजाले दुष्‍टहरूलाई ठिमाउँछन् र दया नगरी तिनीहरूलाई दण्‍ड दिन्‍छन्। परमप्रभुले हामीलाई मन र विवेक दिनुभयो, हामी आफैंबाट लुक्‍न सक्‍दैनौं। इमान, धर्म र न्‍यायले शासन गरे राजाको सिंहासन थामिन्‍छ। मानिसहरूले युवाको बलको प्रशंसा गर्छन् र बुढा-पाकाको फुलेको केशको आदर गर्छन्। कहिलेकहीँ मानिसले दु:ख पाएर मात्र आफ्‍नो चाल फेर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 20 पढ्नुहोस्