मर्कूस 1:29-39

मर्कूस 1:29-39 NNRV

अब उहाँ तुरुन्‍तै सभाघरबाट निस्‍केर याकूब र यूहन्‍नाका साथमा सिमोन र अन्‍द्रियासको घरमा पस्‍नुभयो। सिमोनकी सासू जरोले थला परेकी थिइन्, र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने। उहाँले नजिक आएर तिनको हात समाती तिनलाई उठाउनुभयो, र जरोले तिनलाई छोडिहाल्‍यो। अनि तिनले उहाँहरूको सेवा गरिन्‌। त्‍यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र भूत लागेकाहरू जम्‍मैलाई ल्‍याए। सारा सहर नै घरको ढोकामा जम्‍मा भएको थियो। अनेक किसिमका रोगले ग्रस्‍त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो, र धेरै भूतहरूलाई निकाल्‍नुभयो, तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्‍न दिनुभएन। बिहान उज्‍यालो हुनभन्‍दा धेरै अघि उठेर उहाँ बाहिर एकान्‍त ठाउँमा जानुभयो, र त्‍यहाँ प्रार्थना गर्नुभयो। सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्‍दैगए। उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्‌।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्‍यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्‍ति म आएको हुँ।” अनि सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्‍दै उहाँ हिँड्‌नुभयो।