मर्कूस 14:53-65

मर्कूस 14:53-65 NNRV

तब तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे, र त्‍यहाँ सबै मुख्‍य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू जम्‍मा भएका थिए। पत्रुसचाहिँ टाढ़ैबाट प्रधान पूजाहारीको आँगनभित्र उहाँको पछिपछि लागे, अनि त्‍यहाँ सिपाहीहरूसँग बसेर तिनी आगो ताप्‍न लागे। अब मुख्‍य पूजाहारी र जम्‍मै महासभाले येशूलाई मार्नको निम्‍ति उहाँको विरुद्धमा गवाही खोजे, तर केही पाएनन्‌। धेरैले उहाँको विरुद्धमा झूटो गवाही दिए। तर तिनीहरूले दिएको गवाहीले मेल खाएन। कसै-कसैले उठेर उहाँको विरुद्धमा यसो भन्‍दै गवाही दिए, “यसले यसो भनेको हामीले सुन्‍यौं, ‘मानिसको हातले बनाएको यो मन्‍दिर म भत्‍काउनेछु, र हातैविना बनाइएको अर्को मन्‍दिर म तीन दिनमा निर्माण गर्नेछु’।” तर यसमा पनि तिनीहरूको गवाही एकै मतको थिएन। तब प्रधान पूजाहारीले बीचमा खड़ा भएर येशूलाई सोधे, “के तँसँग केही जवाफ छैन? यी मानिसहरूले तेरो विरुद्धमा गवाही दिएको के हो?” तर येशू चूप लाग्‍नुभयो, र केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ परमधन्‍यको पुत्र ख्रीष्‍ट होस्‌?” येशूले भन्‍नुभयो, “म हुँ, अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्‍नुहुनेछ।” तब प्रधान पूजाहारीले आफ्‍नो वस्‍त्र च्‍यातेर भने, “हामीलाई अरू साक्षीहरूको के दरकार पर्‍यो र? तिमीहरूले ईश्‍वर-निन्‍दा त सुनिहाल्‍यौ। तिमीहरूको के विचार छ?” अनि तिनीहरू सबैले उहाँलाई मृत्‍युदण्‍डको योग्‍य ठहराए। अनि कोही-कोहीले उहाँलाई थुक्‍न लागे, र उहाँको मुख छोपेर उहाँलाई थप्‍पड़ हानेर भने, “अगमवाणी बोल्‌।” त्‍यसपछि पहरादारले उहाँलाई आफ्‍नो जिम्‍मामा लिए, र उहाँलाई मुक्‍का हाने।

मर्कूस 14:53-65 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति