मर्कूस 13:14-37

मर्कूस 13:14-37 NNRV

“जब तिमीहरू विनाशकारी घृणित थोकलाई जहाँ हुनु नपर्ने त्‍यहीँ उभिएको देख्‍छौ (पढ्‌नेले बुझोस्‌), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌। घरको कौसीमा हुने तल नओर्लोस्, न त आफ्‍नो घरबाट केही निकाल्‍नलाई भित्र पसोस्‌। खेतमा हुने आफ्‍नो खास्‍टो लिन पछाडि नफर्कोस्‌। तर हाय, ती दिनमा गर्भवती र दूध खुवाउने आमाहरूलाई! त्‍यो हिउँदमा नहोस्‌ भनी प्रार्थना गर। किनकि ती दिनहरूमा यस्‍तो महासङ्कष्‍ट आइपर्नेछ कि परमेश्‍वरले गर्नुभएको सृष्‍टिको सुरुदेखि अहिलेसम्‍म न त यस्‍तो भएको छ, न कहिल्‍यै हुनेछ। यदि परमेश्‍वरले ती दिन नघटाइदिनुभएको भए त कुनै मानिस बाँच्‍नेथिएन, तर उहाँले चुन्‍नुभएकाहरूका खातिर ती दिन घटाउनुभएको छ। त्‍यो बेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्‌’ वा ‘त्‍यहाँ छन्‌’ भन्‍यो भने, तिमीहरू विश्‍वास नगर। किनभने झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, अनि सम्‍भव भए, चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नेछन्‌। तर तिमीहरूचाहिँ होशियार रहो। हेर, मैले तिमीहरूलाई सबै कुरा अघिबाटै भनिदिएकै छु। “तर ती दिनमा त्‍यस महासङ्कष्‍टपछि सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, ताराहरू आकाशबाट खस्‍नेछन्, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्‌। अनि त्‍यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदैगरेको देख्‍नेछन्‌। तब उसले स्‍वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्‍वीको अन्‍त्‍यदेखि आकाशको अन्‍त्‍यसम्‍म चारै दिशाबाट आफ्‍ना चुनिएकाहरूलाई भेला गर्नेछ। “अञ्‍जीरको रूखबाट पाठ सिक: त्‍यसको हाँगा कमलो भएर पालुवा हाल्‍ने बित्तिकै ग्रीष्‍म ऋतु नजिक आएछ भन्‍ने तिमीहरू थाहा पाउँछौ। यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेका देख्‍छौ, तब ऊ नजिक छ, ढोकामा नै छ भन्‍ने जान। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यी सबै कुरा भई नसकूञ्‍जेल यो पुस्‍ता बितिजानेछैन। स्‍वर्ग र पृथ्‍वी बितिजानेछ, तर मेरा वचन कहिल्‍यै बित्‍नेछैनन्‌। “तर त्‍यस दिन र त्‍यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्‍दैन, न त स्‍वर्गमा हुने स्‍वर्गदूतहरूले न पुत्रले। होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्‍यो बेला कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ। यो त मालिकले आफ्‍ना चाकरहरूलाई घरको प्रत्‍येक काम र दायित्‍वको जिम्‍मा दिएर र पालेलाई जागा रहनू भनी आज्ञा दिएर परदेश लागेको जस्‍तो हो। “यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्‍दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ। नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला। जे म तिमीहरूलाई भन्‍दछु त्‍यो म सबैलाई भन्‍दछु, ‘जागा रहो’।”