मर्कूस 13:14-37

मर्कूस 13:14-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“जब तिमीहरू विनाशकारी घृणित थोकलाई जहाँ हुनु नपर्ने त्‍यहीँ उभिएको देख्‍छौ (पढ्‌नेले बुझोस्‌), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌। घरको कौसीमा हुने तल नओर्लोस्, न त आफ्‍नो घरबाट केही निकाल्‍नलाई भित्र पसोस्‌। खेतमा हुने आफ्‍नो खास्‍टो लिन पछाडि नफर्कोस्‌। तर हाय, ती दिनमा गर्भवती र दूध खुवाउने आमाहरूलाई! त्‍यो हिउँदमा नहोस्‌ भनी प्रार्थना गर। किनकि ती दिनहरूमा यस्‍तो महासङ्कष्‍ट आइपर्नेछ कि परमेश्‍वरले गर्नुभएको सृष्‍टिको सुरुदेखि अहिलेसम्‍म न त यस्‍तो भएको छ, न कहिल्‍यै हुनेछ। यदि परमेश्‍वरले ती दिन नघटाइदिनुभएको भए त कुनै मानिस बाँच्‍नेथिएन, तर उहाँले चुन्‍नुभएकाहरूका खातिर ती दिन घटाउनुभएको छ। त्‍यो बेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्‌’ वा ‘त्‍यहाँ छन्‌’ भन्‍यो भने, तिमीहरू विश्‍वास नगर। किनभने झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, अनि सम्‍भव भए, चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नेछन्‌। तर तिमीहरूचाहिँ होशियार रहो। हेर, मैले तिमीहरूलाई सबै कुरा अघिबाटै भनिदिएकै छु। “तर ती दिनमा त्‍यस महासङ्कष्‍टपछि सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, ताराहरू आकाशबाट खस्‍नेछन्, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्‌। अनि त्‍यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदैगरेको देख्‍नेछन्‌। तब उसले स्‍वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्‍वीको अन्‍त्‍यदेखि आकाशको अन्‍त्‍यसम्‍म चारै दिशाबाट आफ्‍ना चुनिएकाहरूलाई भेला गर्नेछ। “अञ्‍जीरको रूखबाट पाठ सिक: त्‍यसको हाँगा कमलो भएर पालुवा हाल्‍ने बित्तिकै ग्रीष्‍म ऋतु नजिक आएछ भन्‍ने तिमीहरू थाहा पाउँछौ। यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेका देख्‍छौ, तब ऊ नजिक छ, ढोकामा नै छ भन्‍ने जान। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यी सबै कुरा भई नसकूञ्‍जेल यो पुस्‍ता बितिजानेछैन। स्‍वर्ग र पृथ्‍वी बितिजानेछ, तर मेरा वचन कहिल्‍यै बित्‍नेछैनन्‌। “तर त्‍यस दिन र त्‍यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्‍दैन, न त स्‍वर्गमा हुने स्‍वर्गदूतहरूले न पुत्रले। होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्‍यो बेला कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ। यो त मालिकले आफ्‍ना चाकरहरूलाई घरको प्रत्‍येक काम र दायित्‍वको जिम्‍मा दिएर र पालेलाई जागा रहनू भनी आज्ञा दिएर परदेश लागेको जस्‍तो हो। “यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्‍दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ। नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला। जे म तिमीहरूलाई भन्‍दछु त्‍यो म सबैलाई भन्‍दछु, ‘जागा रहो’।”

शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्

मर्कूस 13:14-37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“जब तिमीहरूले ‘विनाशकारी घृणित कुरा’ जुन ठाउँमा नहुनुपर्ने, त्यहाँ देख्नेछौ—पढ्नेले बुझोस्—तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। घरका कौसीमा हुनेहरू कोही पनि तल नझरोस्, न त केही थोक लिनलाई घरभित्र पसोस्। खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्। ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्। यी कुराहरू हिउँदमा नहोस् भनी प्रार्थना गर! किनकि ती दिनहरू यति कष्‍टदायक हुनेछन् कि; परमेश्‍वरले संसार सृष्‍टि गर्नुभएदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ। “यदि प्रभुले ती दिनहरू नघटाइदिनुभएको भए कोही पनि बाँच्ने थिएन। तर चुनिएकाहरूका निम्ति उहाँले ती घटाइदिनुभएको छ। त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्’ अथवा, ‘हेर तिनी त्यहाँ छन्’ भन्छ भने विश्‍वास नगर। किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्; अनि सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू देखाउनेछन्। यसकारण तिमीहरू होसियार बस; मैले तिमीहरूलाई पहिलेबाट नै सबै कुरा भनिदिएको छु। “तर ती दिनहरूमा, विपत्तिपछि तुरुन्तै, “ ‘सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; आकाशबाट ताराहरू खस्‍नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’ “त्यसपछि मानिसको पुत्रलाई मानिसहरूले महाशक्ति र महिमासित बादलमा आइरहेको देख्नेछन्। अनि उसले आफ्ना दूतहरूलाई आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट बटुल्नलाई पठाउनेछ, अर्थात् पृथ्वीको एक कुनादेखि आकाशको अर्को कुनासम्म पठाउनेछ। “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ। त्यसरी नै तिमीहरूले जब यी कुराहरू भइरहेका देख्छौ, तब तिमीहरूले यो नजिकै ढोकैमा छ भनी जान। म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन। आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्। “त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र जान्‍नुहुन्छ। होसियार बस! सचेत बस! त्यो समय कहिले आउनेछ, त्यो तिमीहरू जान्दैनौ। यो त बाहिर गएको त्यो मानिसजस्तो हो, जसले आफ्नो घर छोड्नअगि आफ्ना सेवकहरूलाई जिम्मेवारी दिँदै, प्रत्येकलाई आ-आफ्ना काम सुम्पे, र एक जनालाई चाहिँ ढोकामा कुरेर बस्‍न जिम्मा दिए। “यसकारण जागा रहो; किनकि घरका मालिक साँझमा वा मध्यरातमा वा भाले बास्दा वा बिहानै अथवा कुन समयमा आउलान्, त्यो तिमीहरू जान्दैनौ। नत्र तिनी अचानक आइपुग्दा तिनले तिमीहरूलाई सुतिरहेका भेट्टाउलान्। म तिमीहरूलाई जे भन्दछु, त्यो हरेकलाई भन्दछु: ‘जागा रहो!’ ”

शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्

मर्कूस 13:14-37 पवित्र बाइबल (NERV)

“तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घट्ना एउटा यस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तो नहुनु पर्नेथ्यो।” (मानिस जसले पढ्छ यसको अर्थ के हुन्छ बुझ्नुपर्छ।) “त्यसबेला यहुदियाका मानिसहरू पहाड़हरूतिर भाग्नु पर्छ। मानिसहरू समय खेर नफाली भाग्नु पर्छ। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही निकाल्नलाई उ तलतिर ओर्लेनु हुदैन। यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन। “हाय, त्यसबेला गर्भवती स्त्री वा ससाना नानीका आमाहरूलाई पनि नराम्रो हुनेछ। यस्तो घट्ना जाडोको समयमा नहोस् भनेर प्रार्थना गर। किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलेसम्म भएको छैन। अनि यस्तो महा-संकष्टहरू फेरि घट्ने छैन। उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ। “त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथ्वा ‘उहाँ त्यहाँ हुनुहुन्छ।’ यसलाई विश्वास नगर। झूटो ख्रीष्टहरू र झूटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्हहरू र चम्त्कारहरू गर्नेछन्। यसकारण होशियार बस। यी सब हुन अघि नै मैले सर्तक गराएको छु। “तर त्यसपछिका दिनहरूमा यस्तो दुःखको समय आउने छ, ‘सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले पनि ज्योति दिनेछैन। आकाशबाट तारहरू झर्नेछन्, अनि आकाशका सबै शक्तिहरू डग्मगाउनेछन्।’ “त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देख्नेछन् मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पृथ्वीको चारैतिर पठाउनु हुनेछ। स्वर्गदूतहरूले पृथ्वीका प्रत्येक कुनाबाट चुनिएका मानिसहरूलाई भेला गर्नेछन्। “अन्जीरको रूखले हामीलाई पाठ पढाउनेछः जब अन्जीरको रूखको हाँगाहरू हरियो र कलिलो हुनेछ नयाँ पातहरू उम्रन थाल्नेछ, तब तिमीहरूले ग्रीष्म ऋतु नजिक छ भनेर बुझ्नेछौ त्यसरीनै जब तिमीहरू यी कुराहरू घटेका देख्नेछौ तब तिमीहरूले पनी जान्ने छौ कि मैले तिमीहरूलाई भनेका कुराहरूको समय नजिकमा अनि ठीक ढोकामा छन। म तिमीहरूलाई साँच्चो भन्दछु। यी सबै कुराहरू यही समयका मानिसहरू जीवित भएकै बेला हुनेछन्। स्वर्ग अनि पृथ्वी ध्वंस हुनेछ। तर मैले भनेका वचनहरू कहिल्यै नाश हुने छैन। “कसैले पनि त्यो दिन र समय थाहा पाउने छैन। पुत्र र स्वर्गमा भएको स्वगदूतहरूले समेत त्यो दिन र समय जान्ने छैनन्। त्यो दिन र समय केवल पिताले मात्र जान्नु हुन्छ। होशियार रहो। सधैँ तयारी बस त्यो समय कहिले आउने भनी तिमीले जान्दैनौ। “यो परदेश गईरहेको मानिस जस्तै हो जसले आफ्नो घर छोडेकोहुन्छ। त्यो मानिसले आफ्नो नोकरहरूलाई घर जिम्मा दिएको हुन्छ। त्यसले प्रत्येक नोकरलाई विशेष काम गर्न लाएको हुन्छ अनि उसले पालेलाई होशियार साथ ढोकाको रक्षा गरेर सर्तक बस्नु भनेर आज्ञा दिन्छ। यसकारण तिमीहरू सधैँ सर्तक रहो। यो घरको मालिक कहिले फर्की आऊला भनेर तिमीहरूले थाहा पाएकै हुँदैनौ। ऊ निश्चयनै बेलुका वा मध्य रातमा, वा बिहानै, वा घाम झुल्केपछि आउनेछ। मालिक एक्कसि फकिर्नेछ। यदि तिमीहरू तयारी र सर्तक रह्यौ भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन। म तिमीहरूलाई यसो भन्दछु, अनि प्रत्येकलाई यसो भन्दछु, ‘सर्तक रहो!’”

शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्

मर्कूस 13:14-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“हुँदै नहुनुपर्ने ठाउँमा तिमीहरूले घिनलाग्‍दो कुरा देख्‍नेछौ। यसको अर्थ पढ्‍नेले बुझून्। त्‍यस बेला यहूदियामा हुनेहरू पहाडतिर भागून्। घरका छतमा हुनेहरू तल ओर्लिएर केही चीजबीज लिन घरभित्र नपसून्। खेतबारीमा हुनेहरू लाउने लुगासम्‍म पनि लिन घरभित्र नजाऊन्। त्‍यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई त झन् कस्‍तो बिजोग होला। यी कुराहरू जाडो महिनामा आइनपरून् भनेर परमेश्‍वर पितासँग प्रार्थना गर। त्‍यस बेला आइपर्नेजस्‍तो आपत् र हाहाकार त सृष्‍टिको सुरुदेखि अहिलेसम्‍म भएकै छैन र पछि पनि हुनेछैन। परमेश्‍वरले ती आपत्‌का दिनहरू नघटाउनुभएको भए कोही पनि बाँच्‍न सक्‍ने थिएनन्। तर आफूले छानेका मानिसहरूको कारणले उहाँले ती दिनहरू घटाउनुभएको छ। “हेर, मुक्ति दिने राजा ख्रीष्‍ट त यहाँ हुनुहुन्‍छ वा त्‍यहाँ हुनुहुन्‍छ भनेर कसैले तिमीहरूलाई भन्‍दैमा त्‍यो कुरा नपत्‍याओ किनभने त्‍यस्‍ता नकली ख्रीष्‍ट र नकली अगमवक्ताहरू देखा त पर्नेछन्। तिनीहरूले ठूला-ठूला चिन्‍ह र अचम्‍मका कामहरू देखाएर सकेसम्‍म परमेश्‍वरले छानेकाहरूलाई पनि झुक्‍याउनेछन्। त्‍यसकारण चनाखो भएर बस! मैले तिमीहरूलाई सबै कुरा अघिबाट नै भनिदिएको छु।” “ती आपत्‌का दिनहरू बितेपछि घाम अँध्‍यारो हुनेछ र जूनले उज्‍यालो दिनेछैन। ताराहरू आकाशबाट खस्‍नेछन् अनि आकाशमण्‍डलका सबै शक्तिहरू डग्मगाउनेछन्। त्‍यसपछि मानव पुत्र ठूलो शक्ति र महिमाको साथ बादलमा आइरहेको देखा पर्नुहुनेछ। अनि उहाँले स्‍वर्गदूतहरूलाई पृथ्‍वी र आकाशका चारै कुनामा पठाउनुहुनेछ र तिनीहरूले परमेश्‍वरले चुनेकाहरूलाई जम्‍मा गरेर ल्‍याउनेछन्।” येशूले अझै भन्‍दैजानुभयो, “नेभाराको रूखबाट केही कुरा सिक। यसको हाँगाहरू टुसाएर पालुवा हालेपछि गरम चढेछ भनेर थाहा हुन्‍छ। त्‍यसरी नै मैले भनेका यी कुराहरू हुँदैगरेको देख्‍दा मेरो आउने बेला आइपुग्‍न आँटेको छ भनी तिमीहरूले जान्‍नेछौ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी सबै कुरा पूरा नहुञ्‍जेलसम्‍म यो पुस्‍ता बित्‍नेछैन। आकाश र पृथ्‍वी नै बितेर जानेछन्, तर मैले भनेका कुरा बित्‍नेछैनन्। “त्‍यो दिन र बेला कहिले आइपुग्‍ने हो, त्‍यो ठीकसँग कसैलाई पनि थाहा छैन। स्‍वर्गदूतहरू र म पुत्रलाई समेत थाहा छैन। त्‍यो कुराचाहिँ परमेश्‍वर पितालाई मात्र थाहा छ। त्‍यसैले चनाखो भएर जागै बस किनभने त्‍यो समय कहिले आउने हो, तिमीहरूलाई थाहा हुँदैन। “त्‍यो त नोकरहरूलाई घर जिम्‍मा लगाएर डुल्‍न जाने मालिकको कुराजस्‍तो छ। मालिकले आफ्‍ना नोकरहरूलाई आ-आफ्‍नो काम गरिराख्‍नू भनेर कामको जिम्‍मा लगाइदिन्‍छ अनि पालेलाई पनि ‘राम्रो देखरेख गर्नू!’ भनेर अह्राइराख्‍छ। त्‍यसकारण चनाखो भएर बस किनभने मालिक कुन बेला फर्की आउने हो, तिमीहरूलाई थाहा हुँदैन। ऊ त साँझमा, आधारातमा, भाले बास्‍ने बेलामा या बिहानीपख, कुनै पनि बेला आइपुग्‍न सक्‍छ अनि अचानक आइपुग्‍दा उसले तिमीहरूलाई सुतिरहेको नभेट्टाओस्! तिमीहरूलाई भनेजस्‍तै मैले सबैलाई नै भनेको हुँ, चनाखो भएर बस!”

शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्