हितोपदेश 12:1-14

हितोपदेश 12:1-14 NNRV

ताड़नालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्‍यक्ति अबूझ हो। असल मानिसले परमप्रभुको निगाह प्राप्‍त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुनेछ। दुष्‍टताले मानिस स्‍थापित हुन सक्‍दैन, तर धर्मीको जरा भने उखेल्‍न सकिनेछैन। चरित्रवान्‌ पत्‍नी आफ्‍ना पतिको मुकुट हो, तर अपमान ल्‍याउने पत्‍नीचाहिँ तिनका हड्डी सड़ेको जस्‍तै हो। धर्मीका योजनाहरू न्‍यायसङ्गत हुन्‍छन्, तर दुष्‍टका सल्‍लाहहरू छलपूर्ण हुन्‍छन्‌। दुष्‍टको वचनले कसैको रगत बगाउन ढुकिरहन्‍छ, तर धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्‍छ। दुष्‍ट मानिसहरू फालिन्‍छन्‌ र तिनीहरू रहनेछैनन्, तर धर्मीको घर दृढ़तासाथ खड़ा रहन्‍छ। मानिसलाई त्‍यसको बुद्धिअनुसार प्रशंसा गरिन्‍छ, तर बाङ्गो-टेढ़ो मन भएको मानिस तुच्‍छ ठहरिन्‍छ। आफू प्रतिष्‍ठित व्‍यक्ति भइटोपलेर आहार नै नहुनुभन्‍दा, आफू केही नभएर पनि आफ्‍नो एक जना दास हुनु बेस हो। धर्मी मानिसले आफ्‍नो पशुको वास्‍ता गर्छ, तर दुष्‍टको सबैभन्‍दा दयालु काम पनि निर्दयी हुन्‍छ। आफ्‍नो खेतबारी खनजोत गर्नेको प्रशस्‍त खानेकुरा हुन्‍छ, तर कल्‍पनाका पछि लाग्‍ने विनासमझको हुन्‍छ। दुष्‍टले खराब मानिसहरूले लुटेको सामानको अभिलाषा गर्छ, तर धर्मीचाहिँ जरा गाड़ेर बस्‍छ। खराब मानिस आफ्‍नै पापी कुराले पासोमा पर्छ, तर धर्मी मानिस सङ्कष्‍टबाट उम्‍कन्‍छ। मानिस आफ्‍ना ओठको फलद्वारा नै असल थोकहरूले परिपूर्ण हुन्‍छ, आफ्‍नो हातका कामको इनाम त्‍यसले निश्‍चय नै पाउनेछ।